निर्मला पहराई मृत प्रकरण
अदालतले पनि न्याय दिन नसकेको पीडित पक्षको आरोप
धनगढीमा भएको पत्रकार सम्मेलनमा गुनासो राख्दै पीडित पक्ष ।

कैलालीको घोडाघोडी नगरपालिका–४ की निर्मला पहराईको परिवारले अदालतले पनि न्याय दिन नसकेको आरोप लगाएका छन् । यही असोज २ गते घोडाघोडी नगरपालिका–५ फूलबारी सामुदायिक वनमा झुण्डिएको अवस्थामा निर्मला पहराईको शव फेला परेको थियो ।

निर्मलाका परिवारले उनको आत्महत्या नभई हत्या भएको आरोप लगाउँदै आएका छन् । धनगढीमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै पीडित पक्षले न्यायका लागि आन्दोलन गर्ने जनाएका छन् ।

पीडित पक्षको उजुरीपछि पक्राउ परेका मृतक पहराईका प्रेमी भनिएका ललित जाग्री धरौटीमा छुटेका छन् ।

हत्या आरोपी जाग्री र उनकी अर्की प्रेमी भनिएकी धना साउदलाई एक/एक लाख धरौटीमा छाड्न आदेश दिएको थियो । उक्त आदेशपछि जाग्री धरौटी बुझाएर रिहा भए पनि साउद भने धरौटी बुझाउन नसकेपछि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पीडित पक्षले पोस्टमार्टम रिपोर्ट गलत भएको भन्दै आन्दोलन गर्ने घोषणा समेत गरेका छन् ।

घटनाको सत्य तथ्य पत्ता लगाउन र दोषीलाई पक्राउ गर्न माग गर्दै शुक्रबार २ बजे जिल्लाको घोडाघोडी नगरपालिकामा आन्दोलन गर्ने मृतकका दाजु विशाल पहराईले बताए । ‘हामीले न्याय नपाएसम्म आन्दोलन गर्छौं,’ उनले भने ।

पीडितको आन्दोलनमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, मिसन अम्बेडकर, दलित मुक्ति मोर्चा, थरुहट/थारु वान राष्ट्रिय मोर्चा, नेपाल दलित पार्टी, उत्पीडित समन्वय मोर्चा, आदिवासी जनजाति महासंघ, नेपाल दलित मुक्ति अभियान र विश्वकर्मा समाजले ऐक्यबद्धता जनाएका छन् ।



बिहीबार आफन्तले जिल्ला अदालत कैलाली अगाडि धर्ना बसेर न्यायको माग गरिरहेका थिए । 

परिवारले अन्तरजातीय प्रेम सम्बन्धका कारण निर्मलाको हत्या गरेको दाबी गरेका छन् । निर्मलाका दाइ विशालका अनुसार कैलाली एफएममा कार्यरत २४ वर्षीय ललित जाग्रीसँग निर्मलाको प्रेम सम्बन्ध थियो ।



  • प्रकाशित मिति : असोज ३०, २०७७ शुक्रबार १४:२६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया