एक बोरा मलका लागि रातभर जागै
कैलारी गाउँपालिकामा रहेको परिश्रम कृषि सहकारी संस्थामा मलका लागि लामबद्ध किसान ।

कैलालीको कैलारी गाउँपालिका–९ का किसान कृपाराम राना स्थानीय परिश्रम कृषि सहकारी संस्थामा रासायनिक मल लिन पुगे । उनले एक बोरा मल पाउन रातभर लामबद्ध बसे । रातभर लाइनमा बसेर १ बोरा बिहान ४ बजे मल पाएपछि उनको खुसीको सीमा रहेन । मानौं, उनले कुनै ठूलो युद्ध जितेका थिए ।

कैलारीकै गाउँपालिका–९ कोइलहीकी प्रदेशु चौधरी पनि अनिदो आँखा मिच्दै लाइनमा उभिए । तोरी, आलु लगायत हिउँदे बालीलाई चाहिने डीएपी मल आएको खबर सुन्ने बित्तिकै रातभर लाइनमा बसेको उनले बताए । आँखा मिच्दै, हाई गर्दै उनले पीडा पोखे ‘थोरै मल आउँछ । लिने मान्छे धेरै हुन्छन् । मलबिना फसलै हुन्न । के गर्नु ? रातभर लाइनमा बस्नुपर्छ ।’

कृपाराम र प्रदेशु मात्रै होइन, मल लिन सयौं किसान लाइनमा बसेका थिए । सहकारीमा मल आएको सूचना पाउने बित्तिकै उनीहरू रातभर लाइनमा बस्न पुगेका हुन् । हरेक सिजनमा मलका लागि यसरी नै लाइनमा बस्दै आएका उनीहरू हाल हिउँदे सिजनमा थोरै मलका लागि लाइनमा बस्न बाध्य भएको हुन् ।

किसानहरू कोराना कहरबीच पनि मलका लागि जोखिम मोलेर भए पनि लाइनमा बस्ने गरेका छन् । कैलारी गाउँपालिका–६ बेनौलीका स्थानीय कृषक फुलराम डगौराले मुलुक संघीय शासकीय संरचनामा गए पनि आफूहरूको समस्या ज्यूँका त्यूँ रहेको गुनासो गरे । हरेक आर्थिक वर्षमा कृषि क्रान्ति समेटिएको नीति तथा कार्यक्रम र बजेट भाषण गर्ने सरकार यथार्थमा किसानको पीडाप्रति गम्भीर नभएको उनको भनाइ छ ।

सहकारीका व्यवस्थापक रामसमझ चौधरीले पर्याप्त मात्रामा मलको आपूर्ति नहुँदा हरेक सिजनमा मलको अभाव हुँदै आएको बताए । माग अनुसारको मल नआउँदा सबै कृषकलाई थोरै मात्रामा मल वितरण गर्दै आएको उनले बताए । धान सिजनमा पनि मलको अभाव झेलेका कृषकहरू हालको हिउँदे सिजनमा पनि अभाव झेलिरहेका हुन् । हाल कैलालीमा मात्रै होइन, सुदूरपश्चिमभर मलको चरम अभाव छ । सुदूरपश्चिम प्रदेशमा कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेसनले ३० प्रतिशत मलको आपूर्ति गर्दै आएको छ । तर, हालसम्म कृषि सामग्री कम्पनी लिमिटेडले मलको आपूर्ति गर्न सकेको छैन ।

मल आपूर्ति गर्न नसक्नुको कारण कोरोना कहर भन्दै पन्छिने गरिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटीले कोरोनाका कारण मल ल्याउन नसकेको बताए । डीएपी र युरिया चाहिने सिजनमा कृषि सामग्री कम्पनी लिमिटेड धनगढीसँग हाल पोटास मात्रै रहेको छ । प्रमुख बोगटीले ३ सय टन पोटास मौज्दात रहेको बताउँदै दसैंपछि मात्रै डीएपी र युरियाको आपूर्ति हुने बताए ।



सुदूरपश्चिम प्रदेशमा ३० प्रतिशत मलको आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङले भने केही मात्रा आपूर्ति थालेको छ । तर, ३० प्रतिशत आपूर्तिले माग धान्न सकिने अवस्था छैन । 

साल्ट ट्रेडिङ कर्पोरेसन सुदूरपश्चिममा हिउँदे सिजनको लागि जम्मा १५ हजार मेट्रिक टन मल ल्याउने क्रममा रहेको छ । गहुँको लागि युरिया मल ५ हजार ५२३ मेट्रिक टन, त्यसमा पनि कैलाली जिल्लाको लागि सबैभन्दा बढी १ हजार ४९१ मेट्रिक टन ल्याइने बताइएको छ । डीएपी मल ३ हजार ७१७ मेट्रिक टन ल्याइने छ । जसमा कैलाली जिल्लाको लागि ९८७ मेट्रिक टन मंसिर १५ गतेसम्म आउने भएको छ ।



साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीका प्रमुख केशवप्रसाद पाण्डेले आफूहरूले पाएको कोटाबमोजिम आपूर्ति थालेको बताए । तर ३० प्रतिशतले माग धान्न नसकिने अवस्था रहेको उनले दाबी गरे । उनले अहिलेसम्म २ हजार ७८८ मेट्रिक टन मलको आपूर्ति गरिसकेको बताए ।

अनुदानको मल प्राइभेट एग्रोभेटमा

कृषि सामग्री कम्पनीले मलको मौज्दात सकिएको दाबी गरेका बेला सरकारी अनुदानको मल बाहिर प्राइभेट एग्राभेटहरूमा भने धमाधम बिक्री भइरहेको छ ।

कृषि सहकारी संस्था मार्फत् वितरण हुनुपर्ने सरकारी अनुदानको मल कैलालीका कृषि एग्रोभेटबाट मिलेमतोमा बिक्री भइरहेको पाइएको हो । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरमा रहेको भैरव एग्रोभेटले पनि सरकारी अनुदानको मल बिक्री–वितरण गरिरहेको पाइएको छ ।

भैरव एग्रोभेटमा छोपेर राखेको अवस्थामा कृषि सामग्रीको लोगो सहितको रसायनिक मल फेला परेको हो । एग्रोभेटले डिएपी, युरिया र पोटास बिक्री गर्दै आएको उक्त क्षेत्रका किसानले बताएका छन् । एग्रोभेटका सञ्चालक शंकर खड्काले भने सहकारीबाट अनुदानको मल ल्याएको बताए तर उनले मल ल्याएको बताउने उक्त संस्था कृषि नभएर विद्युत् सहकारी हो ।

खड्काले जय माँ दुर्गा विद्युत् सहकारीले अनुदानको रासायनिक मल बिक्रीका लागि ल्याएको दाबी गरे । उनले युरिया ४ सय १० कठ्ठा लिएको बताए । 

‘वडा नम्बर ६ का किसानबाहेक कसैलाई बिक्री गरेको छैन । उनले भने, २ सय ५० जना किसानलाई बिक्री गरेको सूची म सँग छ ।’ तर खड्काले आफू मात्र नभएर कैलालीमा कृषि सहकारीहरूले नै अन्य एग्रोभेटबाट समेत अनुदानको मल बिक्री गर्दै आएको उनले बताए ।

सहकारीहरूसँगकै सेटिङमा कर्मचारीले कृषि एग्रोभेटबाट मल बिक्री गर्ने गरेको आरोप लागेको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख भने नवलसिंह बोगटीले सहकारी संस्थाहरूले बदमासी गरेको हुनसक्ने दाबी गरे । ‘अछाम साँफेमा १५ क्विन्टल दिएका छौँ । अन्यलाई अहिले दिएका छैनौँ । पहाडका लागि मात्र दिएका हौँ । तराईमा दिएका छैनौँ । एग्रोभेटमा बिक्री भएको बारेमा भने जानकारी छैन’, बोगटीले भने ।

कृषि सामग्री कम्पनी लिमिटेड डिएपी मल प्रति क्विन्टल ४ हजार ५५२ रुपैयाँ, युरिया प्रति क्विन्टल १ हजार ६५२ रुपैयाँ र पोटास प्रति क्विन्टल ३ हजार ३५२ रुपैयाँमा सहकारीलाई बिक्री गर्छ ।

कम्पनीले डिएपीमा प्रतिकिलो २६ रुपैयाँ, युरिया र पोटासमा २५÷२५ रुपैयाँ अनुदान दिने गरेको छ । सहकारीले किसानहरूलाई डिएपी प्रतिकिलो ४८ रुपैयाँ, युरिया १८ रुपैयाँ र पोटास ३५ रुपैयाँमा बिक्री गर्ने गरेको कृषि सामग्री केन्द्रले जनाएको छ ।

  • प्रकाशित मिति : असोज २९, २०७७ बिहीबार १२:४५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया