कारवाहीकै क्रममा छ विशाल ग्रुप, बेवास्ता गर्दै ल्याउँदैछ भारतबाट मिति सकिनै लागेका खाद्यसामग्री !

१५ असोजमा प्रहरीले गोदाममा छापा मार्दा फेला पर्‍यो– विशाल ग्रुपकै संलग्नतामा नेपालमा खाद्य सामग्रीको म्याद सकिए पनि नयाँ मिति हालेर बजार पठाएको प्रमाण।

मानवीय स्वास्थ्यमाथि विशाल ग्रुपको यो गम्भीर बदमासीका कारण अहिले विशाल ग्रुपमाथि कारवाही प्रक्रिया अगाडि बढेको छ । तर, कारवाही प्रक्रिया अगाडि बढे पनि विशाल ग्रुपले भारतबाट मिति सकिनै लागेका खाद्य पदार्थ नेपाल ल्याउन छोडेको छैन ।

त्यसो त यसअघि विशाल ग्रुपमाथिको कारवाहीको यो प्रक्रिया सरकारी अधिकारीहरुसँगकै मिलेमतोमा कमजोर बनाउन लागिएको समाचार फरकधारमा प्रकाशित भइसकेको छ । पढ्नुहोस् त्यो समाचार– मिति गुज्रिएका सामान रिलेबलिङ गर्ने विशाल ग्रुपलाई सहज बनाउन कमजोर बनाइँदैछ मुद्दा, हुँदैछ यस्तो खेल

नेपाली खाद्य बजारको झन्डै आधाभन्दा धेरै हिस्सा ओगटेको विशाल ग्रुपले गरेको पछिल्लो गल्ती बाहिर आए पनि यसका सामान बहिष्कार गर्ने वा त्यसलाई व्यवस्थित गर्ने तयारी पनि सरकारले गरेको छैन । यही सरकारी अधिकारीहरुले सहज वातावरण बनाइदिए पछि विशाल ग्रुपले भारतबाट सामान ल्याउन रोकेको छैन।

‘भारतमा अन्तिम चरणमा म्याद पुगिसकेका सामानहरु विशाल ग्रुपले किन्दै आएको धेरै भयो, अहिले पनि उसले त्यसलाई निरन्तर दिइरहेको छ । तर, समाचारहरुमा विशाल ग्रुप गल्ती छ त भनिएको छ, त्यसलाई निगरानी कसैले पनि गरेको छैन,’ विशाल ग्रुपबारे जानकार एक व्यापारी बताउँछन् ।

उनले अहिले पनि भन्सार र वाणिज्यका अधिकारीहरुसँग सेटिङ मिलाएर विशाल ग्रुपले यस्ता सामग्री नेपाल भित्र्याइरहेको छ ।



स्रोतका अनुसार अहिले कारवाहीको प्रक्रियामा रहे पनि यसअघिको अर्डर भन्दै विशाल ग्रुपले केही दिन यता मात्रै भारतबाट मिति सकिनै लागेका झन्डै ५ करोड मूल्य बराबरका खाद्य सामग्री नेपाल ल्याइसकेको छ । ‘विशाल ग्रुपमाथि कारवाहीको प्रक्रिया सुरु भएपछि पनि उसले सामान ल्याइरहेकै छ, भित्रीरुपमा उसलाई सहज बनाइएको छ । तर, बाहिर उसमाथि कारवाही गरेको स्वाङ पारिँदैछ,’ ती व्यापारीले फरकधारलाई बताए ।‘यसअघि अनुगमन गरिएको छ, कारवाही गरिएको छ भनेर त भनिएको छ,’ उनले फरकधारसँग भने, ‘तर, विशालले यसअघि ल्याएका सामान अहिले पनि बजारमा गएका छन्, निगरानी गरिएको छैन ।’

यता, भन्सार विभागले पनि यसबारे तथ्यांक बाहिर ल्याउन नमिल्ने तर्क गर्न थालेको छ । ‘कति सामान आयो, त्यसको जानकारी दिन सकिन्छ तर कसले कति सामान ल्यायो भनेर हामीले भन्न मिल्दैन,’ भन्सार विभागका एक अधिकारीले भने ।



विशाल ग्रुपको यो बदमासीका पछाडि सरकारी सहयोग राम्रो रहेको उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ बताउँछन् । उनी भन्छन्, ‘एउटा गोदाममा रिलेबलिङ गरिएको वा गर्न लागिएको अवस्थामा खाद्य सामान भेटियो तर उसको सामान यति मात्रै हो त ? खोइ त अरु सामानको खोजी गरेर गुणस्तर जाँच गरिएको ?’

बजारमा अनुगमन गर्ने आफूले काम गरेको देखाउन हल्ला गर्ने प्रवृत्ति मात्रै सरकारी अधिकारीको भएको भन्दै बानियाँले फरकधारसँग भने, ‘यति सच्चा अर्थले उपभोक्ताको हीतमा सोचेको हो भने अन्य सामानको अवस्था पनि चेकजाँच गर्नुपथ्र्यो नि । अनि कारबाहीकै बेला उसले धमाधम बजारमा गइरहनुलाई हामीले के बुझ्ने ?’

निरन्तर अनुगमनमा हिँडिरहेका उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना भन्छन्, ‘बजारमा अनुगमन हुन्छ कारबाही हुँदैन । निरन्तर गल्ती गरिहन्छन् । कहिलेकाही अनुगमनमा परिहाल्दाका लागि पहिल्यै ‘माइण्ड मेकअप’ हुन्छ । कुनै कर्मचारीले गल्ती मेरो भनेर हात उठाउने र मालिकले त्यसलाई बचाउने । यो सरकारी अधिकारीकै गोप्य सल्लाहमा हुन्छ ।’यता, विशाल ग्रुप चाहिँ यसबारे बोल्न मानिरहेको छैन । उसले आफ्नो आधिकारिक वेबसाइट पनि बन्द गराएको छ । यसबारे बुझ्न विशाल ग्रुपका अधिकारीहरुलाई सम्पर्क गर्न खोज्दा केहीले फोन उठाएनन्, केहीले यसबारे अहिले नबोल्ने बताए ।

यसअघि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसहितको टोलीको अनुगमनका क्रममा विशाल गु्रप अन्तरगतको आयान डिष्ट्रिब्युटर्सका सञ्चालक सहित ७ जनालाई पक्राउ गरेको थियो ।

बजारमा चल्तीमा रहेका स्निकर चकलेट, प्रिङ्गल्स आलु चिप्स, बोर्नभिटा हर्लिक्स, ट्याङ पाउडर जुस र ओरियो बिस्कुट गरी २ करोड भन्दा बढी मूल्यको सामान रिलेबलिङ गरिएको र गरिन लागेको अवस्थामा भेटिएको थियो ।

पक्राउ परेकाहरुमध्ये ६ जना धरौटीमा रिहा भइसकेका छन् । अपराध स्वीकार गरेका आयानका प्रमुख प्रशासकीय अधिकृत रोनक बोथरालाई भने उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ४० को उपदफा १ ख बमोजिम कारबाही हुने भनी पुर्पक्षका लागि थुनामा राखिएको छ ।

  • प्रकाशित मिति : असोज ३०, २०७७ शुक्रबार ७:६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया