मुख्यमन्त्री शाहीविरुद्धको प्रस्ताव आजै फिर्ता गराउने केन्द्रकाे तयारी
ओली–प्रचण्ड छलफलमा, नेपाल समूहको साथपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि लागेको अविश्वासको प्रस्ताव आजै फिर्ता गराउने तयारी गरिएको छ । नेकपाकै बहुसंख्यक सांसदहरूले मुख्यमन्त्री शाहीविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । 

उक्त विषयले भर्खरै समाधान भएको सत्तारुढ नेकपाको केन्द्रीय राजनीतिलाई नै असर पर्ने देखिएपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आजै प्रस्ताव फिर्ता गर्न लगाउने गरी अहिले छलफलमा छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षबीच छलफल सुरु भएको छ । 

उक्त छलफलमा मुख्यमन्त्री शाहीविरुद्ध प्रदेशसभाका १८ जना नेकपा सांसदले संसदीय दलमा दर्ता गरेको अविश्वासको प्रस्ताव फिर्ता गराउनेबारे कुराकानी केन्द्रित रहेको स्रोतले जानकारी दियो । कर्णालीको बिवाद सुल्झाउन नेकपा अध्यक्ष प्रचण्डले सोमबार नै प्रधानमन्त्री ओलीलाई भेटेर आग्रह गरिसकेका छन् । 

प्रधानमन्त्री तथा अध्यक्ष ओलीनिकट नेताहरूले पनि यो बेला भनेको विवाद चर्काउने बेला नभएको भन्दै अविश्वासको प्रस्ताव फिर्ता लिन आग्रह गरिसकेका छन् । नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले यसअघि टेलिफोन गर्दै अविश्वासको प्रस्ताव दर्ता गर्ने कार्यको अगुवाई गरेका नेकपा नेता तथा प्रदेश सांसद​ यमलाल कँडेललाई प्रस्ताव अगाडि नबढाउन भनिसकेका छन् । 

स्रोतका अनुसार आजै मुख्यमन्त्री शाहीमाथि लगाइएको अविश्वासको प्रस्ताव फिर्ता गराउने तयारी ओली–प्रचण्डको छ । यस विषयमा ओली–प्रचण्डबीच छलफलपश्चात् केन्द्रबाट कर्णालीलाई निर्देशन पठाउने तयारी रहेको छ । 

केन्द्रमा नेकपाका दुई अध्यक्षहरू अविश्वासको प्रस्ताव फिर्ता गराउने छलफल चलिरहँदा कर्णालीको राजधानी सुर्खेतमा गुलाबजंग शाहले संसदीय दलको बैठक शुरु गर्ने तयारी गरेका छन् । आज १ बजेका लागि बोलाइएको बैठक भने अहिलेसम्म शुरु हुन सकेको छैन । 



उक्त बैठकमा वरिष्ठ नेता माधव नेपाल पक्षका सांसद भने उपस्थित छैनन । अविश्वासको प्रस्तावबाट पछि हटेर बैठकमा सहभागी नभएको नेकपाका एक नेताले जानकारी दिए । 
नेकपा संसदीय दलको कार्यालय स्थलमा सहभागी एक पत्रकारले अहिलेसम्म १० जना मात्र सांसद आइपुगेको जानकारी दिए, जसमा कँडेल पक्षका ६ जना, पूर्व माओवादीका ३ जना र नेता नेपाल पक्षका एक जना सांसद सहभागी छन् । 

वरिष्ठ​ नेता नेपालले सोमबार मुख्यमन्त्री शाही सच्चिनुपर्ने र सांसदहरूले पनि अविश्वासको प्रस्ताव फिर्ता लिनुपर्ने भन्दै निर्देशन दिएका थिए । यही विषयमा छलफल गर्न अहिले सुर्खेतमा पनि अहिले दुवै पक्षका नेताहरू आन्तरिक छलफलमा समेत जुटेका छन् । 



नेता नेपालले सहजीकरण गर्न पठाएका केन्द्रीय सदस्य नीरज आचार्यले वार्ताको मध्यस्थ गरिरहेका छन् । अहिले केन्द्रीय सदस्य आचार्य, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, ध्रुबकुमार शाही, पूर्वमाओवादीका तर्फबाट मुख्यमन्त्री शाही, सचिव मायाप्रसाद शर्मा, सांसद विन्दमान विष्टलगायत नेतासमेत छलफलमा छन् । 

दलको सचेतकमा शाही 

यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले सांसद कुर्मराज शाहीलाई दलको सचेतक नियुक्त गरेका छन । प्रमुख सचेतक गुलावजंग शाहलाई हटाएर सीता नेपालीलाई प्रमुख सचेतक नियुक्त गरेपछि रिक्त स्थानमा शाहीलाई नियुक्त गरिएको हो ।

मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुब बुढाथोकीले कालीकोटबाट निर्वाचित शाहीलाई मुख्यमन्त्री शाहीले सचेतक नियुक्त गरेको जानकारी दिए । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ताका लागि हस्ताक्षर अभियान संकलन गरेको भन्दै शाहीले मुख्य सचेतक शाहलाई सोमबार प्रमुख सचेतकको जिम्मेवारीबाट मुक्त गरेका थिए ।

मुख्यमन्त्री शाहीसँग नेपाल समूहको गठबन्धन, तीन मन्त्रीको नाम बुझाइयो 

कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग सहमति भएसँगै माधवकुमार नेपाल समूहले तीन मन्त्री र संसदीय दलको सचेतक पदका लागि सांसदको नाम बुझाएको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूह त्यसलाई रोक्न सहमत भए । 

सुर्खेतमा मंगलबार भएको छलफलमा मुख्यमन्त्री शाही नेपाल समूहलाई तीन मन्त्री र संसदीय दलको सचेतक पद दिन तयार भएका छन । दुई पक्षबीच सहमति जुटेपछि अविश्वासको प्रस्तावमाथि मंगलबार राखिएको छलफलमा नेता नेपाल समूहका सांसदहरू अनुपस्थित रहे । 

एक नेताका अनुसार नेपाल समूहका नेता समावेश गरी मन्त्रिपरिषद् पनि मंगलबार नै पुनर्गठन गर्ने सहमति भएको छ । स्रोतका अनुसार नेपाल समूहले मन्त्रीका लागि चन्द्र शाही, करवीर शाही र अम्मरबहादुर थापाको नाम बुझाएको छ । 

संसदीय दलको सचेतकमा कर्मराज शाहीको नाम पठाइएको स्रोतले जनाएको छ । चन्द्र शाहीलाई मन्त्री बनाउन माधव नेपाल समूहले एक वर्ष अगाडि नै नाम बुझाएको थियो । तर, मुख्यमन्त्री शाहीले मन्त्री नियुक्त गरेका थिएनन् ।

अब मन्त्रिपरिषदमा नेता नेपाल पक्षका चार मन्त्री हुनेछन् भने पार्टी अध्यक्ष केपी शर्मा ओली समूहका दुई मन्त्री हुनेछन् । मन्त्रिपरिषद् पुनर्गठन गर्दा मुख्यमन्त्री शाहीले पूर्वमाओवादी समूहबाट समेत मन्त्री थप्ने तयारी गरेको बताइएको छ ।


 

  • प्रकाशित मिति : असोज २७, २०७७ मंगलबार १४:३५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया