किन भइरहेको छ राजेश हमाल र ‘जातको प्रश्न’ कार्यक्रमको विरोध ?

सधैं चर्चामा रहिरहने अभिनेता राजेश हमाल फेरि एकपटक विवादको घेरमा तानिएका छन् । 

यसपटक उनी कुनै अभिव्यक्ति वा फिल्मका कारण वा अरु कसैले उनीप्रति लक्षित कुनै टिप्पणी गरेकाले विवादमा तानिएका होइनन् । हमाललाई यसपटक विवादमा ल्याएको छ, उनले केही साता यता चलाउँदै आएको कार्यक्रम– ‘जातको प्रश्न’ले ।

समता फाउन्डेसन र क्रिश्चियन एड नेपालको सहकार्यमा निर्माण गरिएको यो कार्यक्रमलाई विवादमा ल्याएका हुन्, हिन्दूवादी समर्थकले ।

अब यो विवाद सामाजिक सन्जालमा मात्र सिमित भएको छैन । विभिन्न ठाउँमा मानिसहरु सडकमा उत्रिएका छन् । सामाजिक सञ्जालमा नै देख्न सकिन्छ, त्यसरी विरोध गर्दै सडकमा उत्रिएकाहरु जलाइरहेका छन्, राजेश हमालका तस्वीरहरु । 

महत्वपूर्ण के भने आखिर राजेशले यो कार्यक्रम चलाउँदैमा किन उनका तस्वीरमा आगो लगाइयो भन्ने प्रसंग ? 

न यसमा हमालले बोलेका विषय विवादित भएर यस्तो गरिएको हो न त यो कार्यक्रममा उनले गरेका अन्तर्वार्ताहरुमा त्यस्तो विवादित कुरै केही आएको छ । बरु, यो कार्यक्रममा त हाम्रो समाजमा युगौंदेखि रहेको एउटा गलत संस्कारमाथि चिरफार गर्न खोजिएको छ, समाजलाई थप सुसूचित गर्न खोजिएको छ । 



तर, यही कार्यक्रमलाई लिएर सामाजिक सन्जालमा तताउन खोजिएको छ । 

कार्यक्रममा राजेश हमालले यसअघि नेपालका केही चर्चित व्यक्तिहरुको अन्तर्वार्ता लिइसकेका छन् । कार्यक्रममा उनले विश्लेषक आहुति, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, डा. बाबुराम भट्टराई, कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फे, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलगायतको अन्तर्वार्ता लिइसकेका छन् । 



यी सबै अन्तर्वार्ताको एउटै ध्येय छ– नेपाली समाजमा जरा गाडेर बसेको जातकै कारण हुने विभेद किन अझै हटाउन सकिएको छैन ?

प्रश्न स्वभाविक छ । २१ औं शताब्दीमा पनि हाम्रा समाजमा पछिल्ला महिनाहरुमा पनि जातकै कारण चरम अमानवीय र विभेदका घटना आइरहेका छन् । यस्ता समाचारहरु दैनिकजसो मिडियामा छाइरहेका छन् ।

तर, समाजको यो दुःखद पाटोलाई चटक्कै बिर्सिएर हमालको यो कार्यक्रममाथि प्रश्न तेर्स्याइएको छ– हमालले क्रिश्चियन मिसनको पैसा लिएर नेपाली समाजमा धार्मिक र जातीय द्वन्द्व फैलाउन यस्तो कार्यक्रम गरेका हुन् ।

तर, अहिलेसम्म हमालले लिएका अन्तर्वार्ताहरू हेर्नुपर्छ, कसैले पनि उनले नेपालमा जातीय द्वेष फैलाउन हिसाबले अन्तर्वार्ता लिएको भन्न सक्दैन । फेरि यो कार्यक्रमको निर्माता समता फाउन्डेसनले क्रिश्चियन एडको सहयोगमा यो कार्यक्रम गरिएको हो भन्ने कुरा प्रष्ट राखेको छ । 

सामाजिक सञ्जाल र सडकहरुमा समेत विरोध हुन थालेपछि यो कार्यक्रमबारे समताले सोमबार एक विज्ञप्ति पनि निकालेको छ । विज्ञप्तिमा भनिएको छ– दलित समुदायविरुद्ध भइरहेका श्रृंखलावद्ध हिंसा र विभेदबारे सरोकारवाला पक्ष र समुदायस्तरमा पनि संवादको संस्कृति बढाउन समता फाउन्डेसनले जातको प्रश्न नामक टिभी कार्यक्रम उत्पादन गरेको हो'

समताले यो कार्यक्रम कुनै निश्चित जात, धर्म, लिङ्ग, क्षेत्रप्रति संस्था पूर्वाग्रही नरहेको दावी गरेको छ ।

कार्यक्रमको मुख्य उद्देश्य जातीय विभेद सम्बन्धि संवाद घर–घरमा सुरुवात गर्नु रहेको समताले प्रष्ट्याउन खोजेको छ ।

अहिलेसम्म ११ भाग प्रसारण भइसकेको जातको प्रश्नले समाजमा बहसको थालनी गर्ने उद्देश्य लिएको छ । समाजको नेतृत्व तहमा रहेका व्यक्तिहरुसँग प्रश्न सोधेको छ । अर्कोतिर बहसको यो थालनीको विरोध भएको छ ।

त्यसैले त प्रश्न उठेको छ– समाजमा आवश्यक प्रश्न उठाइरहेको जातको प्रश्नमाथि किन फेरि प्रश्न उठेको छ ?​

  • प्रकाशित मिति : असोज २७, २०७७ मंगलबार १८:५६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया