राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले सरकार तथा राष्ट्रिय खेलकुद परिषद्लाई खुला पत्र लेख्दै खेलकुदका उच्च निकायसँग आक्रोश पोखेका छन् ।
उनले मङ्गलबार समाजिक सञ्जाल फेसबुकमार्फत खुलापत्र लेख्दै आक्रोश पोखेका हुन् । आफ्नो र अखिल नेपाल फुटबल संघ (एन्फा)का तर्फबाट पत्र लेखेको बताउँदै उनले यथाशक्य चाँडो खेलकुदका गतिविधि सुचारु गर्न पाउनुपर्ने माग पनि राखेका छन् ।
उनले लेखेको पत्र यस्तो छ
आदरणीय राष्ट्रिय खेलकुद परिषद् तथा सम्माननीय सरकारलाई म सानो खुला पत्र लेख्न चाहान्छु । म राष्ट्रिय फुटबल टिमको कप्तान किरण चेम्जोङ मेरो व्यक्तिगत तथा एन्फाको तर्फबाट नेपाली फुटबल मात्र नभएर सम्पूर्ण खेल क्षेत्र निश्चित स्वास्थ्य मापदण्ड अपनाएर सुचारु गर्न हजुरहरुलाई अनुरोध गर्दछु ।
किन एकान दुकान गर्नुहुन्छ के खेलाडी मारमा नै पर्ने र मर्ने नै हो भने तपाईँहरू सम्बन्धित निकायमा बसेको के अर्थ रह्यो र ? खेलाडीहरू चाँहि काठमाडौंको धुलोमा तपाईँहरू चाहिँ चिल्लो गाडीमा ?
खेलकुदको उच्च निकायमा बस्नेले खेलकुदका विकासमा खासै चासो नदिएको बताउँदै उनले खेलाडीले देश चिनाउँछन् भन्ने पनि बिर्सिएको आरोप पनि लगाएका छन् ।
सायद तपाईँहरूले बिर्सनुभयो होला हाम्रो देशको नाम खेलकुद र खेलाडीले चिनाइ रहेका छन् । यतिको लामो समयसम्म खेलकुदको यो दुर्दशा हुँदा पनि तपाईंहरूलाई खासै चासो छैन यसले नेपाली खेलकुदमा भविष्य खोज्नेलाई कस्तो असर परिरहेको छ भन्ने प्रस्ट देखिएको छ ।
फुटबलमा भविष्य खोज्ने भाइबहिनीमा कस्तो असर देखिएको छ भन्ने प्रस्ट देखिएको छ । विश्वका अन्य देशहरूमा फुटबल सुरु भइसक्दा हाम्रो देशमा भने बोलिदिने मान्छे कोही छैनन् । उनले यस्तो दुःखको घडीमा रंगशालालाई म्युजिक भिडियो बनाउन खुल्ला गरिएकोमा पनि असन्तुष्टि जनाएका छन् ।
यस्तो दुःखको घडीमा हाम्रो देशको रंगशाला फिलिमको सुटिङ, म्युजिक भिडियो बनाउनका लागि खुल्ला हुने तर फुटबलका लागि किन नहुने ? फुटबलले देशका लागि त्यति ठूलो असर गर्छ र ? अबका दिनमा देशका सम्पूर्ण रंगशालामा खेलकुदका गतिविधि सुचारु गर्न अनुमाति दिन अनुरोध गर्दछु ।
उनले खेलकुदको उच्च निकायसँग प्रश्न गरेका छन् खेलाडीको क्षतिपूर्ति कसले बेहोर्छ ?फुटबलको विकासका लागि कसैले केही गरिरहेका छैनन् । खेलाडीले खेल्नै बिर्सिसके सरकार । फुटबल राजनीति जस्तो होइन बोलेर मख्ख पार्न, यसमा हात र खुट्टा चलाउँदै दिमाख लगाउनुपर्छ ।
चिल्ला गाडीमा चढेर गफ लगाए जस्तो सजिलो छैन दुई खुट्टा चलएर परिवार पाल्न निकै गाह्रो छ । ७ महिनादेखि बेरोजगार रहेका खेलाडीको क्षतिपूर्ति कसले बेहोर्छ ? जुन खेलाडी खेलेरै जीविका चलाउँथ्यो, ऊ आजभोलि विदेसिन बाध्य भएको छ, यो लाजमर्दो कुरा होइन र ? नेपाली खेलकुदका मान्य ज्यू । जय देश जय फुटबल ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।