मिति गुज्रिसकेका खाद्यान्नहरुमा फेरि नयाँ मिति हालेर बजार पठाउने दुई गिरोह सक्रिय भएको यसअघि प्रहरीले गरेको दुई अपरेसनबाट पुष्टि भइसकेको छ ।
यसमा संलग्नता नेपालकै ठूलो व्यवसायिक घरानामध्ये एक विशाल ग्रुप पनि रहेको पुष्टि भएको छ । अर्को एक गिरोह चाहिँ भारतीय नागरिक बंका थरका दाजुभाइ मिलेर चलाइरहेका छन् ।
तर, प्रहरी र वाणिज्य विभागले यी दुईलाई गरेको व्यवहार समान छैन ।
यसबारे पहिले पृष्ठभूमि बुझौँ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), महानगरीय अपराध महाशाखा र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसहितको टोलीले १५ असोज कलंकी र बाफलका दुई गोदाममा छापा मारेको थियो । यसमा के पुष्टि भयो भने आयान डिस्टिब्युटर्सले मिति गुज्रिएका सामानमा नयाँ मिति हाल्दै बजारमा पठाइरहेको छ । मानवीय स्वास्थ्यमाथि यसरी गम्भिर लापरवाही गरेको यो घटनामा आयानकी सन्चालक पुष्पादेवी अग्रवालसहित ७ जना पक्राउ परे ।
यो समूह विशाल ग्रुपको समूह थियो । विशाल ग्रुपले यसरी मिति थपेर सामान काठमाडौंमा चलेको बिग मार्टमा बेचिरहेको छ । र, उसले यस्तो काम पछिल्लो दुई वर्षभन्दा बढी समयदेखि गरिरहेको पनि पुष्टि भएको छ ।
विशाल ग्रुपले सन्चालन गरिरहेको यो समूहले आयान डिस्ट्रिब्यूटर्सको गोदामबाट ट्याङ पाउडर जुस मात्रै ५ हजार ७ सयभन्दा धेरै कार्टुनमा नयाँ मिति राख्दै थियो । त्यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका त्यो दिन प्रिङ्गल्स आलु चिप्स ७ सयभन्दा धेरै, ओरियो बिस्कुट ७९ कार्टुन, बर्नभिटा हर्लिक्स ५ कार्टुनमा नयाँ मिति राखिँदै थियो । यसरी बरामद भएका वस्तुहरुको मूल्य कम्तिमा पनि २ करोड ९३ लाख ६४ हजार ७ सय १ रुपयाँ रहेको ठहर भएको थियो ।
१५ असोजमा विशाल ग्रुपको यो बदमासी त विभागले पक्रियो । त्यसपछि यस्तै अरु घटनाहरु पनि बाहिर आइसकेका छन् ।
१५ असोजमा पक्राउ परेका आयानका सन्चालक पुष्पादेवी अग्रवाल, रोनक बोथ्रा, मुन्ना ठाकुर, पप्पुकुमार ठाकुर, श्यामप्रसाद सिंह, रामबहादुर बयलकोटी र विक्रम गुप्ताको बयान लिइयो । त्यसपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार यो मुद्दाको फैसला गरेको छ ।
यो मुद्दाको फैसला गर्दै उपभोक्ता हित संरक्षण ऐन २०७५ को व्यवस्थाअनुसार वाणिज्य विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदीले आयान डिस्टिब्युटर्सका सञ्चालक पुष्पादेवी अग्रवाललाई १ करोड धरौटी माग गर्ने, उक्त कम्पनीका म्यानेजर रोनक बोथ्रालाई एक वर्ष जेल सजाय गर्ने, ५ जना कामदारलाई ५ लाख धरौटी माग गर्ने र एक जना अर्का प्रतिवादीलाई पक्राउ गर्ने फैसला सुनाएका थिए ।
विभागका महानिर्देशकको आदेशले यो मुद्दामा पुष्पादेवी अग्रवाललाई मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा ६८ बमोजिम १ करोड जमानत माग भयो भने रोनक बोथराले अपराध स्वीकार गरेको र बोथ्रा विदेशी नागरिक भएकोले उनलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४० को उपदफा १० को खण्ड ख बमोजिम एक वर्षसम्म कैद सजाय भुक्तानी गर्नुपर्ने फैसला गरियो ।
अब लागौँ यस्तै मानव स्वास्थ्यमाथि खेलवाड गरिएको अर्को गिरोहको विषयमा ।
आयानको गोदाममा भएको छापाको ठिक तीन दिनपछि कलंकीमा अर्को एउटा घर भेटियो । पाँच तले यो घरमा पनि त्यस्तै पहिले मिति गुज्रिएका सामानमा नयाँ मिति हालेर बजारमा पठाउने काम गरिने भन्ने पुष्टि भयो ।
प्रहरीले त्यही दिन त्यहाँबाट सात जनालाई पक्राउ पनि गर्यो ।
अचम्म त के भने यो घटनामा पक्राउ परेकाहरु तत्काल छोडिए । यसबारे फरकधारमा यसअघि प्रकाशित भएको यो सामग्री पढ्नुहोस्ः मिति गुज्रिएका सामानकाे रिलेबलिङ, मनिष गाेयलसँग प्रहरी सेटिङ, बंकालाई उन्मुक्ति !
यसरी मानवीय स्वास्थ्यमाथि आयानले जस्तै खेलवाड गर्ने यो गिरोह पनि भारतीय नागरिक संलग्न गिरोह हो । यसलाई नेतृत्व गरेका थिए, अनिल बंकाले ।
अनि उनको गोदाममा छापा मार्दा पक्राउ परेका थिए, प्रवीण बंका । यी दुई दाजुभाइ हुन् । तर, उनीहरुले यस्तो कर्तुत गरिरहँदा आफूहरुलाई दाजुभाइ भनेर चिनाएका छैनन् ।
यी दुवै भारतीय नागरिक हुन् । जसरी बोथ्रा भारतीय नागरिक हुन, त्यसरी नै अनिल बंका र प्रवीण बंका पनि दाजुभाइ हुन् ।
यो घटनामा प्रहरीले यसअघि सन्जय सिंघानियालाई पनि पक्राउ गरेको थियो । तर, सिंघानियालाई प्रहरीले अर्का भारतीय मनिष गोयलको जिम्मा लगाएर छोडिदियो । यो घटनामा सिंघानिया कसरी जोडिए, मनिषले कसरी सेटिङ गरे ? पढ्नका लागि यो लिंक क्लिक गर्नुहोस्– मनिष गाेयलले मिलाएकाे याे सेटिङ !
भारतीय नागरिक नै पक्राउ परेको यो दोस्रो घटनामा चाहिँ न प्रहरी जिम्मेवार बन्यो, न वाणिज्य विभाग नै । किनकि उनीहरुले यो घटनामा पक्राउ परेका सबैलाई सामान्य तारेखमा छोडिदिएको छ ।
अनि यसलाई दशी प्रमाण नपुगेकाले यस्तो भएको हो भन्ने तर्क गर्छन्, वाणिज्य विभागका प्रतिनिधि । वाणिज्य विभागका प्रवक्ता रवीन्द्र आचार्यले यो मुद्दामा यथेष्ठ प्रमाण नभेटिएको तथा पक्राउ परेकाहरुले आफूले अपराध गरेको छैन भन्ने जवाफ दिएकाले साधरण तारेखमा छोडेको फरकधारलाई बताए । ‘कानुनको प्रयोग गरेर नै उनीहरुलाई छोडिएको हो,’ उनले फरकधारसँग भने, ‘तर, उनीहरुमाथिको अनुसन्धान सकिएको होइन ।’
विभाग र प्रहरी दुवैले बंकाहरुले सन्चालन गरेको यो गिरोह छोड्नमा मनिष गोयल ‘सेटिङ मिलाउने व्यक्ति’का रुपमा अगाडि देखा परेका थिए ।
त्यसैले अहिले प्रश्न उठेको छ– एउटै कसुर (मिति गुज्रिएका सामानमा नयाँ मिति राख्दै बजार पठाउने)मा पक्राउ परेका बोथ्रा अहिले पनि जेलमा छन् तर बंकाका दाजुभाइ र यो गिरोहले कसरी सहज उन्मुक्ति पायो ?
‘यसमा ठूलो रकमको चलखेल भएको छ, त्यो प्रहरीले र राज्यले खोजबिन गर्नुपर्छ,’ यो घटनालाई नजिकबाट हेरिरहेको स्रोतले फरकधारलाई बतायो, ‘अन्यथा यस्तो कुकर्म गरिरहेको र रंगेहात पक्राउ परेका व्यक्तिले कसरी उन्मुक्ति पाए ?’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।