नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यमा यतिबेला विधानसभा निर्वाचनको माहोल छ। मत आफ्नो पक्षमा पार्न दलहरु जोडतोडका साथ लागिरहेका छन्।
यसै बीच भारतको सत्तारुढ दल भारतीय जनता पार्टीले आज आफ्नो चुनावी घोषणापत्र जारी गरेको छ। पटनामा आयोजित चुनावी घोषणापत्रमा भाजपा बिहारका नेतादेखि केन्द्रीय मन्त्रीहरुको उपस्थिति थियो। केन्द्र सरकारकी अर्थमन्त्री निर्मला सीतारमणको अगुवाईमा आज बिहान चुनावी घोषणापत्र सार्वजनिक गरियो।
कार्यक्रममा केन्द्रीय गृह राज्य मन्त्री नित्यानन्द राय, केन्द्रीय मन्त्री अश्विनी चौबे, बिहार सरकारका कृषि मन्त्री प्रेम कुमार, लगायतको उपस्थिति थियो।
घोषणा पत्रमा भाजपाले भारतका १९ लाख युवाहरुलाई रोजगार दिनेदेखि बिहारमा कोरोनाविरुद्धको भ्याक्सिन निशुल्क वितरण गर्नेसम्मका आश्वासन दिएको छ। अहिलेको गठबन्धन सरकारले अगाडी बढाएका विकासका कामलाई निरन्तरता दिने पनि घोषणा पत्रमा उल्लेख गरेको छ।
‘जब कोभिड–१९ को भ्याक्सिन उत्पादन हुन्छ र आम व्यक्तिका लागि प्रयोगमा आउँछ छिटो भन्दा छिटो बिहारका हरेक जनताले निशुल्क पाउने छन्।’ अर्थमन्त्री सीतारमणले भनिन् ,‘यो हाम्रो घोषणपत्रको पहिलो प्रतिवद्धता हो।’
यसबाहेक बिहारमा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई मजबुद बनाउने, हिन्दी भाषामा शिक्षाको प्रबन्ध गर्ने लगायतका प्रतिवद्धताहरु भाजपाले आफ्नो घोषण पत्रमा सामेल गरेको छ।
बिहारको विधानसभाका लागि अक्टोबर २८, नोभेम्बर ३ र ७ मा निर्वाचन हुँदैछ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।