अर्थतन्त्र गम्भीर संकटमा पुगिसक्यो : अर्थशास्त्री
अर्थविश्लेषक गाेकर्ण अवस्थी, अर्थशास्त्री विश्वम्भर प्याकुरेल र पूर्वअर्थमन्त्री रामशरण महत ।

पछिल्लो समय अर्थतन्त्र इतिहासकै कमजोर अवस्थामा पुगेको टिप्पणी भइरहेका छन् । अझै कतिपयले टाट पल्टने अवस्थामा पुगेको पनि बताइरहेका छन् । 

गत आर्थिक वर्ष ०७६/७७ को अन्तिम त्रैमासिक अर्थात् चैत दोस्रो सातादेखि नेपाल बन्दाबन्दीमा पर्‍यो । छिमेकी देश चीनबाट फैलिएको कोरोना भाइरसको महामारीको जोखिम कम गर्न भन्दै सरकारले सीमा समेत सिल गरी सबै क्षेत्र बन्द गर्‍यो । 

अर्थतन्त्र चलायमान बनाइराख्ने सबै क्षेत्रको चाल नै बन्द भयो । अतिआवश्यकीय सामान बाहेक बजारमा केही चिजको किनबेच भएन । निकासी पैठान बन्द भयो । जसका कारण गत आर्थिक वर्षमा प्रक्षेपण गरिएको अर्थतन्त्रका सूचकहरूले लक्ष्य भेट्टाउन सकेनन् ।

अर्थतन्त्र साँच्चिकै टाट पल्टिन लागेको हो त ? 

अर्थविश्लेषकहरूले सरकार संयम, सचेत, जवाफदेही नबनेमा अवस्था भयाबह हुने तर्फ सचेत गराएका छन् ।

अर्थशास्त्री विश्वम्भर प्याकुरेलले मुलुक गम्भीर संकटमा फसिसकेको भन्दै सचेत हुन आग्रह गरे । फरकधारसँग कुरा गर्दै प्याकुरेलले भने, ‘अर्थतन्त्रमा त तीन महिनामै असर देखिन सुरु भएको हो । अहिले हाम्रो गरिबीको स्तर बढेको छ । यो सँगै खाद्य संकट बढेको छ । जसका कारण कुपोषण ह्वात्तै बढ्ने डर छ । समग्रमा हाम्रो अर्थतन्त्र गम्भीर घाइते अवस्थामा छ ।’



उनले सरकार वा राजनीतिक नेतृत्व सचेत भएन भने अर्थतन्त्र दुर्घटना हुनसक्नेतर्फ सचेत गराउँदै भने, ‘हामी गम्भीर संकटमा फसिसकेका छौं । १९ प्रतिशत मात्रै गरिब रहेकोमा अहिले बढेर कुल जनसंख्याको झण्डै ४९ प्रतिशत निरपेक्ष गरिबीको रेखामुनि जाने अवस्थामा छौं । यो वर्षको अन्त्यसम्ममा ‘नेगेटिभ ग्रोथ’ हुन सक्नेछ । यो भनेको ज्यादै भयावह स्थिति हो । यो अवस्थामा सरकारले आत्ममूल्यांकन गर्नुपर्ने होइन र ?’

अर्थविश्लेषक गोकर्ण अवस्थीले अहिले नै टाट पल्टिने अवस्थामा नपुगे पनि सरकार संयम र जिम्मेवार नभई अहिलेकै अवस्थामा रहे संकट नजिकै रहेको टिप्पणी गरे । 
गत आर्थिक वर्षमा ९ महिना काम गरेर बाँकी ३ महिना मात्रै बन्द हुँदा पनि हाम्रो अर्थतन्त्रमा संकुचन आएकाले यो वर्षको जटिल अवस्थालाई सरकारले ख्याल गर्नुपर्ने अवस्थीको सुझाव छ ।



अवस्थी भन्छन्, ‘गत वर्ष त हामीले ९ महिना काम नै गरेका थियौं । अन्तिम तीन महिनाको हिसाबले अर्थतन्त्रमा संकुचन आयो । यो वर्ष ३ महिना पनि काम गर्न सकिन्छ कि सकिन्न, भन्न सकिने अवस्था छैन । त्यसैले अर्थतन्त्र झन् खस्कन सक्छ ।’

उनले सरकारले निकाल्ने तथ्यांकमै स्पष्ट पारदर्शिता नहुँदा ठ्याक्कै अवस्था भन्न नमिल्ने भए पनि अबको गम्भीर संकट आउनेतर्फ सचेत गराएका छन् ।

फरकधारसँग उनले भने, ‘सरकारले निकाल्ने कयौं तथ्यांकमै पारदर्शिता छैन । गत वर्षको कति बचेको थियो, त्यो कहाँ के गर्नेबारे केही थाहा छैन । तर, अहिले साधारण खर्चको चाप बढ्दै गएको छ । लकडाउन र अहिलेको कम मुभमेन्टको हिसाबले राजस्वमा चाप पर्ने नै छ । निजी क्षेत्रले काम गर्न सक्ने अवस्था छैन । यी सबै अवस्था हेर्दा हामीलाई आम्दानी र खर्चको तालमेल मिलाउन गाह्रो हुन्छ ।’

नेपाली काँग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले पनि अवस्था गम्भीरतातर्फ उन्मुख भए पनि सरकार संयम नभएको बताए ।

उनले भने, ‘अर्थतन्त्र अहिले कठिन अवस्थामा छ । सरकार संयम हुनुपर्ने बेला भइसकेको छ । हामीले व्यवस्थापनमा जति ढिलाइ गर्‍यौं त्यति धेरै क्षति ब्यहोर्नुपर्ने हुन्छ ।’

विश्व बैंकले गरेको प्रक्षेपणअनुसार सन् २०२० मा नेपालमा शून्य दशमलव ६ प्रतिशतले मात्रै आर्थिक वृद्धि हुनेछ । विश्व उत्पादन र आपूर्ति शृङ्खला प्रभावित भएसँगै विश्व अर्थतन्त्रमा ४ दशमलव ९ प्रतिशतले संकुचन आउने प्रक्षेपण गरिएको छ । 

अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२० मा संसारभरि नै कुल गार्हस्थ उत्पादन वा जिडिपी ठूलो मात्रामा खस्कने अनुमान गरेको छ ।

शक्तिशाली मानिने अमेरिकामा पनि ५ दशमलव ९ प्रतिशत र युकेको हकमा ६ दशमलव ५ प्रतिशतले अर्थतन्त्रमा संकुचन आउने अनुमान छ ।

समग्र विश्वको अर्थतन्त्र नै यो वर्ष तीन प्रतिशतले खस्कने प्रक्षेपण गरिएको छ । जुन सन् १९३० को दशकको गम्भीर आर्थिक मन्दी यताको सबैभन्दा खराब अवस्था हो ।

त्यो मन्दी र अहिलेको अवस्थामा के फरक छ त ? 

त्यो बेला र अहिलेको अर्थतन्त्रको प्रकृति फरक भए पनि गरिबी बढ्ने कुरा एउटै भएको अर्थशास्त्रीहरू बताउँछन् । 

अर्थशास्त्री प्याकुरेलको भनाइमा त्यतिबेलाका स्रोत र साधनका आधारमा अहिलेको अवस्था फरक त छ तर, समग्रमा गरिबीको अवस्था भयावह हुँदैछ अहिले पनि !’

के हो त आर्थिक मन्दी ?

सामान्य भाषामा आर्थिक मन्दी भनेको गरिबी बढ्नु हो । कुनै पनि देशको आर्थिक विकाससँग त्यहाँको उत्पादन, रोजगारी, आम्दानी र खर्च जोडिन्छ । समग्रमा जुन देशका नागरिकको जीवनशैली सुखमय छ त्यो देशको अर्थतन्त्र पनि बलियो हुन्छ ।

अर्थात् कुनै पनि देशले उत्पादन गर्ने वस्तु तथा सेवाको मूल्य अर्थात् कुल गार्हस्थ उत्पादन बढ्दा औसतमा त्यहाँका नागरिक पनि धनी बन्छन् ।

जब त्यो खस्किन्छ र त्यहाँका नागरिक खान, लगाउन वा सामान्य दैनिक गुजारा गर्न नसक्ने अवस्थामा पुग्छन्, त्यो बेला नै आर्थिक मन्दीको बेला हो ।

अर्थात् अर्थशास्त्रीय भाषामा कुनै देशको कुल गार्हस्थ उत्पादन अर्थात् त्यसले उत्पादन गर्ने वस्तु वा सेवाको मूल्य लगातार दुई त्रैमासिक अवधिमा खस्किने अवस्था आर्थिक मन्दी हो ।

यस्तो अवस्थामा कयौं मानिसहरूको जागिर गुम्छ । श्रम बजारमा बेरोजगारीको संख्यामा ह्वात्तै वृद्धि हुन्छ । काममा भइरहेकाहरूको पदोन्नति वा तलबमानमा वृद्धि हुनुको सट्टा घट्न सक्छ ।

यस्तो अवस्थाको अन्त्य कहिले होला त ? अर्थशास्त्रीहरू भन्छन्, ‘यसको ठ्याक्कै टुंगो छैन । किनकि महामारीको अवस्था के हुन्छ । त्यसको नै टुंगो लागेको छैन ।’

  • प्रकाशित मिति : कात्तिक १, २०७७ शनिबार १८:५४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया