प्रदेश २ संसद भवनकाे दृश्य : स्वास्थ्य मापदण्डको धज्जी उडाउँदै सभामुख र मन्त्रीहरु
पूर्वप्रधानमन्त्री भट्टराई र पूर्वस्वास्थ्यमन्त्री यादव र मुख्यमन्त्री रावतमा पनि देखिएन स्वास्थ्य सचेतना

देश कोरोनाको संकटमा फसेको छ । काठमाडौंमा मात्र नभएर प्रदेश २ पनि कोरोनाको उच्च जोखिममा छ । देशभर संक्रमित एक लाख र मृतकको संख्या ६ सय नाघिसकेको छ । 

अन्य प्रदेशभन्दा कम जोखिममा छैन प्रदेश २ । हालसम्म १४९ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । संक्रमितको संख्या पनि १४ हजार बढी छ । तर, प्रदेशका मन्त्री, सांसद र सभामुख समेत स्वास्थ्य मापदण्डको पालना गरिरहेका छैनन् । उनीहरु विनामास्क प्रदेशसभा बैठकमा सहभागी हुन्छन् ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा सामाजिक विकास मन्त्री नवलकिशोर साह, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश राय, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र यादव र सभामुख सरोजकुमार यादव समेतले मास्कको प्रयोग गरेनन् । अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्ने बारेमा उनीहरु अनभिज्ञजस्तै देखिए ।

बैठकमा सहभागी सांसदहरुले पनि मास्क लगाएका थिएनन् । केहीसँग मास्क नै थिएन, भएकाले सही तरिकाले प्रयोग गरेका थिएनन् । मन्त्री र सांसदले नै स्वास्थ्य मापदण्डको धज्जी उडाएपछि समाजमा नकारात्मक सन्देश प्रवाह भइरहेको छ । यसले कोरोना संक्रमण झन् फैलिने सम्भावना बढाएको छ ।



प्रदेशसभामा सामाजिक दूरी कायम गर्नका लागि टेबल हटाएर कुर्सीको व्यवस्था मिलाइएको छ । तर, सांसदहरु टाढा राखिएका कुर्सी अन्य सांसदको नजिक ल्याएर बस्ने गरेका छन् । यतिसम्म कि संसद् चलिरहँदा सांसदहरु कानेखुसीमा व्यस्त देखिन्थे ।​



पूर्वपूधानमन्त्री भट्टराई र पूर्वस्वास्थ्यमन्त्री र मुख्यमन्त्रीमा पनि देखिएन स्वास्थ्य सचेतना 

प्रदेश संसद भवनमा मात्र होइन, बाहिर पनि स्वास्थ्य मापदण्डको धज्जी उडाउने काम भइरहेको छ । सोमबार पर्साको सखुवा प्रसौनीमा जनता समाजवादी पार्टीले हजारौँको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम गर्यो । जिल्ला प्रशासन कार्यालयले भिडभाड नगर्न निर्देशन जारी गरेको छ । तर, ठूलो भिडभाडबीच पार्टी प्रवेश कार्यक्रम गर्दा रोक्नुको साटो प्रशासनले नै सुरक्षा दिएको थियो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई, पार्टी अध्यक्ष उपेन्द्र यादव, मुख्यमन्त्री लालबाबु राउत र सांसद प्रदीप यादव उपस्थित थिए । तर, अधिकांशले मास्कको सदुपयोग गरेको पाइएन । उनीहरुसँग मास्क नभएको होइन, तर प्रयोग गरेनन् ।

कोरोना मापदण्ड ठूलाबडा नेता र मुख्यमन्त्रीले समेत पालना नगर्दा सामाजिक सञ्जालमा उनीहरुको चर्को आलोचना भइरहेको छ । जनकपुरका युवा नेता शैलेन्द्र चोरबार भन्छन्, ‘जनता कोरोनाको त्रासमा बाँचिरहेका छन् । तर, नेताहरुलाई कुनै मतलब छैन । यो ठूलो विडम्बना हो ।’

  • प्रकाशित मिति : असोज २७, २०७७ मंगलबार २०:५८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया