‘दसैं सुरु भयो कि, गाउँ जाने मालश्री बजाउने, दानपुण्य लिने चलन थियो । मालश्री धुनले गाउँमा दसैं भित्रिएको जनाउ गर्थ्यो, हाम्रा घरमा अन्नपात भित्रिन्थ्यो, अहिले न मालश्री बज्छ, न अन्नपात भित्रिन्छ’, घोराही उपमहानगरपालिका ११ नयाँ बस्तीका ड्राइभर गन्धर्वले भने, ‘गाउँमा बज्छ छोडिसक्यो मालश्री ।’
गन्धर्वहरुको सारङ्गी हराउँदै जाँदा मालश्री पनि हराउँदै गइरहेको छ । उनले थपे, ‘बुढाहरूमा आफ्नो पुर्ख्यौली पेसाप्रति अझै स्नेह छ र बजाउँछन्, तन्नेरी लाज मान्छन् । पुस्तान्तरण नहुँदा गन्धर्व पेसा संकटमा पारिरहेको छ ।’ बुढा पुरानाले कहीँ कतै सारङ्गी भिर्ने र मालश्री बजाउने गरे पनि नयाँ पुस्तामा सारङ्गीको खोजी र मालश्री धुनको रोजाइ हराउँदै गएको उनले बताए ।
घोराही उपमहानगरपालिका ११ नयाँ बस्तीमा ७५ घरधुरी गन्धर्व जातिको बसोबास छ । उनीहरूको मुख्य पेसा नै सारङ्गी बजाउने हो । तर, सारङ्गी पेसाको सामाजिक सम्मान र उचित मूल्यको अभावका कारण युवाहरू सारङ्गी छोडी ज्याला मजदुरी रोजिरहेका छन् । सारङ्गी मौलिक लोक बाजा रहे पनि जातीय सिपको नजरले हेरिँदा सारङ्गी वाद्यवादन पुस्तान्तरण हुन सकेको छैन । जसका कारण सारङ्गी लोपोन्मुख अवस्थामा पुगेको छ ।
गन्धर्व भन्छन्
‘ढोकामा पुग्यो धुन बजायो, दुर्गा गायो, सुनायो, दान दिँदा गाइने लैजाउ भन्छन्, भाइ, दाइको साइनो कसैले लगाउँदैनन् । गन्धर्व हौं, तर गाउने भएर होला गाइने भन्छन् मन खिन्न हुन्छ । बाको पछि–पछि गाउँ डुल्दा बजाउन सिकिसकेको थिएँ । गाइनेभन्दा मन खिन्न भयो, माग्दै हिँड्दा लाज लाग्यो बरु मजदुर–लेबरै ठिक भनेर त्यो पेसा छोडें । बाबु–बाजेले गर्दै आएको सिप छोड्दा चित्त दुख्यो, नछोड्दा पनि उत्तिकै दुख्थ्यो’, स्थानीय २८ वर्षीय विनोद गन्धर्वले भने, ‘गाउँदै बजाउँदै कलाकार हुने मन थियो, गाइने शब्दले लेबर बनायो ।’
सामाजिक सम्मान पाउन नसक्दा सारङ्गी छोड्नुपर्ने गन्धर्व समुदायका युवाको बाध्यता हो । जसका कारण युवाले सारङ्गी अंगाल्न नसकेको उनले सुनाए ।
खै संरक्षण ?
‘सारङ्गीलाई नेपालको मौलिक बाजा मानिन्छ, तर राज्यले यसको संरक्षण गर्न नसक्दा लोप हुँदै गइरहेको छ । न राज्यले गन्धर्व समुदायको कला सिपको संरक्षण गर्न सकेको छ । न लगानी गर्न सकेको छ । जसका कारण सारङ्गीमा बाँचिरहेका गन्धर्वको जीवन दयनीय अवस्थामा चलिरहेको छ’, स्थानीय मोतिलाल गन्धर्वले भने, ‘गन्धर्वका लागि राज्य छैन । जसका कारण सिप पनि मरिरहेको छ ।’
‘बाँच्नै मुस्किल छ’
‘न सिप बाँचेको छ, न जीवन चलेको छ । सारङ्गी गन्धर्वका कोखबाट हराइसकेका छन् । जानेको सिप मूल्य नै छैन । अरु सिप केही छैन । न छोरा छोरीले पढ्न पाएका छन् । सारङ्गी सिप कसैले खोज्दैनन् । ऐलानी जग्गा, झुप्राको बासमा गन्धर्वहरू बाँचिरहेका छौं’, स्थानीय कमला गन्धर्वले भनिन्, ‘सरकारले कामकाज दिए सजिलो गरी जीवन चल्थ्यो कि भन्नेछ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।