भालुवाङ–बाग्दुला–भिमगिठे ६७ किमि, चन्द्रौटा–कृष्णनगर २८ किमि र लमही–घोराही–तुलसीपुर ४९ किमि गरी दाङ, प्यूठान, कपिलवस्तुमा १४४ किमि फोरलेन सडक विस्तारका लागि २०७५ पुस १३ गतेदेखि काम सुरु भयो । यी सडक लुम्बिनी प्रदेशका गौरव आयोजना रूपमा सञ्चालित छन् ।
सम्झौतामा सडक निर्माण सुरु भएको ३० महिनाभित्र तीनवटै योजना सम्पन्न गर्ने समयावधि तोकिएको छ । तर, योजना निर्माण थालनी भएको २१ महिना पुगिसक्दासम्म पनि आधा काम समेत सकिएको छैन । योजना निर्माणको समय सीमा सकिन अब ९ महिना मात्रै बाँकी छ । अहिलेसम्म दाङको लमही–घोराही–तुलसीपुर ११ प्रतिशत र चन्द्रौटा–कृष्णनगर १९ प्रतिशत मात्रै काम सकिएको छ । भने भालुवाङ–बाग्दुला–भिमगिठे सडक अझै ठेक्का प्रक्रियामै अल्झिएको छ ।
तुलसीपुर–१९ का चित्रबहादुर वलीले भने– ‘अढाई वर्षमा सकिने भनिएकोमा २० महिना बित्दा रूख काट्ने र पोल सार्ने काम मात्रै हुनसकेको छ ।’ वलीले २१ महिनामा आधा काम पनि नहुँदा फोरलेन सडकको यात्रा रहरमै सीमित भएको सुनाए । उनले थपे– ‘फोरलेन हो चाँडै कहाँ बन्ला र ? दुःख पाउने अब कहिलेसम्म हो ?’
आलटालको काम
कोरोना महामारीसँगै जारी बन्दाबन्दीकै बीचमा निर्माणका लागि आवश्यक सम्पूर्ण बन्दोबस्त योजना निर्माणको कार्यालयले गरिदिएको छ । तर, निर्माण कम्पनीको आलटालले फोरलेन सडक विस्तारको काम करिब वर्षदिन पर सरेको छ ।
बन्दाबन्दी अगावै रूख र पोल स्थानान्तरणको काम सकिनुपर्ने भए पनि निर्माण कम्पनीको तदारुकता नहुँदा अझै रूख कटान र पोल स्थानान्तरण चलिहरहेको भालुवाङ–बाग्दुला–भिमगिठे, चन्द्रौटा–कृष्णनगर, लमही–घोराही–तुलसीपुर सडक योजना इन्जिनियरिङ पारसमणि हमालले बताए । उनले भने– ‘सुस्त–सुस्त गतिमा दाङ र कपिलवस्तुको काम चलिहरेको छ । प्यूठानमा अझै सुरु हुन सकेको छैन ।’
तर, निर्माण कम्पनीले सामग्रीको अभावका कारण काममा ढिलाइ भएको भन्ने जानकारी दिने गरेको उनले सुनाए । स्थानीय तहले योजना निर्माणका लागि आवश्यक समन्वय र निर्माण सामग्री जुटाएको उनले जानकारी दिए । कम्पनीको आलटाले प्रवृत्तिले निर्माण ढिलाइ भइरहेको उनले बताए ।
६ महिना म्याद थप
जारी बन्दाबन्दीले योजना निर्माणमा पर्न गएको असुविधालाई दृष्टिगत गर्दै नेपाल सरकारले ६ महिना म्याद बढाएको छ । बन्दाबन्दीमा काम गर्न असहज वातावरण नबनेको भए पनि निर्माण कम्पनीले बन्दका कारण योजना निर्माण प्रभावित बनेको दाबी गरेकाले सरकारले म्याद थप गरी सहज बनाइदिएको हमालको भनाइ छ ।
भालुुवाङ–बाग्दुुला–भिमगिठे अझै ठेक्का प्रक्रियामै
दाङ लमही–घोराही–तुलसीपुर र कपिलवस्तु चन्द्रौटा–कृष्णनगर सडकमा २० महिनाको अवधिमा धेरथोर केही काम भए पनि भालुवाङ–बाग्दुला–भिमगिठे सडक भने अझै ठेक्का प्रक्रियामै रोकिरहेको छ । जसका कारण उक्त सडक निर्माण अलपत्र परिरहेको योजनाका इन्जिनियर पारसमणि हमालले बताए । उनले भने– ‘प्यूठान क्षेत्रको काम अझै सुरु भएको छैन जो ठेक्का प्रक्रियामै रोकिरहेको छ ।’ जसका लागि आवश्यक पहल कदमी भइरहेको उनले बताए ।
समय र गुणस्तरमा कुुनै सम्झौता हुँदैन : मुख्यमन्त्री
लुम्बिनी प्रदेशका तीन जिल्लामा निर्माणाधीन फोरलेन सडक विस्तार प्रदेशको मात्रै नभई देशकै प्राथमिकता र गौरवको आयोजना रहेकाले तोकिएको समयमा तोकिएको गुणस्तरभित्र निर्माण कम्पनीले सम्पन्न गर्नुपर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले बताए ।
उनले भने– ‘तोकिएको समयमा सक्छौं भन्ने निर्माण कम्पनीको सम्झौता हो । यसमा अन्य कुनै प्रावधान छैन । बन्दाबन्दीलाई दृष्टिगत गर्दै ६ महिना म्याद थप भएको छ । उक्त समयमा निर्माण कम्पनी सक्नुपर्छ । यो समयमा निर्माण कम्पनीका लागि पर्याप्त हुन्छ । प्यूठानका ठेक्का समस्या तत्काल समाधान गरी अघि बढ्नेछ ।’
दाङमा निर्माणाधीन फोरलेन सडक जिम्मा तथ्य इन्जिनिरिङ एन्ड इन्फ्रा इन्डियाले लिएको छ । जसका लागि १ करोड २१ लाख ८२ हजार अमेरिकी डलरमा बजेट विनियोजन गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।