राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्ष शाेभा मात्रै

निकै तामझामका साथ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ०७७ वैशाख २९ मा आइसियु सेवा उद्घाटन भयो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जुन उत्साहका साथ सेवा प्रारम्भ गरे त्यही उत्साह कार्यान्वयनमा देखाएनन् । प्रतिबद्धता र जनशक्तिको अभावमा १० बेडको आइसियु कक्ष सजावट मात्रै बन्यो । बिरामीले सेवा पाउन सकेनन् ।

महामारी सुरु भएसँगै सरकारले बेलझुण्डीको आयुर्वेदिक अस्पताललाई कोरोना विशेष अस्पताल बनायो । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट भेन्टिलेटर स्थानान्तरण गरी सघन उपचार सुरु गरियो ।

कोरोना विशेष अस्पतालमा आइसियु बेड ५ वटा, भेन्टिलेटर ३ बेड, हाइप्लो अक्सिजन बेड ३, हाइ डिपेन्डेड बेड ५ वटा सञ्चालित छन् । जहाँ १० जना बिरामीको उपचार भइरहेको छ । 

दिनानुदिन लक्षण सहितका संक्रमित बिरामी थपिँदै जाँदा सघन उपचारको अभाव पनि खट्किँदै गइरहेको छ । कोरोना विशेष अस्पतालका प्रमुख डा. सर्वेश शर्माले भने, ‘कोरोना अस्पतालको सघन उपचार कक्षले मात्रै बिरामी धान्न सक्दैन, महामारी बढ्दै छ । बेड नपाउने अवस्था हुने बेलामा समेत राप्तीको सघन उपचार कक्ष खुल्न सकेको छैन ।’ कारण महामारीमा बिरामीले सघन उपचारको अभाव झेल्नुपर्ने उनले बताए ।

महामारी फैलिँदै जाँदा लक्षण सहितका संक्रमित पनि बढ्दै गएका छन् । उनीहरूका लागि कुनै पनि बेला सघन उपचार आवश्यक पर्ने भएकाले बेलैमा सोच्नुपर्ने उनको भनाइ छ । उनले थपे, ‘अन्यत्र बेडसमेत नपाउने अवस्थामा आयो, दाङमा त्यो नहोला भन्न सकिँदैन ।’

स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा दैनिक एक दर्जन लक्षण सहितका संक्रमित फेला परेका छन् । जसलाई जतिबेला पनि सघन उपचारको आवश्यक पर्न सक्छ । कोरोना विशेष अस्पतालको सघन उपचार कक्षले मात्रै थेग्ने अवस्था छैन । जनस्वास्थ्य कार्यालय दाङमा प्रमुख अंगदबहादुर शाहीले भने, ‘सघन उपचारको खोजी र व्यवस्थापनका लागि पहल गरिरहेका छौं ।’ जसका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार सञ्चालनका लागि आवश्यक निर्देशन समेत कार्यालयले गरेको उनले बताए ।



सरकारले नागरिकको उपचारका लागि लाखौं लगानी गरी प्रतिष्ठानमा सघन उपचार स्थापना गरे पनि प्रतिष्ठानले यो वा त्यो बहानामा सघन उपचार बन्द गर्दा नागरिक राज्यको अनुभूत गर्नबाट वञ्चित हुनुपरेको कोरोना विशेष अस्पतालका चिकित्सकको छ । 

‘न बजेट, न जनशक्ति’ कसरी चल्छ ?



सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पूरै बेवास्ता गरेको छ । न बजेट दिन्छ, न जनशक्ति व्यवस्थापन छ, चल्न पनि मुस्किल छ । सघन उपचार बाहेकको सेवा प्रतिष्ठानले पुर्‍याएकै छ । बजेट र जनशक्तिबिना सघन उपचार कक्ष कसरी चल्छ र ?’ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. सागर पन्थीले भने, ‘सरकारले न सहयोग गर्छ, न सहकार्य, कसरी सेवा दिने ?’ जसका कारण आइसियु कक्ष सञ्चालनको अवस्थामा रहे पनि सञ्चालन हुन नसकेको उनले बताए । उनले थपे, ‘महामारीसँग लडिरहेको छौं, लड्न प्रतिष्ठानसँगै हतियार छ, तर चलाउने ताकत छैन ।’

  • प्रकाशित मिति : कात्तिक २, २०७७ आइतबार १७:२३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया