भारतमा जब कुनै खाद्यान्नको समयावधि सकिन्छ, ती खाद्यान्न नेपाल आइपुग्छन् । अनि विशाल ग्रुप र बंका गिरोहले त्यसमा नयाँ मिति हालेर नेपालका बजारमा पठाउँछन् ।
यसअघि कलंकी, वाफल र कालिमाटी गोदाममा १५ असोज र त्यसपछि प्रहरीले छापा मारेर यसको पुष्टि गरिसकेको छ ।
म्याद गुज्रिएका यी सामानमा नयाँ मिति हालेर पठाएको आरोपमा विशाल ग्रुपसँग सम्बन्धित आयान डिस्ट्रिब्यूटर्सका सन्चालक पुष्पा अग्रवाल, रोनक बोथ्रा कारवाहीमा छन् । बोथ्रा त अहिले हिरासतमा नै रहेका छन् ।
तर, यही कसुरमा पक्राउ परेका अनील बंका प्रहरी कब्जाबाट छुटिसकेका छन् । कलंकीमा पाँच तले घर नै भाडामा लिएर अवैधानिक काम गरिरहेका र मानवीय स्वास्थ्यमाथि खेलवाड गरिरहेको बंका गिरोह सहजै प्रहरी नियन्त्रणबाट फुत्किएको थियो ।
यसअघि बंकाको यो समूहलाई लिड गरिरहेका प्रवीण बंका कसरी पोखराबाट काठमाडौं आइपुगे र कसरी प्रहरीकै सेटिङमा उनी छाउनीस्थित घरबाट फरार हुन सके भन्नेबारे फरकधारमा प्रकाशित यो सामग्री पढ्नुहोस्ः बंकालाई उन्मुक्ति दिन प्रहरीसँग सेटिङ गर्ने मनिष गाेयल काे हुन् ?
अब लागौं यो सेटिङमा अहम् भूमिका खेलेका मनिष गोयल को हुन् त भन्नेबारे ।
भारतबाट खाद्यान्न र प्रतिबन्धित सामाग्रीसमेत नेपाली बजारमा ल्याइपुर्याउन मनिषले भन्सारका कर्मचारी र अधिकृतदेखि काठमाडौंका प्रहरीसम्मलाई सेटिङ मिलाउने गरेका छन् ।
यसको प्रमाण हो, उनले केही दिनअघि सन्जय सिंघानियासँग गएर कालिमाटी प्रहरीबाट उनलाई सहजै त्यहाँबाट बाहिर ल्याउनु ।
त्यसो त मनिषलाई भारतबाट प्रतिबन्धित सामग्री ल्याउनलाई पनि सबैलाई प्रयोग गरिरहेका हुन्छन् । ‘जिस्का कोही नही, उसका मिनष’ काठमाडौंमा भारतबाट प्रतिबन्धित सामग्री ल्याएर र अखाद्य वस्तु ल्याएर बजारमा पठाइरहेका केही गिरोहले मनिषलाई यही भनेर सम्झिने गरेका छन् ।
स्रोतका अनुसार मनिषलाई काठमाडौंमा अवैध काम गर्नेहरु ट्रान्सपोर्टको दुनियाँका किङसमेत मान्छन् । किङ यस अर्थमा कि उनले भारतबाट नेपालमा प्रतिबन्धित सामान ल्याउन सहजीकरण गर्ने गरेका छन् ।
भारतको कोलकत्तामा जन्म भएका मनिष आफ्ना बाबुसँगै नेपाल आएका हुन् । नेपालमा पहिले मनिष गोयलका बाबुले ट्रान्सपोर्टको व्यापार सुरु गरे । त्यसलाई नै विस्तार गरेका हुन्, मनिषले ।
सुरुमा वीरगन्ज नाकाबाट आफ्नो ट्रान्सपोर्टका गाडीहरु भित्र्याउने मनिष आजभोलि सुनौली नाका पनि प्रयोग गर्न थालेका छन् । आइपी रोड लाइन्स नामको ट्रान्सपोर्ट कम्पनी चलाएका उनका ट्रकमा भारतमा म्याद सकिएका, बिग्रिएका र प्रतिबन्धित सामान नेपाल भित्रिने गरेका छन् ।
‘भातरबाट अरु ट्रान्सपोर्टले ल्याउन अस्वीकार गर्ने प्रतिबन्धित सामग्री पनि मनिषले सहजै नेपालमा भित्र्याइदिन्छन्,’ स्रोत भन्छ, ‘उनले त आफूलाई सामान ल्याउन नदिए व्यापारीहरुलाई भन्सारमा दुःखसमेत दिने गर्छन् ।’
यसअघि पनि बारम्बार भारतबाट प्रतिबन्धित सामान ल्याउँदा मनिषले प्रहरी र भन्सारका कर्मचारी तथा अधिकारीसँग सेटिङ मिलाएको फरकधारको सम्पर्कमा आएका एक व्यापारीले बताए ।
त्यसो त नेपाली प्रहरीसँग आफ्नो सम्बन्ध सुमधुर भएको स्वीकार्छन् मनिष स्वयं । फरकधारसँग कुरा गर्दै मनिषले भने, ‘हो, मेरो डिएसपी साबसँग पुरानो चिनजान हो, त्यसैले उहाँलाई भेट्न गइरहन्छु ।’
यो प्रसंग थियो, कसुर एउटै, म्याद गुज्रिएका सामान रिलेबलिङ गर्ने बोथ्रालाई जेल, बंकालाई उन्मुक्ति !
यसको पछिल्लो उदाहरणको रुपमा १८ गते भएको छापामारीको घटनालाई लिन सकिन्छ । बंका गिरोहले चलाएको म्याद गुज्रिएका सामानमा नयाँ म्याद हालेको सन्दर्भमा प्रहरीमा पुगेका भारतीय नागरिक सन्जय सिंघानियालाई छुटाउन मनिष स्वयं कालिमाटी प्रहरी पुगेका थिए ।
मनिषले त्यहाँ सेटिङ मिलाएर नै छाउनी घरमा भएका प्रवीण बंकालाई छिटो त्यहाँबाट बाहिरिन समेत प्रहरीले नै सूचित गरेको थियो ।
मनिषको यो सेटिङका लागि उनले के कस्तो काम गरेका थिए ? हेर्नुहोस्, फरकधारले यसअघि गरेको यो स्टोरीः
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।