समग्र देशको तुलनामा चितवनमा कोभिड–१९ सङ्क्रमणका कारण हुने मृत्युदर उच्च पाइएको छ । अन्य जिल्लाबाट उपचारका लागि यहाँ आएर मृत्यु भएकालाई छाड्दासमेत जिल्लाको मृत्युदर १.२८ प्रतिशत पुगेको हो । स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा कुल सङ्क्रमित सङ्ख्या एक लाख ११ हजार ८०२ रहेको छ भने मृत्यु ६४५ पुगेको छ ।
यस हिसाबले नेपालको मृत्युदर ०.५७ प्रतिशत हुन आउँछ, तर जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाको मृत्युदर १.२८ प्रतिशत पुगेको छ । जुन समग्र नेपालको मृत्युदरभन्दा दोब्बर बढी हो ।
जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लामा कुल सङ्क्रमित सङ्ख्या दुई हजार ७९२ रहेको छ । त्यसमध्ये ३६ जनाको मृत्यु भएको हो ।
जिल्लामा एक हजार ६७२ जना निको भएका छन् भने एक हजार ११८ जना सक्रिय सङ्क्रमित रहेका छन् । बाहिरी जिल्लाबाट यहाँ उपचार गर्न आउनेसमेत जोड्ने हो भने मृतकको सङ्ख्या ६४ पुगेको छ । मृत्यु भएकामध्ये पनि सबैभन्दा धेरै भरतपुर अस्पतालमा रहेका छन् । भरतपुर अस्पतालमा उपचारार्थ भर्ना भएकामध्ये पाँच प्रतिशतको मृत्यु भएको छ ।
८१ प्रतिशत निको भएर डिस्चार्ज भएका छन् भने १४ प्रतिशत उपचाररत रहेका छन् । यस अवधिमा भरतपुर अस्पतालमा उपचार गरिएका ३०१ कोरोना सङ्क्रमितमध्ये १०२ जना चितवनभन्दा बाहिरी जिल्लाका रहेका छन् । चितवनबाहेक १२ जिल्लाका सङ्क्रमित यहाँ उपचार गर्न आउने गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।