बुटवलमा सरकारी स्कुटर जलाउने चार युवक पक्राउ

प्रदेश राजधानीको विषयलाई लिएर बुटवलमा भएको विरोध प्रदर्शनका क्रममा सरकारी स्कुटर जलाउने चार युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले बिहीबार सूचना निकालेर रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु १ प २४७० नम्बरको स्कुटर जलाएको अभियोगमा उनीहरुलाई मुद्दा चलाइ कारबाही प्रक्रिया अघि बढाइएको जानकारी गराएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) खड्कबहादुर खत्रीका अनुसार बुटवल उमहानगरपालिका ११ बुद्धनगरका २५ वर्षीय भेषराज पोख्रेल, देवीनगर बस्ने ३५ वर्षीय रोशन थापा, तिलोत्तमा नगरपालिका २ बस्ने २८ वर्षीय सन्दीप पाण्डेय र गुल्मीको मालिका गाउँपालिका ८ घर भई बुटवल बस्ने ३० वर्षीय सुरज क्षेत्रीलाई नियन्त्रणमा लिइएको हो । 

उनीहरुले गएको असोज १६ गते बुटवल–११ देविनगरको होराइजन चोकमा सरकारी स्कुटर जलाएका थिए । यसैगरी प्रहरीको स्कुटर रोकी धम्की दिने दुई जना युवालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।  

देवदह नगरपालिका ४ का वसन्त रेग्मी र वसन्तलाई देवदह ५, खैरेनी कचहरा पुलमाथि डिउटीमा जाँदै गरेका प्रहरीको स्कुटर रोकी फुटाइदिउँ भन्दै धम्कीसमेत दिइ जबरजस्ती लाइसेन्स बिलबुक मागेको अभियोगमा नियन्त्रणमा लिए कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता खत्रीले बताए । 

उनीहरुलाई सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : असोज २९, २०७७ बिहीबार २०:३५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया