व्यक्तिगत कर्जामा स्थिर ब्याजदर लागु, बैंकहरुले तोके १० देखि १३ प्रतिशतसम्म ब्याज
फरकधार / ३० असोज, २०७७

बैंक तथा वित्तीय संस्थाले घर एवं सवारी व्यक्तिगत आवधिक कर्जामा कात्तिकदेखि स्थिर ब्याजदर लागु गर्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले असोज मसान्तसम्म स्थिर ब्याजदर सार्वजनिक गर्न दिएको निर्देशनअनुसार शुक्रबारसम्म अधिकांश बैंकले १५ वर्षसम्मका लागि व्यक्तिगत कर्जाको ब्याज सार्वजनिक गरेका छन् । बैंकहरूले आवधिक कर्जाको स्थिर ब्याजदर अवधिअनुसार कम्तीमा करीब १० प्रतिशत र अधिकतम १३ प्रतिशतको हाराहारीमा निर्धारण गरेका छन् ।

तत्काललाई भने स्थिर ब्याजदर लिने सेवाग्राहीले महँगो ब्याज तिर्नुपर्ने देखिन्छ । किनभने, बजारमा अहिले कर्जाको माग नभएकाले बैंकले आधारदरकै हाराहारीमा वा अझै कममा अर्थात् करीब ७ दशमलव ७ देखि ९ प्रतिशतको हाराहारीमा घर तथा सवारी कर्जा दिइरहेका छन् ।

शुरूमै चर्को लाग्ने स्थिर ब्याजदर भविष्यमा योभन्दा माथि नजाने भएकाले ऋणीले सोही दरमा ढुक्क भएर तिर्न सक्छन् । तर, स्थिर ब्याजदर नचाहने ग्राहकलाई बाध्यकारी नहुने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।

केन्द्रीय बैंकले दिएको निर्देशनलाई पालना गर्न बैंकहरूले स्थिर ब्याजदर सार्वजनिक पनि गरे पनि नेपाल बैंकर्स संघले यसलाई व्यावहारिक नभएको भन्दै बढीमा ५ वर्षसम्मका लागि मात्र स्थिर ब्याजदर तोक्ने व्यवस्था मिलाउन सुझाव दिइसकेको छ ।

उक्त सुझाव विचाराधीन भए पनि आफूहरू ब्याजदर निर्धारणमा जुटेको बैंकरहरु बताउँछन् ।

  • प्रकाशित मिति : असोज ३०, २०७७ शुक्रबार १६:२२:५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया