डा. सुधा शर्माको ‘सिंहदरबारको घुम्ने मेच’सार्वजनिक
फरकधार / १ कात्तिक, २०७७

डा. सुधा शर्माको संस्मरणात्मक कृति ‘सिंहदरबारको घुम्ने मेच’ सार्वजनिक भएको छ ।

शर्मा योग्यताले प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन् । उनले विसं २०६५ असोजदेखि २०६८ मंसिरसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिवको कार्यभार सम्हालेकी थिइन् ।

डा. सुधाको पुस्तकमाथि शुभकामना व्यक्त गर्दै पूर्व राष्ट्रपति रामवरण यादवले प्रतिक्रिया व्यक्त गरे ‘यो पुस्तकमा तपाईंले आफ्नो प्रशासनिक र डाक्टरी जीवनको सारा अनुभव संगालेर राखिदिनु भएको छ यसले आउने पुस्तालाई केही सिक्ने मौका दिन्छ ।’

यस पुस्तकमा शर्माको निजी साहस र सरकारी सेवामा रहेका सीमित महिला सचिवहरूले सामना गरेका ऐतिहासिक असहजताको वर्णन गरिएको छ जो २०६२/६३ को विद्रोहपछि निर्माण भएको सरकारका निम्तिसमेत चुनौतीपूर्ण रह्यो । जुन सरकारले महिलाहरूको समानुपातिक प्रतिनिधित्वलाई आफूले सर्वोच्च प्राथमिकतामा राखेको उद्घोष गर्थ्यो, त्यही सरकार सशक्त महिला नेतृत्व स्वीकार्नका निम्ति असहजता महसुस गर्ने रोगले ग्रस्त थियो ।

बुद्धि र व्यंग्यका साथ चनाखो पारामा लेखिएको यो पुस्तक त्यसबेलाका घटनाहरूको चाखलाग्दो दस्तावेज हो, जुन घटनाले २०६३ को विद्रोहलाई निम्त्यायो । साथै ‘नयाँ नेपाल’को समायोजनका क्रममा ब्यूरोक्रेसी भित्रको उबडखाबड बाटो हिंड्दाको अन्तरकथा पनि हो यो पुस्तक ।

‘शर्माको पुस्तक एक महिलाको कथा हो, जसले पितृसत्ताको असक्षम संरचनामाथि उभिएको ऐनाको महललाई प्रहार गर्ने आँटको कथा बोकेको छ,’ नेपालय पब्लिकेसन्सका सम्पादक भूषिता वशिष्ठ भन्छिन्, ‘यस पुस्तकले नेपालमा पहिचान र लिङ्गमाथि चल्ने छलफलबीच अर्थपूर्ण आयाम थप्नेछ ।’

  • प्रकाशित मिति : कात्तिक १, २०७७ शनिबार १४:५८:३१,   अन्तिम अपडेट : कात्तिक १, २०७७ शनिबार १४:५९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया