शनिबारः नेपालमा कोरोनाभाइरसले बनायो नयाँ रेकर्ड

नेपालमा कोरोनाभाइरस संक्रमणको अवस्था थप भयावह बन्दै गएको छ । पछिल्ला केही दिन यता नेपालमा कोरोना संक्रमितको संख्या निकै बढिरहेको छ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या मात्र बढिरहेको छैन, नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि पछिल्ला दिनमा बढिरहेको छ । 

पछिल्लो समय काठमाडौं उपत्यकामा नै सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिन थालेका छन् । 

शनिबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको प्रेस बिफ्रिङमा जनाइएअनुसार नेपालमा पहिलोपटक सबैभन्दा धेरै संक्रमित २४ घन्टामा थपिएका छन् । नेपालमा शनिबार ५ हजार ८ जना कोरोनाभाइरस संक्रमित थपिएका हुन् । 

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमण हुनेको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ । 

शनिबार पछिल्लो २४ घन्टामा १९ हजार ३ सय २० जनाको कोरोनाभाइरस परीक्षण गरिएको थियो । यीमध्ये ५ हजार ८ जनालाई कोरोना भएको पुष्टि भएको हो ।

शनिबार नेपालमा कोरोनाकै कारण थप १४ जनाले ज्यान गुमाएको पनि पुष्टि भएको छ । नेपालमा योसँगै कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या ६ सय १४ जना पुगेको छ । 



त्यस्तै, स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म नेपालमा ७४ हजार २ सय ५२ जनाले कोरोना जितेका छन् । शनिबार यो जितको संख्या १ हजार २ सय २९ रहेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं जिल्लामा मात्र अब ३० हजार कोरोनाभाइरस संक्रमित पुगेका छन् । अहिलेसम्म काठमाडौंमा १ सय २३ जना कोरोनाभाइरस संक्रमितले ज्यान गुमाइसकेका छन् । 



संक्रमित संख्याको आधारमा नेपालमा दोस्रो सबैभन्दा बढी प्रभावित जिल्ला हो, मोरङ । मोरङमा ४ हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङमा ३७ जनाले अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाएका छन् । 

त्यस्तै, ललितपुरमा ३ हजार ९ सय ६५ जनामा अहिलेसम्म कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार ललितपुरमा ३३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । रुपन्देही र भक्तपुर नेपालका थप दुई सबैभन्दा बढी प्रभावित जिल्ला हुन् । रुपन्देहीमा अहिलेसम्म ३ हजार ५ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ २८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै, भक्तपुरमा २ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यीमध्ये २५ जनाले ज्यान गुमाइसकेका छन् ।

शनिबार कोरोनाभाइरसले नेपालमा मात्र होइन, काठमाडौंमा पनि रेकर्ड बनाएको छ । शनिबार काठमाडौं जिल्लामा मात्र २ हजार १ सय कोरोनाभाइरस संक्रमित थपिएका छन् । त्यस्तै, ललितपुर र भक्तपुरमा क्रमशः ३ सय ६९ र २ सय ३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

काठमाडौंमा शनिबार ६८ वर्षीया महिला, ४८ र ९० वर्षीय पुरुष, ललितपुरमा ४३ र ४९ वर्षका पुरुष र भक्तपुरमा ६८ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • प्रकाशित मिति : असोज २४, २०७७ शनिबार १६:४५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया