‘बिआरआई शान्ति स्थायित्व र विकासका लागि महत्त्वपूर्ण’

पूर्व प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले शान्ति, स्थायित्व र विकासका लागि चीनले अघि सारेको बिआरआई परियोजना महत्त्वपूर्ण हुने बताएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागले मंगलबार आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शान्ति, स्थायित्व र विकासका लागि बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजना महत्त्वपूर्ण हुने बताएका हुन् ।

बिआरआई परियोजनाबाट चीन र नेपाल दुवै देशले फाइदा लिन सक्ने भएकाले यसलाई आफूले महत्त्वपूर्ण अवसरका रुपमा लिएको समेत अध्यक्ष प्रचण्डले बताए । यस्तै गत वर्ष चिनियाँ राष्ट्रपति सिचिनफिङको नेपाल भ्रमणमा भएका सम्झौताले पनि दुई देशको भावनालाई समेटेको उनले भनाइ थियो । 

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बिआरआईले यस क्षेत्रको नवीनता, उत्पादकत्व र प्रगतिका लागि महत्त्वपूर्ण हुने बताए । बीआरआई परियोजनाले दुई देशबीच वित्तीय एकीकरण र नीति समन्वयका लागि काम गर्ने विश्वास समेत व्यक्त गरे ।

त्यस्तै बिआरआईले नेपाललाई विश्वव्यापी मूल्य शृङ्खलामा पहुँच पुर्‍याउन सघाउ पुग्ने समेत पूर्वप्रधानमन्त्री भट्टराईले बताए । बिआरआईका ९ वटा आयोजना अन्तर्गत ट्रान्स–हिमालयन कनेक्टिभिटिले नेपाली नागरिकलाई सबैभन्दा बढी आकर्षित गरेको समेत उनले बताए । यसले नेपालको भूराजनीतिक परिवर्तनमा महत्त्वपूर्ण हुने पनि उनले बताए ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालले बेल्ट एन्ड रोड  परियोजना अन्तर्गत छनोट गरेका ९ वटा आयोजनालाई छिट्टै अन्तिम रुप दिएर कार्यान्वयनमा जानुपर्ने बताए । यस्तै नेपालले अघि सारेको ‘समृद्ध नेपाल सुखि नेपाली’ अभियानलाई सार्थक बनाउन समेत बिआरआई परियोजना महत्त्वपूर्ण हुने उनले बताए । 



कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभाग मन्त्री सोङ ताओ, चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत कमिटीका सेक्रेटरी वु यिंगजी लगायतले सम्बोधन गरेका थिए । चिनियाँ राष्ट्रपति सिचिनफिङको नेपाल भ्रमणको वार्षिकोत्सवको अवसर पारेर चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागले ‘चीन–नेपाल बेल्ट एन्ड रोड को–अपरेसनमा राजनीतिक दलहरूको प्रथम संयुक्त परामर्श सम्मेलन’ आयोजना गरेको हो । 



  • प्रकाशित मिति : कात्तिक ४, २०७७ मंगलबार १७:१६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया