कर्णाली प्रदेशको विवादमा प्रधानमन्त्रीले चलाएको छलफलमा प्रचण्ड अनुपस्थित

आफ्नै पार्टीका बहुमत सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र अर्को पक्षलाई काठमाडौं डाकेका थिए ।

सोही विषयमा प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशका दुवै पक्षसँग अहिले बालुवाटारमा छलफल गरिरहेका छन् । छलफलमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, नेकपाका सह–इन्चार्ज यामलाल कँडेल, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, निलम्बित प्रमुख सचेतक गुलावजङ्ग शाहलगायत दुवै पक्षको सहभागिता रहेको छ । 

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले बिहीबार नै छलफलका लागि पार्टी मुख्यालय धुम्बाराही बोलाएका थिए । तर, बीचमा मन्त्रिपरिषद् पुनर्गठन त्यसपछि बढेको असन्तुष्टिका कारण ओलीले समय दिन सकेका थिएनन् ।

यस विषयमा बिहीबार र शुक्रबार अध्यक्ष प्रचण्डले मुख्यमन्त्री शाही र असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका यामलाल कँडेलसमूह, दुवै पक्षसँग छलफल गरेका थिए । मुख्यमन्त्री शाही पक्षसँग घटनाक्रममा बारेमा सोधनी गरेका थिए । प्रचण्डले आफ्नै पार्टी संसदीय दलका १८ जना विपक्षमा खडा हुने परिस्थिति कसरी निर्माण भयो भनेर सोधपुछ गरेका थिए । कँडेल पक्षलाई पार्टी केन्द्रसँग छलफल नगरी निर्देशनविपरीत अविश्वासको प्रस्ताव ल्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

प्रचण्ड गएनन् बालुवाटार

आजको छलफलमा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड भने सहभागी छैनन् । प्रचण्डलाई उक्त छलफलमा ओलीले बोलाएको भए पनि प्रचण्डले दुवै पक्षसँग कुराकानी गरिसकेकाले आज बालुवाटार नगएको उनको सचिवालयले जानकारी दिएको छ । प्रचण्डले बिहीबार र शुक्रबार दुवै पक्षलाई बोलाएर कुरा गरिसकेकाले आजको छलफलमा नगएको र पछि दुवै अध्यक्ष बसेर के गर्ने भन्ने टुंगो लगाउने प्रचण्डको सचिवालयले जानकारी दिएको छ । 



पार्टीको निर्देशनविपरीत सरकार सञ्चालन गरेको र विश्वास कायम राख्न नकसेको भन्दै कँडेलसहित १८ जना सांसदले आइतबार दलमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि कर्णालीको राजनीति तरङ्गित बनेको छ । मङ्गलबार दुई अध्यक्ष बैठक बसेर दुवै पक्षलाई पत्र काटेर वार्ताका लागि मुख्यालय बोलाइएको थियो ।



  • प्रकाशित मिति : कात्तिक १, २०७७ शनिबार १३:४८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया