युवावर्गले पनि पाउँछन् सहुलियतपूर्ण कर्जा

राष्ट्र बैंकले १२ कक्षा उत्तीर्ण युवालाई पनि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने गरी नयाँ निर्देशिका जारी गरेको छ । यसअघि विभिन्न नौ शीर्षकमा सहुलियत कर्जा सुविधा दिँदै आएको केन्द्रीय बैंकले  अब १२ कक्षा उत्तीर्ण युवालाई पनि रू. ५ लाखसम्म युवावर्ग स्वरोजगार कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । सहुलियत कर्जा ५ प्रतिशत ब्याज अनुदानमा पाउने बताइएको छ । 

नेपाल राष्ट्र बैंकले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ को तेस्रो संशोधन, २०७७ मात मंगलवार यस्तो निर्देशन दिएको छ । मन्त्रिपरिषद्ले यही असोज ८ गते उक्त कार्यविधि संशोधनमा थप व्यवस्था गरेको थियो ।

युवा वर्ग स्वरोजगार कर्जाका लागि अब १२ कक्षा वा सोसरह उत्तीर्ण गरेकाले बैंक तथा वित्तीय संस्थामा आवेदन दिन सक्ने बाटो कार्यविधिले खुलाएको छ । यस्तो कर्जा लिन सिप विकास उद्यमशीलता तालीम केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय वा समिति, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लगायत सरकारी निकायमध्ये कुनै निकायबाट कम्तीमा ७ दिनको उद्यम वा व्यवसाय गर्ने तालिम लिएको हुनुपर्ने बताइएको छ । 

त्यसैगरी, कर्जा स्वीकृत भएपछि त्यस्तो संस्थामा सीप विकास तालिम लिएको प्रमाण पेश गर्न पनि सकिने व्यवस्था कार्यविधिले गरेको छ । यस्तो कर्जाका लागि आवेदन गर्दा उद्यम सञ्चालन तथा कर्जा उपयोगसम्बन्धी संक्षिप्त प्रस्ताव पेश गर्नुपर्ने छ । समूहमा कर्जा लिने हो भने सामूहिक जमानीको कागजात पेश गर्नुपर्ने बताइएको छ ।

यस्ता कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाहरूले व्यवसायको प्रकृतिअनुसार भुक्तानी अवधि अधिकतम ५ वर्षसम्म तोक्न सक्नेछन् । यस्ता कर्जाको ब्याजदर दर्ता गर्दा बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार ब्याजदरमा अधिकतम २ प्रतिशत विन्दुभन्दा बढी जोड्न पाउँदैनन् । ऋणीसँग कर्जाको ब्याज, कर्जा सूचना शुल्क, ऋणीले बेहोर्नुपर्ने बिमा प्रिमियम र कर्जा सुरक्षण शुल्कभन्दा बाहेकका अरू सेवाशुल्क लिन नपाउने व्यवस्था छ ।

संशोधित कार्यविधिले ऋणीले कर्जा लिएको व्यवसायको अनिवार्य रूपमा बिमा गर्नुपर्ने व्यवस्था गरेको छ । तर, बिमाको ५० प्रतिशत बिमा प्रिमियम मात्र ऋणीले तिरे पुग्छ, बाँकी ५० प्रतिशतको बिमा प्रिमियम नेपाल राष्ट्र बैंकले अनुदान शोधभर्ना खाताबाट तिरिदिन्छ । 



ब्याज अनुदानबापतको रकम सम्बद्ध बैंक तथा वित्तीय संस्थालाई त्रैमासिक रूपमा उपलब्ध गराउँदै आएको राष्ट्र बैंकले बताएको छ । सहुलियतपूर्ण कर्जाको संशोधित कार्यविधिले कोरोना महामारीबाट बेरोजगार हुन पुगेका युवालाई सहयोग गर्ने राष्ट्र बैंकको अपेक्षा छ ।



  • प्रकाशित मिति : असोज २८, २०७७ बुधबार १३:५८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया