पत्रे खोला पुल, सातवर्षमा दुईपिलर
सात वर्षदेखि अलपत्र पुलकाे पिल्लर । तस्बिर : फरकधार

यो तस्बिर दाङको निर्माणाधीन पत्रेखोला पुलको हो । घोराही तुलसीपुर सडकखण्डमा निर्माणाधीन पुल आर्थिक वर्ष ०७०/७१ देखि सुरु भएको हो । पुल निर्माण सुरु भएको ठ्याक्कै सात वर्ष बितिसकेको छ । यो सात वर्षमा पुलको दायाँ बायाँका दुई पिलर मात्रै उठेका छन् त्यो पनि पूरा भएका छैनन् ।

अलपत्र पुलको अवस्थाबारे न स्थानीय तह जानकार छ, न सरोकारवाला निकाय, न राजनीतिक दल । 

तुलसीपुर उपमहानगरपालिका १८ का हुमबहादुर नेपालीले भने– ‘यो पुल म विदेश जाँदा पनि उस्तै थियो । आउँदा पनि उस्तै देखें, तीन वर्ष म उतै बसें, निर्माण सुरु भएको सात वर्ष भएछ, अब कहिले बन्छ ?’ अलपत्र निर्माणाधीन पुलका कारण बर्खामास धेरै अप्ठेरो पर्ने गरेको समेत उनले सुनाए । उनले थपे– ‘बर्खामा खोला उर्लिएको हुन्छ, बिरामी बोकेको एम्बुलेन्स खोला वारिपारि साइरन बजाउँदै बस्छन् । बिरामी छटपटाइरहेका हुन्छन् । त्यो दुखाइ र रुवाइ न हाकिमले देख्छन्, न नेता, न ठेकेदारले ।’

प्रिस्टेज पुल निर्माणका लागि पिलर उठे पनि बिम र स्ल्याबको डिजाइन बन्न नसक्दा पुल अलपत्र बनिरहेको छ । बिम र स्ल्याबको डिजाइनको समय अझै कति लाग्ने भन्नेबारे न सम्बन्धित कार्यालयलाई थाहा छ, न निर्माण कम्पनी नै त्यो बारे जानकार राख्दछ ।

सडक डिभिजन कार्यालय दाङका प्रमुख निरज शाक्यले भने– ‘निर्माण कम्पनीसँग बिम र सल्याबको डिजाइन कार्यालयले मागेको वर्षौं भइसक्यो । तर, निर्माण कम्पनीले डिजाइन दिएकै छैन । जसका कारण पुल निर्माण अलपत्र बनिरहेको छ ।’ ०७०/७१ बाट निर्माण सुरु गरी ०७३/७४ मा निर्माण सम्पन्न गर्ने गरी शंकरमाली निर्माण सेवाले उक्त पुलको निर्माणको जिम्मा लिए पनि पाँच वर्ष बितिसक्दासम्म पनि डिजाइन समेत दिन नसकेको उनको भनाइ छ । 

निर्माण कम्पनीले सुपर स्टक्चर डिजाइन पेस गर्न नसक्दा नै पुल निर्माण सम्पन्न हुन नसकेको उनको भनाइ छ । निर्माण कम्पनी जिम्मेवार बन्न नसक्दा पुल पिलरमा मात्रै सीमित बनेको छ । आधा पिलरको पुलका कारण खोलामा सवारी दुर्घटनाको जोखिम उस्तै छ । उनले थपे– ‘डिजाइनको पेमेन्ट पनि दिन्छौं । तर, निर्माण कम्पनीले डिजाइन दिँदैन कसरी पुल बन्छ ?’ निर्माण कम्पनीसँग पटक–पटक डिजाइन माग गर्दै आइरहे पनि डिजाइन पेस गर्न नसक्दा रोकिएको उनको भनाइ छ । उक्त पुल करिब चार करोड लागतमा निर्माण हुन लागेको हो । 



अरुमा बने पत्रेखोलामा बनेन

बबई, गुर्जे, संक्राम र पत्रेखोला पुल निर्माणको काम सँगै सुरु भएका हुन् । अन्य खोलाका पुलमा सवारी साधन चल्न सुरु गरिसके तर पत्रेखोला पुलमा अझै पिलरको काम पनि सकिएको छैन । जसका कारण सर्वसाधारणले सास्ती खेप्नु परिरहेको घोराही–११ का मनिकलाल चौधरीले बताए । उनले भने– ‘सधैंको दुःख बन्यो पुल ।’ सम्बन्धित कार्यालय र निर्माण कम्पनीको चरम लापरबाहीका कारण पुल बन्न नसकेको उनको आरोप छ ।



किन बन्न सकेन डिजाइन ?

पत्रेखोलामा निर्माणाधीन पुल प्रिस्टेज डिजाइनको पुल हो । जसका लागि पिलर समेत उठान गरिसकिएको छ । पुल निर्माण सम्पन्न गर्नका लागि अब बाँकी बिम र स्ल्याबको डिजाइन मात्रै बाँकी छ । तर, उक्त डिजाइन पाँचवर्षदेखि बन्न सकेको छैन । निर्माण कम्पनी र सडक डिभिजन कार्यालय बीचको तालमेल मिल्न नसक्दा डिजाइन बन्न सकेको छैन । सडक डिभिजनले निर्माण कम्पनीलाई निर्माण कम्पनीले सडक डिभिजनलाई दोष लगाउँदै पन्छिने काम गर्दै आइरहेकाले पुल निर्माण अलपत्र बनेको छ ।

बेखबर ठेकेदार

पत्रेखोला पुलका दुईतिरका एक/एक पिलरको काम सकिएको छ । निर्माणको जिम्मा पाएको शंकरमाली निर्माण सेवा यसबारे बेखबर रहेको सडक डिभिजन कार्यालय दाङको आरोप छ । निर्माण कम्पनीले पत्रेखोला पुल निर्माणका लागि न डिजाइन पेस गर्न सकेका छ, न म्याद थपका लागि कुनै प्रक्रिया सुरु गरेको छ । जसका कारण पत्रेखोला पुल निर्माणको काम अन्योलमा परिरहेको डिभिजन प्रमुख शाक्यले बताए । उनले भने– ‘ठेकेदार गैरजिम्मेवारीकै कारण पुल निर्माण रोकिएको छ । न म्याद थप हुन सकेको छ, न डिजाइन पाउन सकेका छौं ।’

पुलमा दोषी को ?

पत्रेखोला पुल निर्माण वर्षौंदेखि अलपत्र बनिरहे पनि पुल निर्माणमा भइरहेको ढिलासुस्तीबारे छानबिन हुन सकेको छैन । सम्बन्धित कार्यालयको मौनता र निर्माण कम्पनीको मनपरीका कारण पुल निर्माणको काम अलपत्र बनिरहेको छ ।

सम्बन्धित कार्यालय प्रमुख जिम्मेवारी बन्न नसक्दा पनि निर्माण कम्पनीले मनपरी गरिरहेकाले पुल निर्माण अधुरो रहेको सडक डिभिजन कार्यालय एक कर्मचारीको भनाइ छ । उनले भने– ‘कार्यालय प्रमुख कार्यालय त्यति बस्नुहुन्न । योजनाको अवस्था के कस्तो उहाँले त्यति जानकारी राख्नुहुन्न । अनि कसले गर्ने कारबाही ?’

कतिपटक दिने डिजाइन ?     

सडक डिभिजन कार्यालय निर्माण कम्पनीले डिजाइन पेस नगरेको आरोप लगाउँछ । निर्माण कम्पनी दुईपटक डिजाइन पेस गरिसकेको बताउँछ । पत्रेखोला पुल निर्माणको जिम्मा लिएको शंकरमाली निर्माण सेवा प्रतिनिधि पदमप्रसाद शर्माले कार्यालयले माग गरे बमोजिमको डिजाइन दुईपटक पेस गरिसके पनि पास नभएको बताए ।

उनले भने– ‘एउटा पुलको डिजाइन कति पटकसम्म दिनुपर्छ ?’ सडक डिभिजनले लापरबाहीले पुल निर्माणको काम रोकिएको उनको भनाइ छ । उनले थपे– ‘कर्मचारी आफ्ना कमजोरी लुकाउन दोष जति निर्माण कम्पनी दिन्छन् ।’ डिभिजनले आफैं बनाएको डिजाइन फेल भए पनि निर्माण कम्पनीले दुईपटक डिजाइन पेस गर्दासम्म प्रतिउत्तर नपाउँदा काम गर्न नसकेको उनले बताए ।

  • प्रकाशित मिति : असोज ३०, २०७७ शुक्रबार १७:४९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया