मंसिर १५ गते सबै स्थानीय तहमा अस्पताल भवनको शिलान्यास गर्ने अर्थ र स्वास्थ्य मन्त्रालयबीच सहमति

सरकारले सबै स्थानीय तहमा निर्माण गर्न लागेको अस्पताल भवनको शिलान्यास आगामी मंसिर १५ गते एकैसाथ गर्ने भएको छ ।

गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्नका लागि सबै स्थानीय तहमा ५ देखि १५ शय्या सम्मको आधारभूत अस्पताल स्थापना गर्ने नीतिअनुरुप अर्थमन्त्राल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच एकैपटक भवन शिलान्यास गर्ने सहमति भएको हो । 

अर्थमन्त्री विष्णु प्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको समुपस्थितिमा दुवै मन्त्रालयका पदाधिकारीबीच भएको बैठकमा यस्तो सहमति भएको अर्थमन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले बताए । सरकारले मुलुकभर एकैपटक ३ सय ७६ स्वास्थ्य केन्द्र र प्राथमिक स्वास्थ्य चौकी निर्माण गर्ने महत्वाकांक्षी योजना अगाडि सारेको छ । 

एकीकृत योजनाअन्तर्गत प्रादेशिक र संघीय अस्पतालसमेत रहेका छन् । मन्त्रालयले १ हजार २ सय थान भेन्टिलेटर, ३ हजार ५ सय थान हाई डिफेडेन्सी युनिट र ३ हजार थान आइसियूको प्रबन्ध गर्न बजेटको व्यवस्था गर्ने भएको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने आइसियू, एचडियू, भेन्टिलेटरलगायत मेसिन उपकरण तत्काल खरिद गर्ने सहमति भएको अर्थमन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका छन् । कार्ययोजना बमोजिमको खरिद प्रक्रिया स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अगाडि बढाउने र त्यसका लागि आर्थिक स्रोतको व्यवस्थापन अर्थमन्त्रालयले मिलाउने सहमति भएको छ । यस्तै, कोभिड खोप सेवाको आपूर्ति सुनिश्चित गर्न आवश्यक कूटनीतिक र अन्य पहल अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा अगाडि बढाउने भएको छ । 

यसबाहेक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को विरुद्ध विकास हुने खोपलगायत आपतकालीन औषधिको प्रयोगलाई व्यवस्थित गर्न मौजुदा औषधि ऐनमा सामयिक संशोधन गर्ने प्रक्रिया अगाडि बढाउने सहमति समेत दुई मन्त्रालयबीच भएको छ ।





  • प्रकाशित मिति : कात्तिक ३, २०७७ साेमबार १६:४८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया