[फरकधार एक्सक्लुसिभ] मिति गुज्रिएका सामानकाे रिलेबलिङ, मनिष गाेयलसँग प्रहरी सेटिङ, बंकालाई उन्मुक्ति !
प्रहरीले छापा मारेकाे बंकाकाे गाेदाम । कलंकीमा पाँच तले घर लिएर ब‌ंकाले रिलेबलिङकाे काम गर्ने गरेका थिए ।

प्रहरीबारे हाम्रो बुझाइ हो, यो सर्वसाधरणको जीवनका अनेक आयामलाई थप जोगाउन र चोख्याउन बनेको संस्था हो ।

तर, नेपाल प्रहरीका केही अधिकारीहरुले गरेका पछिल्ला क्रियाकलापले प्रहरीमाथि नै आशंका जन्माएको छ । झन्, आम सर्वसाधरणको स्वास्थ्यसँग खेलवाड गर्ने व्यापारीसँग प्रहरीले कुम जोडेर मिलोमतो गरिरहेको छ भन्दा झट्ट पत्याउन सकिँदैन । 

तर, १८ असोज यताका केही घटनाहरुमा प्रहरीको मिलेमतो अचम्मको छ । प्रहरीले म्याद गुज्रिएका सामानमा रिलेबलिङ गरेर बेच्न बजारमा पठाइरहेका व्यापारीसँग मिलेर उनीहरुलाई उन्मुक्ति दिन सहज बनाइरहेको छ ।

१८ असोजमा कलंकीमा रहेको एएसटीको गोदाममा प्रहरीले छापा मार्दा पुष्टि भइसकेको छ– मिति सकिएका सामानमा नयाँ मिति राखेर बजारमा पठाउन पछिल्लो समय एउटा गिरोह नै सक्रिय छ । नेपालको व्यापारिक ग्रुप विशाल ग्रुप पनि यसमा संलग्न भएकाे यसअघि नै पुष्टि भइसकेकाे छ । प्रहरीले विशाल ग्रुपका केही व्यक्तिहरु पक्राउ गरेपछि पक्राउ परेकाे याे गिराेहले काेकाे पाउडर तथा चकलेट र केक बनाउने अन्य सामानहरुकाे मिति गुज्रिए पनि नयाँ मिति हाल्दै बजारमा पठाउने गरेकाे थियाे ।

तर, यसरी मानव स्वास्थ्यमाथि हानी गर्ने सामानहरुको मिति थपेर बजारमा पठाउने यो गिरोह र विभिन्न समूहलाई प्रहरीले नै संरक्षण दिएको छ ।

फरकधारले गरेको खोजमा यसमा कालिमाटी प्रहरी वृत्त नै संलग्न भएको पाइएको छ । कलंकीमा रहेको गोदाममा छापा मार्न पनि कालिमाटी प्रहरी वृत्तबाट नै प्रहरी खटेका थिए । म्याद सकिएको सामानको मिति सच्याइरहेको प्रहरीले रंगेहात फेला पारेको थियो । छापा मार्दा प्रहरीले ७ जनालाई पक्राउ पनि गर्यो । यसरी मानवीय स्वास्थ्यमाथि ठूलो खेलवाड गरेको यो समूहलाई अहिले प्रहरीले छोडिसकेको छ । प्रहरी यसमा गम्भीर हुँदो हो त उनीहरुविरुद्धको मुद्दा प्रहरीले नै चलाउन सक्ने कानुन छ ।



तर, प्रहरीले उनीहरुविरुद्धको मुद्दालाई कमजोर मात्र बनाएन, उनीहरुलाई सहजै आफ्नो नियन्त्रणबाट छुटाएको छ ।

यो विषयमा जानकार र यसलाई फलो गरिरहेका एक व्यवसायी फरकधारको सम्पर्कमा आएका छन् । उनका अनुसार यो घटना मिलाउन प्रहरीले विशाल ग्रुप र अन्य गिरोहबाट मोटो रकम हात पारेको छ । 



कालिमाटी वृत्तबाट मिति सकिएका सामानमा रिलेबलिङ गर्न पुगेको प्रहरीसँगको यो सेटिङ मिलाएका हुन्, मनिष गोयलले ।

मनिष गोयलको सेटिङमा प्रहरी आइपुग्नु अगाडि यसमा अरु केही व्यापारी पनि समेटिएका छन् । पहिले त्यसको चर्चा गरौँ । 

१८ असोजमा कलंकीमा छापा मार्दा प्रहरीले अनिल बंकालाई पनि पक्राउ गरेको थियो । अनिल बंका यही काम गरिरहेको गिरोहलाई सन्चालन गर्ने प्रवीण बंकाका भाइ हुन् ।

आफू पक्राउ परिसकेपछि अनिलले प्रहरीलाई दाजु प्रवीणसँग कुरा गर्न अनुरोध गरे । फरकधारले पाएको जानकारीअनुसार प्रवीणले प्रहरीसँग कुरा मात्र गरेनन्, प्रहरीबाट आफू भाग्ने प्रयास गरे । भाइ अनिल पक्राउ पर्दा दाजु प्रवीण पोखरामा थिए । त्यहाँबाट नै उनले प्रहरीसँग कुरा गरे । 

काठमाडौं आउनेवित्तिकै आफू प्रहरी वृत्त कालिमाटी आउँछु भनेका प्रवीण न प्रहरी कार्यालय गए, न आफ्नो घरमा गए । उनी त प्रहरीबाट बच्न सन्जय सिंघानियाको घरमा पुगे । संजय सिंघानिया प्रवीणका केही घनिष्ठ साथीहरुमध्ये एक हुन् । यी दुई भारतमा सँगै स्कुल पढ्थे । अहिले दुवैले मिलेमतोमा अवैधानिक व्यापारमा आफ्नो साम्राज्य विस्तार गरिरहेका छन् ।

यता, प्रहरी कार्यालयमा प्रवीणलाई कुरिरहेको थियो । तर, उनी काठमाडौं आएर पनि आफ्नो कार्यालय नआएपछि प्रहरीले उनको खोजी सुरु गर्यो । 

अनि पत्ता लाग्यो– प्रवीण सन्जयको घरमा छन् ।

प्रहरी आफूलाई पक्रन सन्जयको घरमा नै आउँदैछ भन्ने थाहा पाएपछि प्रवीण त्यहाँबाट पनि फरार भए । उनी सन्जयको घरबाट बाहिर निस्किएको एक घन्टापछि मात्र प्रहरी सन्जयको घरमा पुग्यो । 

प्रवीणसँग प्रहरीको निरन्तर सम्पर्क भइरहेको थियो । खोजतलास गर्ने क्रममा प्रहरी प्रवीणकी श्रीमती र छोराछोरीसँगको सम्पर्कमा पुग्यो । उनीहरु पनि सन्जयको घरमा नै बसिरहेका थिए । त्यति बेला प्रहरीले थाहा पायो– प्रवीणले आफू पोखराबाट काठमाडौं फर्किएको विषयमा प्रहरीसँग झुट बोलिरहेका छन् ।

सन्जय सिंघानियाको घरमा पुगेर फर्किएको प्रहरीले कालिमाटी वृत्तमा यसको बिफ्रिङ डिएसपी अपिलराज बोहरालाई गर्‍याे । 

बोहरा यो कुरा सुन्दा अचम्ममा मात्र परेनन्, तत्काल प्रवीणका साथी सन्जयलाई पक्रेर ल्याउन आदेश दिए । 

सन्जय प्रहरी कार्यालय आएर आफूलाई थाहा भएको विषयमा विस्तृत जानकारी दिए । प्रहरी त्यसपछि प्रवीणको छाउनीस्थित घर पुग्यो । 

एकातिर प्रहरीको एक टोली छाउनीमा पुगेको थियो, यता प्रहरी कार्यालयमा सन्जयलाई छुटाउन आइपुगे भारतीय नागरिक मनिष गोयल । यी गोयल तिनै हुन् जसले यो मुद्दामा ‘सेटिङ’ मिलाउने जिम्मा प्रवीणबाट पाइसकेका थिए । 

उता, छाउनीमा पुगेको प्रहरीले त्यहाँको हाउजिङका गार्डलाई प्रवीण आएलगत्तै आफूहरुलाई फोन गर्न अनुरोध गरे । 

यता, प्रहरी कार्यालयमा मनिष यो मुद्दा मिलाउन लागिसकेका थिए । फरकधारले मनिषलाई यस विषयमा सम्पर्क पनि गर्यो । उनी आफू र डिएसपी बोहरा नजिकका साथी भएकोले सन्जयलाई छुटाउन कालिमाटी पुगेको स्वीकार गर्छन् । ‘डिएसपीसाबसँग मेरो चिनजान पुरानो हो,’ मनिषले फरकधारलाई भने, ‘सन्जयजी पनि मेरो साथी हो । त्यसैले म उहाँलाई छोडिदिनुस् भनेर अनुरोध गर्न कालिमाटी पुगेको थिएँ ।’

मनिष खासमा भारतीय नागरिक हुन् । उनी कोलकत्ताका हुन् । नेपालमा उनी भारतीय नागरिककै हैसियतमा छन् । कालिमाटी प्रहरीले मनिषसँग सम्पर्क भएपछि उनकै जिम्मामा सन्जयलाई छोडेको छ । सामान्यतया यस्तो गम्भीर विषयमा पक्राउ परेका व्यक्तिलाई अर्को देशको नागरिकको जिम्मामा छोड्न मिल्दैन । तर, मनिषको जिम्मामा सन्जय छुटेपछि यो मुद्दामा प्रहरी चुकेको प्रमाणित भएको छ ।

यहीबीच छाउनीको घरमा फर्किए, प्रवीण । 

प्रहरीले यसअघि भनेजस्तै त्यहाँका गार्ड दिलकुमार नेम्बाङले प्रहरीलाई प्रवीण छाउनीमा आएको जानकारी दिए । तर, यति ठूलो विषयमा र अघिल्लो दिनसम्म आफूले खोजिरहेको मानिस कहाँ छ भन्ने थाहा पाउँदा पनि प्रहरी त्यहाँ गएन ।

बरु प्रहरीले यो सूचना प्रवीणसम्म रिले गरेको पाइएको छ । स्रोतका अनुसार प्रहरीले प्रवीणलाई त्यहाँ नबस्न आग्रहका साथ सन्देश पठाएको थियो ।

अनि यहीबीच प्रहरीले पक्राउ गरिएका सात जना र बरामद सामान सबै वाणिज्य विभागमा बुझाइदियो ।

‘मनिषले यो सेटिङ मिलाए, त्यसपछि प्रहरीले सहज हुने तरिकाले मुद्दालाई मिलाउँदै गयो,’ फरकधारको सम्पर्कमा आएका ती व्यापारीले भने, ‘प्रहरी आफू पन्छिएपछि यो मुद्दा अटोमेटिकल्ली कमजोर हुन थालेको हो । यो दृश्य प्रष्ट हुँदा यसमा प्रहरीको मिलेमतो छैन भन्ने आधार के होला र ?’

यो घटनामा प्रहरी आफू पन्छिनु नेपाली कानुनसम्मत छैन । मुलुकी अपराध संहितामा यसबारे के लेखिएको छ भन्ने चर्चा गरौँ ।

मुलुकी अपराध संहिता २०७४ को दफा १०८ र १०९ अनुसार यो मुद्दामा प्रहरीले थप अनुसन्धान गर्नु पर्ने थियो । तर, अहिले त प्रहरीले यसको फाइल नै ट्रान्सफर गरिदिएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १०८ र १०९ मा भनिएको छ– कसैले कुनै एक खाद्य पदार्थलाई अर्को खाद्य पदार्थ हो भनी वा न्यून गुणस्तरको खाद्य पदार्थ वा अखाद्य पदार्थलाई उच्च गुणस्तरको खाद्य पदार्थमा निम्न स्तरको खाद्य पदार्थ वा अखाद्य पदार्थ मिसावट गरी विक्री वितरण गर्नु हुँदैन । यस्तो गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पचास हजार जरिवाना वा दुवै सजाय हुनेछ ।

यसैगरी यही संहिताको दफा १०९ मा भनिएको छ– कसैले खाद्य पदार्थ बाहेक कमसल वस्तुलाई असल वस्तु हो भनी वा एक वस्तुलाई अर्को वस्तु हो भन्ने भान पारी वा कुनै वस्तुमा त्यसको गुणस्तर घट्ने गरि मिसावट गरि विक्री गर्न वा कुनै वस्तुमा रहेको लेवल साट्न वा म्याद नाघेको वस्तु बिक्री गर्न हुँदैन । यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँ वा दुवै सजाय हुने छ । 

यस्तै, उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ मा पनि यस्तो काम गर्नेलाई कसूर मानिएको छ । यसको गको खण्ड (२) मा पुर्ननिर्मित वा पुराना वस्तुलाई नयाँ हो भनी देखाइ वा झुक्याइ विक्री गर्नमा निषेध समेत गरेको छ । 

बंका र सिंघानीयालाई छुटाउँदा प्रहरीले मुलुकी अपराध संहितमा भएको यो व्यवस्था, उपभोक्ता संरक्षण ऐन २०७५ मा भएको व्यवस्थालाई पूर्णरुपमा नजरअन्दाज गरेको छ । 

तर, यो घटनामा प्रहरी २४ घन्टामा नै सेलाएको देखिएको छ ।

‘यसरी प्रहरी सेलाउनुको कारण मोटो रकम हो,’ फरकधारको सम्पर्कमा आएका ती व्यापारी दाबी गर्छन् । तर, फरकधारले यस विषयमा थप खोज गरिरहेको छ । 

यस विषयका थप फलोअप फरकधारमा प्रकाशित हुनेछन् ।

तर, यति गम्भीर विषयमा ‘आफ्नो चासो छोडेको’ प्रहरी चाहिँ आफूहरुको काम यस्तो कसुर नहेर्ने हो भन्ने तर्क गर्छ । फरकधारसँग कुरा गर्दै कालिमाटी प्रहरी वृत्तका डिएसपी बोहराले भने, ‘रिलेबलिङको कसुर प्रहरीले हेर्दैन । यो कालोबजारी हुन्थ्यो भने हामी हेथ्र्यौँ । अथवा अरु कुनै कसुर ठहरिएको भए पनि हामी हेर्ने थियौँ । तर, म्याद सकिएको सामानमा नयाँ म्याद राख्दा हुने कसुर हेर्ने अधिकार प्रहरीलाई छैन । त्यसैले यसको कारवाही गर्ने जिम्मा सम्बन्धित निकायलाई यहाँबाट पठाइएको हो । यसमा कुनै प्रक्रिया मिचिएको छैन ।’

  • प्रकाशित मिति : असोज २६, २०७७ साेमबार २०:१९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया