नेपाली समाजमा पछिल्लो समय सामान किन्न मार्टहरुमा जाने प्रचलन बढ्दो छ । धेरै बार्गेनिङ गर्नु नपर्ने, सामान मिलाएर सफा तरिकाले राखिने र सहज किनमेलको वातावरण भएकाले अहिले मानिसहरु मार्टहरुमा जान बढी रुचाउँछन् ।
काठमाडौंमा चलेको यस्तै एउटा मार्ट हो, बिग मार्ट । नेपालभर ५० भन्दा धेरै स्टोरहरु भएको बिग मार्टमा खाद्यान्न सामग्रीहरु पनि उत्तिकै राखिएका हुन्छन् ।
तर, उपभोक्ताको स्वास्थ्यका लागि यी सामग्री त्यहाँ किन्नु कति ठिक ? अहिले यो प्रश्न जन्मिएको छ । प्रश्न जन्मिनुको कारण हो, बिग मार्टमा राखिने खाद्यान्नहरु व्यापारिक ग्रुप विशाल ग्रुपका हुनु ।
त्यसो त विशाल ग्रुपको लगानी बिगमार्ट, सेलवेजलगायतका स्टोरहरुमा पनि नभएको होइन । पछिल्लो समय लगातार विशाल ग्रुपका बदमासी बाहिर आइरहेका छन् । त्यही मध्ये एक हो, विशाल ग्रुपले मिति सकिएका सामानहरूमा नयाँ मिति राख्दै बजार पठाइरहेको छ ।
म्याद गुज्रिएका खाद्यवस्तु हाम्रो स्वास्थ्यका लागि कदापि ठिक होइनन् । लकडाउनको समयमा होस् या त्यहाँभन्दा अगाडि नै सामानहरुको मिति सकिएपछि विशाल ग्रुपले आफ्ना सामानहरूमा नयाँ मिति थपेर बजार पठाइरहेको प्रहरी अनुसन्धानमा खुलेको छ । आफ्नो बदमासी सार्वजनिक भएपछि विशाल ग्रुपले आफ्नो वेबसाइट मात्र बन्द गरेको छैन, पछिल्लो समय सामाजिक सन्जालमा पनि आफ्ना विषयमा कुराहरु सेयर गर्न छाडेको छ ।
तर, यसअघि म्याद गुज्रिएका सामानहरुमा नयाँ मिति राखेर विशाल ग्रुपले कहाँ पठाएको होला त ?
विशाल ग्रुपले आयात गर्दै आएको ओरियो बिस्कुट, स्निकर्स चकलेट, बालबालिकाले खाने बर्नभिटा, आलु चिप्स जस्ता म्याद गुज्रिएका खाद्य वस्तुमा अनुगमन टोलीले बरामद गरेको थियो ।
यी सामानहरु बजारमा पनि विशाल ग्रुपले नै पठाएको छ । र, त्यसमध्ये सबैभन्दा बढी विशाल ग्रुपकै स्वामित्व रहेको बिग मार्टमा पनि यी सामान पाइएका छन् ।
विशाल ग्रुपको प्रत्यक्ष सम्बन्ध रहेका बितरक र बिक्रेताबारे खोजी सुरु भएको छ ।
पछिल्लो पटक छापा मार्दा आयान डिस्ट्रिब्युटर्सको गोदाममा म्याद गुज्रेका खाद्य सामग्री बरामद भइ म्यानेजर रोनक बोथ्रालाई पक्राउ समेत गरिएको थियो । उक्त कम्पनी विशाल ग्रुपले नै सञ्चालन गरेको हो ।
यसैगरी सोही बेला छापा मार्दा म्याद गुज्रेका सामानमा रिलेबलिङ गरिरहँदा फेला परेको अमेजन डिस्ट्रिब्युटर्सको पनि विशाल गु्रपसँग प्रत्यक्ष सम्बन्ध रहेको स्रोतले बताएको छ ।
बजारमा खाद्यबस्तु आपुर्ति गरिरहेको अर्को समुह त्रिबेणी गु्रपका सञ्चालक बिशाल गु्रपका सञ्चालक दाजुभाइ रहेको र अमेजन त्रिबेणी गु्रप अन्तर्गत रहेको स्रोतको दाबी छ । यी दुबै बितरक कम्पनी नै नेपाली खाद्यबस्तुको बजारमा हाबी छन् ।
तर, यी दुइ कम्पनी र बिशाल गु्रपको सम्बन्ध देखिने तथ्यांक भएका सबै डिजिटल माध्यम भने बन्द गरिएका छन् । गु्रपको वेबसाइटमा रहेका विभिन्न जानकारीबाट यी कम्पनीबीचको सम्बन्ध पुष्टि हुने भएपछि वेबसाइट नै बन्द गरिएको छ ।
अहिले सहरी क्षेत्रमा अत्यधिक ग्राहकको भिड रहने बिगमार्टमा विशाल ग्रुपको ४० प्रतिशत सेयर रहेको छ । आफ्नो सेयर रहेको मार्टमा अधिकांश खाद्य सामग्री विशाल ग्रुपको रहन्छन् ।
यसैगरी सेल्सवेज मार्टमा पनि बिशाल गु्रपको लगानी रहेको बताइन्छ । यीबाहेक करिब आधा दर्जन मार्टमा बिशाल गु्रपको सेयर रहेको अधिकारीहरु बताउँछन् ।
बजारमा आउने अधिकांश खाद्यबस्तुको आयात बिशाल गु्रप र त्रिबेणी गु्रपले गर्ने गरेको वाणिज्य विभागले जनाएको छ ।
निरन्तर अनुगमनमा हिँडिरहेका अधिकारकर्मी माधव तिमल्सिना भन्छन्, ‘ब्यापारीहरुकाे नाफा खोर प्रवृत्ति हाबी भएर खुल्लमखुल्ला उपभोक्ता ठगिँदा पनि राज्य कमिसनमा ब्यस्त छ । कहाँ कसको कनेक्सन छ कसरी ठगी भइरहेको छ भन्ने कुरा त अनुसन्धानमा खटेको प्रहरीले पत्ता लगाउनुपर्यो नि । तर प्रहरी बार्गेनिङमा लगिरहेको र मुद्दा कमजोर बनाइदिने गरेको ओपन सेक्रेट त हाम्रो सामु छ ।’
विशाल ग्रुपले आफ्नो सामानमा नयाँ मिति राखेर बजार पठाउने गरेको खुलासा भएपछि उसका सामानहरु पाइने ठाउँमा सामान किन्न हामी हच्किनु पर्दैन र ?
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।