विद्युत् प्राधिकरणको लापरबाहीका कारण विद्यार्थी मानसिक तनावमा

अनलाइन कक्षामा सहभागी हुँदै आएकी सूर्यविनायक–२ बालकोटस्थित माउण्ट भ्यू इङ्लिस स्कुलकी १० कक्षाकी छात्रा दिप्सोना गिरीको परीक्षा नै छुट्यो । 
दिउँसो २ बजे विद्युत् प्राधिकरण थिमि शाखाले विनासूचना विद्युत् लाइन काटेपछि परीक्षा दिँदै गरेकी छात्राको परीक्षा नै अड्कियो । 

हतारहतार मोबाइलबाट डाटा चलाउन खोज्दा पैसा काटियो, तर डाटा स्लो हुँदा उनको आधा परीक्षा छुट्यो । ४ बजे विद्युत् आएपछि हतार–हतारमा परीक्षामा बसेकी उनको समय सकिएको जानकारी गराउँदै स्कुलले परीक्षा रोकिदियो ।
    
चार दिनदेखि अनलाइन माध्यमबाट परीक्षा सुरु गरेको विद्यालयले आपत्कालीन अवस्थाका लागि अतिरिक्त व्यवस्था नगर्दा परीक्षा छुटेपछि छात्रा गिरी मात्रै होइन, धेरै विद्यार्थी मानसिक तनावमा परेका छन् । विद्यालयलाई विद्युत् गएर परीक्षा रोकिएको जानकारी गराउँदा सिस्टममै निर्धारित समयभन्दा बढी गए आफैँ काटिने भएकाले विद्युत् गए पनि परीक्षामा सहभागी हुन नपाउने जवाफ दिएको अभिभावक बताउँछन् । 
    
यो एउटा उदाहरण मात्रै हो, अचेल अनलाइन कक्षाका बहानामा विद्यालयलाई शुल्क उठाउन सजिलो भए पनि इन्टरनेट प्रदायक कम्पनी र विद्युत् प्राधिकरणको लापरवाहीका कारण अनलाइन कक्षामा सहभागी अधिकांश विद्यार्थी मानसिक तनावमा परेका छन् । कक्षा लिँदा होस् वा परीक्षा दिँदा बेलाबेलामा झ्याप्प–झ्याप्प विद्युत् प्रवाह बन्द हुने र जुनसुकै कम्पनीका इन्टरनेट पनि अति स्लो हुने गर्दा अनलाइन कक्षामा अध्ययनरत विद्यार्थी थप मानसिक तनावमा परेका छन् । 
    
कक्षा १० मा अध्ययन गर्दै गरेका मध्यपुरथिमी कौशलटारका आयुष शर्माका पिता रामेश्वर शर्माले बेलाबेलामा विद्युत् आपूर्ति बन्द हुने र इन्टरनेट अति स्लो हुने भएकाले विद्यार्थीको पढाइ प्रभावकारी नभएको बताए । पछिल्लो समयमा विद्यालयले पूरा शुल्क लिने तर विद्यार्थीले सहज पढ्न नपाउने समस्या र गुनासो सबै अभिभावकसँग भएको उनको भनाइ छ । अनलाइन कक्षा सञ्चालन भएका विद्यार्थीका अधिकांश घरमा कुनै न कुनै कम्पनीका ४० देखि ६० एमबीसम्मका इन्टरनेट राखे पनि सबैले इन्टरनेट स्लो हुने गरेको गुनासो गर्ने गरेको बताउँछन् । 
    
इन्टरनेट कम्पनीले शुल्कअनुसारको सेवा नदिएर ठगी गर्दा पनि कारवाही नहुनु विडम्बना भएको बताउँछन्, उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापा । ‘ठगी गर्नेलाई कारबाहीमा ल्याउनु सरकारको दायित्व हो, तर सरकारको यसमा ध्यान जान सकेको छैन,’ उनले भने ।
    
मध्यपुरथिमी नगरपालिका– १ लोकन्थलीकी सुरुची कार्कीको गुनासो पनि उस्तै छ । कक्षा १० मा अध्ययनरत उनी बेला–बेलामा झ्याप्प–झ्याप्प जाने बत्ती र अति स्लो हुने इन्टरनेटका कारण पढाई प्रभावकारी नभएको बताउँछिन् । उनी भन्छिन्, ‘अनलाइन कक्षाका लागि नयाँ ल्यापटप ल्याइयो, घरमा ६० एमबीको इन्टरनेट जोडियो, केही दिन त ठिकै थियो, अहिले त बेलाबेलामा बत्ती जाने र इन्टरनेट अति स्लो हुने गर्दा पढ्नै सकिएन, खै कसरी एसइई परीक्षा दिन सकिएला ?’
    
विशेषगरी कक्षा १० मा अध्ययनरत विद्यार्थी पछिल्लो समयमा निकै मानसिक तनावमा परेका छन् । सरकारले एसइईको परीक्षा कसरी सञ्चालन गर्ने हो भन्ने टुंगो लागेको छैन, अनलाइन कक्षाका नाममा विद्यालयले वैशाखदेखि साउनसम्मको आधा शुल्क र साउनदेखि पूरै शुल्क लिएर अनलाइनबाट पढाइरहेका छन्, तर पढाइ प्रभावकारी नहुँदा विद्यार्थी मारमा छन् । 
    
अनलाइनमा पढ्दा कहिले सर्भर ह्याङ हुने समस्या त छँदै छ, अधिकांश विद्यार्थी र अभिभावकको गुनासो पढाइको गुणस्तरीयतामा पनि कमी आएको छ । अधिकांश विद्यालयका अनलाइन कक्षामा एउटै विषयमा फरक दिनमा फरक शिक्षक आउने भए पनि विद्यार्थी झन् अन्योलमा पर्ने गरेको अभिभावकदेखि विद्यार्थीसम्मको गुनासो छ । 
    
विद्यालयले तलब नदिएकै कारण धेरै विद्यालयका शिक्षकले छाडेपछि अचेल अधिकांश विद्यालयले एउटै शिक्षकबाट फरक–फरक विषयको अध्यापन गराइरहेका छन् । सरकारले अनलाइन कक्षाको नियमन नगर्दा, स्थानीय सरकारले बेवास्ता गर्दा र अभिभावक संघले चासो नदिँदा शुल्क उठाउन पाएपछि विद्यालय सञ्चालक शान्त बने पनि विद्यार्थी र अभिभावक भने सधैँ तनावमा रहने गरेका छन् ।





  • प्रकाशित मिति : कात्तिक ३, २०७७ साेमबार १६:२९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया