सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । ओली र नेपालबीच बालुवाटारमा भेटवार्ता भएको हो । लामो समयपछि भेट गरेका दुई नेताबीच करिब ३ घन्टा कुराकानी भएको थियो ।
भेटमा नेता नेपालले पार्टी स्थायी कमिटी बैठकका निर्णय अलपत्र परेको भन्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई प्रश्न गरेका थिए । साथै, उनले पार्टीभित्र जिम्मेवारी प्रदान गर्ने सम्बन्धमा स्पष्ट मापदण्ड बनाउन ओलीलाई आग्रह गरेका छन् ।
‘पार्टीभित्र कसलाई र कसरी जिम्मेवारी दिने भन्ने सन्दर्भमा स्पष्ट मापदण्ड बनाउनुहोस्, वरिष्ठता, योग्यता र क्षमताको वास्तविक मूल्याङ्कन गर्नुहोस्,’ नेपाल नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘आफ्ना मान्छे नभनेर सबैलाई समुचित न्याय गर्नुहोस् । पार्टीले सबैलाई न्याय गर्नुपर्छ ।’
नेता नेपालले प्रधानमन्त्रीले कार्यशैली सच्याएर सबैलाई न्याय गरे मात्रै साथ र सहयोग रहने जवाफ दिएका थिए । छलफलमा प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई सहकार्यको प्रस्तावसमेत गरेको स्रोतको दाबी छ ।
प्रधानमन्त्री ओली र नेता नेपालबीच पछिल्लो साउन ९ गतेयता भेटघाट भएको थिएन । त्यतिबेला पनि प्रधानमन्त्रीले चैतको महाधिवेशनपछि पार्टीको नेतृत्व लिने गरी सहकार्यको प्रस्ताव गरेका थिए ।
त्यतिबेला अप्ठ्यारोमा परेका ओलीले दीर्घकालीन सहकार्य गरौं, महाधिवेशनपछि नेतृत्व लिनुहोला भनेका थिए । आजको भेटमा सहकार्यबारे मूर्त कुराकानी भने नभएको स्रोतको भनाइ छ ।
ओलीको सहकार्य गर्ने कुराको जवाफमा नेता नेपालले तपाईंले नबोलाई आउने कुरा भएन भन्दै जवाफ फर्काएको नेपालनिकट स्रोतले बतायो । भेटमा सरकार र पार्टी सञ्चालनबारे बाहिर प्रश्न उठेको भन्दै नेता नेपालले असन्तुष्टि जनाएका थिए ।
‘सरकारको कार्यशैलीबाट जनता पटक्कै खुसी छैनन्,’ उनले भनेका थिए, ‘बाहिर धेरै आलोचना भइरहेको छ । जनता खुसी होऊन्, देश राम्ररी अगाडि बढोस्, सरकारले राम्रो काम गरोस्, पार्टीको प्रतिष्ठा बढोस् भन्ने मेरो चाहना हो ।’ नेता नेपालले सरकारको काम कारबाहीलाई लिएर बाहिर धेरै आलोचना भइरहेको भन्दै त्यसलाई सच्याउन ओलीलाई आग्रह गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।