यो साता लगातार सेयर बजारमा कारोबार रकम र परिसूचक निरन्तर ओरालो लागेको छ । आज साताको चौथो दिन बुधबार पनि सेयर बजार परिसूचक नेप्से घटेको छ । ७.४२ अंकले नेप्से घटेर १५६१.१७ अंकमा पुगेको बुधबार नेप्सेसँगै सेन्सिटिभ इन्डेक्स पनि घटेको छ । सेन्सिटिभ इन्डेक्स १.६६ अंकले घट्दा ३०९.७५ अंकमा बन्द भएको छ ।
चाडपर्व नजिकिएसँगै अल्पकालीन लगानीकर्ता सेयर बजारबाट क्रमिक रुपमा बाहिरिँदा बजार परिसूचकसँगै कारोबार रकम पनि घट्दै गएको विश्लेषकको भनाइ छ ।
नेप्सेमा होटेलबाहेक सबै समूहको सूचक ओरालो लागेको हो । बुधबार विकास बैंक समूहको सूचक सर्वाधिक १.९९ प्रतिशत, वित्त कम्पनी समूहको सूचक १.३१ प्रतिशत र हाइड्रोपावर समूहको सूचक १.१९ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकिङ समूहको सूचक पनि ०.२९ प्रतिशतले घटेको छ । होटेल समूहको सूचक भने ०.१४ प्रतिशतले बढेको छ ।
कारोबार संख्यासँगै रकम पनि घटेको छ । नेप्सेमा बुधबार २४ हजार ८९९ वटा कारोबार भएको छ । १९५ कम्पनीको उक्त कारोबार संख्याबाट ५२ लाख ९१ हजार ३४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४९ करोड ६३ लाख ८८ हजारको कारोबार भएको छ ।
बजारमा कारोबार रकमका आधारमा सानिमा बैंक अगाडि छ । बुधबार लाभांश घोषणा गरेको बैंकको ७ करोड २५ लाख ४४ हजारको सेयर कारोबार भएको छ ।
यसैगरी सर्वाधिक बढ्नेमा सोमबार नेप्सेमा सूचीकृत भएर आजबाट कारोबार सुरु भएको जनरल इन्स्योरेन्स कम्पनी अगाडि छ ।
३०५ रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयर मूल्य ३० रुपैयाँले बढेर ३३५ रुपैयाँ पुगेको छ । बुधबार गुमाउने शीर्ष पाँच कम्पनीमा हाइड्रोपावर मात्रै छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।