जोगियो मुख्यमन्त्री शाहीको पद, कँडेलको योजनामा धक्का
फरकधार / २७ असोज, २०७७

आफ्नै पार्टीका सांसदहरुले अविश्वासको प्रस्ताव ल्याएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पद धराममा परेको थियो। तत्कालका लागि त्यो संकट टरेको छ। अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु उक्त निर्णयबाट पछि हटेका छन्।  

मंगलबार सुर्खेतमा भएको नेपाल समूहबीच छलफल भएपपिछ शाहीको मुख्यन्त्री पद जोगिने भएको हो। नेपालपक्ष  र मुख्यमन्त्री शाहीबीचको छलफलमा नेपाल पक्षलाई ३ मन्त्री र सचेतक दिने सहमति भएको स्रोतले जानकारी दिएको छ। नेपाल नेपालका सांसदहरुलाई कन्भिन्स गर्नका लागि केन्द्रीय सदस्य निरज आचार्य सुर्खेत पुगेका थिए। 

मुख्यमन्त्री र नेपाल पक्षका नेताहरुबीच मंगलबार सुर्खेतमा भएको छलफलमा छिट्टै मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति भएको छ। जसमा नेपाल पक्षका अमरबहादुर थापा, चन्द्रबहादुर शाही र करवीर शाहीलाई मन्त्री बनाउने सहमति भएको छ।  मुख्यमन्त्री शाहीले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्येका कुर्मराज शाहीलाई सचेतकमा नियुक्त गरेका छन् ।
 
तुहियो  कँडेलको मुख्यमन्त्री बन्ने सपना 

आइतबार नेकपाका १८ जना सांसदहरुले मुख्यमन्त्री शाहीविरुद्ध संसदीय दलमा  अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। जसमा नेपाल पक्षमा ७  र पूर्वमाओवादी पक्षका ३ जना सांसद थिए। 

तर, तीन मन्त्रीसहित सचेतक दिने सहमति भएपछि नेपाल पक्षका ६ जना सांसदहरु अविश्वासको प्रस्तावबाट पटि हटेका छन्। नेपाल पक्षका सांसदहरुले निर्णय फेरेपछि हस्ताक्षर अभियानको नेतृत्व गरेका ओली पक्षका नेता यामलाल कँडेलको योजना असफल भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेता कडेँलकै नेतृत्वमा अविश्वासको प्रस्ताव आएको थियो। 

प्रस्तावमा पूर्वमाओवादी केन्द्रका सांसद तथा उपसभामुख पुष्पा घर्ती विष्ट, सुर्खेत १ (ख) बाट विजयी माओवादी केन्द्रकै ठम्मर बहादुर विष्ट र दैलेख १ (क) का सदस्य धर्मराज रेग्मी समेतले हस्ताक्षर गरेका थिए। 

नेकपाका कर्णाली प्रदेश सह–इञ्चार्ज समेत रहेका नेता कँडेल प्रदेशसभा निर्माण हुँदै मुख्यमन्त्रीका दाबेदार थिए। तर पूर्वएमाले र माओवादीबीच मुख्यमन्त्रीका लागि भागबण्डा हुँदा कर्णाली प्रदेश माओवादीको कोटामा परेपछि कँडेलको मुख्यमन्त्री बन्ने योजना तुहिएको थियो। 

मुख्यमन्त्री बन्ने सपना ब्यूताउँन पुनः नेता कँडेलले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने योजना बनाएका थिए। तर उक्त प्रस्तावमा स्वयं प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले समेत असन्तुष्टि जनाइसकेका छन् ।

सात प्रदेशमध्ये सबैभन्दा सानो प्रदेश कर्णालीमा ४० सदस्यीय प्रदेशसभा रहेको छ। जसमा नेकपाका ३३ सदस्य छन् भने, नेपाली कांग्रेसका ६ जना र राप्रपाका १ जना सदस्य रहेका छन्। नेकपाका ३३ मध्ये तत्कालीन नेकपा एमालेका २०, र नेकपा माओवादी केन्द्रका १३ जना हुन ।

कँडेललाई ९ सांसदको साथ

अविश्वासको प्रस्ताव दर्ता भएपछि नेकपाका प्रमुख सचेतक गुलाबजंग शाहले आज १ बजेका लागि बैठक डाकेका थिए। तर शाहलाई सोमबार नै मुख्यमन्त्री शाहीले पदमुक्त गरेर नयाँ प्रमुख सचेतक नियुक्त गरिसकेका छन्। 

हस्ताक्षरकर्ता सांसदहरुको बैठक आज १ बजेका लागि बोलाइए पनि नेपाल पक्षका सांसदहरुले उक्त प्रस्तावबाट हात झिकेपछि बैठक शुरु हुन सकेन। नेपाल पक्षले हात झिकेपछि नेता कँडेललाई नेकपाको संसदीय दलमा ९ सदस्यले साथ दिइरहेका छन्। जसमध्ये पूर्व माओवादीबाट सदस्य बनेका तीन जना सांसदहरु उपसभामुख पुष्पा घर्ती विष्ट, ठम्मर विष्ट र धर्मराज रेग्मीले कँडेललाई साथ दिइरहेका छन् भने नेपाल पक्षबाट सुशील थापाले मात्र साथ दिएका छन्। ओली पक्षका केही सांसदले समेत कँडेलको साथ छाडेका छन्। 

ओलीका पक्षका सांसदहरु कौशल्यावती खत्री, प्रमुख सचेतकबाट हटाइएका गुलाबजंग शाह, वर्षदिन अगाडि मन्त्रीबाट हटाइएका खड्गबहादुर खत्री, राजु नेपालीले कँडेललाई साथ दिएका छन्। 

  • प्रकाशित मिति : असोज २७, २०७७ मंगलबार १५:५८:४१,   अन्तिम अपडेट : असोज २७, २०७७ मंगलबार १६:२०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया