\
सरकारी टोली र डा. केसीका प्रतिनिधिबीच भएको वार्ता केही समयका लागि स्थगित भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज (बिहीबार) बिहान साढे दश बजेदेखि जारी वार्ता दिउँसो ४ बजे फेरी बस्नेगरी स्थगित भएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताए ।
उनले बिहानदेखि भएको वार्तामा सरकारी टोलीसँग डा. केसीका मागहरुको सम्बन्धमा बुँदागत छलफल भएको बताए । अहिलेसम्म भएको छलफललाई ड्राफ्ट बनाई दुवै पक्षबीच फेरि छलफल भइ दिउँसो ४ बजे वार्तामा बस्ने सहमति भएको कार्कीले बताए । उनले आफूहरु जतिसक्दो छिटो वार्तालाई निष्कर्षमा पुर्याउन चाहेको समेत बताए ।
चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न माग राख्दै डा. केसी २५ दिन यता अनशनरत हुनुहुन्छ । सरकारले डा. केसीसँग वार्ता गर्नका लागि बुधबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । जसमा मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी, चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलिप शर्मा सदस्य छन् ।
सरकारले वार्ता टोली गठन गरेसँगै डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय टोली गठन भएको थियो । वार्ता टोलीमा चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, संघका पूर्व अध्यक्ष डा. अन्जनी कुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।