भारतीय सेनाध्यक्ष नरभानेको नेपाल भ्रमण कात्तिकमा

सीमा विवाद र कोरोना भाइरसको महामारीका कारण रोकिएको भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरभानेको नेपाल भ्रमणको तयारी थालिएको छ ।

दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलनअनुसार नरभाने नेपाल आउन लागेका हुन् । नेपाली सेनाको जंगीअड्डा स्रोतका अनुसार नरभानेलाई कात्तिक महिनाभित्रै नेपाल भ्रमणमा आउने गरी औपचारिक निमन्त्रणा पठाउन लागिएको छ । भारतीय पक्षसँग अनौपचारिक संवादपछि निम्तो पठाउन लागिएको सैनिक स्रोतको दाबी छ ।

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतको क्षेत्रलाई मिचेर सडक निर्माण गरेपछि दुई देशबीच सीमा विवाद सतहमा आएको थियो । त्यहीबीच नरभानेले नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले भने  २९ पुस २०७५ मा भ्रारत भ्रमण गरेर मानार्थ सेनापतिको सम्मान ग्रहण गरिसकेका छन् । उनी नेपाल फर्किएपछि २० माघ २०७६ को मन्त्रिपरिषद बैठकले भारतीय सेना प्रमुख नरभाने र इजरायलका सेना प्रमुख अभी जोकोभिचको नेपाल भ्रमण स्वीकृत गरिसकेको छ । त्यही अनुसार नरभानको भ्रमण हुन लागेको हो ।

मानार्थ सेनापतिको सम्मान सेनाका परमाधिपति राष्ट्रपतिबाट प्रदान गर्ने चलन छ । महामारीका वेला हुन लागेको भ्रमणमा नरभानेले कसकसलाई भेट गर्छन् भन्ने टुंगो लागिसकेको छैन ।





  • प्रकाशित मिति : असोज २८, २०७७ बुधबार १५:४०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया