‘पुँजीगत खर्चको कमजोर अवस्था सुधार्न नीतिगत प्रबन्ध सच्याउनुपर्ने’

अर्थमन्त्री विष्णु पौडेलले पुँजीगत खर्चको कमजोर अवस्था सुधार गर्न नीतिगत प्रबन्धहरुलाई सच्याउनुपर्ने बताएका छन् । 

कतिपय कानुनी प्रबन्धहरुका कारण पुँजीगत खर्च कमजोर अवस्थामा रहेकाले त्यस्ता कानुनहरूलाई सुधार गर्नुपर्ने आवस्यकता रहेको अर्थमन्त्री पौडेलले बताएका हुन्  । उनले कतिपय कानुनी नियमगत प्रबन्धहरु अथवा अरु चिजहरूका कारण पुँजीगत खर्चमा बाधा सिर्जना गरेकाले त्यस्ता चिजहरूमा सुधार गर्दै पुँजीगत खर्चलाई बढाउने योजनामा आफू रहेको बताए ।

यस्तै वर्तमान अवस्थमा कोभिडले सिर्जना गरेको चुनौतीलाई समाना गर्दै कुनै पनि आयोजनालाई निरन्तरता दिई खर्च बढाउने रणनीतिमा आफू रहेको अर्थमन्त्री पौडेलले बताए । उनले भने,  ‘अहिले अपेक्षित मात्रामा पुँजीगत खर्च हुन नसकिरहेको जुन अवस्था छ यो अवस्थामा सुधार ल्याउनका लागि हामीले कोरोनाले सिर्जना गरेका चुनौतीलाई सामना गर्ने अलग्गै योजना बनाउनुपर्छ ।

त्यसबाहेक हाम्रा कतिपय कानुनी प्रबन्धहरु छन् वा अरु चिजहरू जसले पुँजीगत खर्चमा बाधा सिर्जना गरिरहेको छ भने ती चिजहरूमा पनि हामी समग्रतामा समीक्षा गर्छौं र आवश्यक निर्णय लिँदै अगाडि बढ्छौँ र पुँजीगत खर्चको कमजोर अवस्थामा पनि हामी उल्लेख्य सुधार ल्याउँछौँ ।’

राजस्व परिचालनको पाटो पनि अहिलेको परिस्थितिमा चुनौतीपूर्ण रहेको अर्थमन्त्री पौडेलले बताए । बन्दाबन्दीका कारण आर्थिक क्रियाकलापमा संकुचनको अवस्था देखा परेको र त्यसले उत्पादन, बजार र आम्दानीमा प्रभाव पारेकाले राजस्व संकलनमा चुनौती थपिएको बताए । तर पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा भएको राजस्व संकलनको स्थिति अनुसार लक्ष्यको नजिक पुग्ने सम्भावना देखिएको पौडेलले बताए ।

उनले भने,  ‘अहिले सम्मको स्थिति हेर्दा के देख्छौं भने राजस्व परिचालनको पाटो हाम्रा निम्ति अलिकति चुनौतीपूर्ण बनेर देखा परेको छ । बीचमा बन्दाबन्दीको अवस्था पनि रह्यो । आर्थिक क्रियाकलापमा धेरै संकुचनको अवस्था देखा पर्‍यो । त्यसको प्रभाव उत्पादनमा, बजारमा र रेभिन्युमा पनि परेको कुरा सत्य हो । अहिले पहिलो त्रैमासिकको अवस्थालाई विश्लेषण गर्दा हामी राजस्वको लक्ष्य नजिक छौं । हामी बाँकी समयावधिलाई स्वास्थ्य सतर्कता अपनाउँदै उत्पादनका क्रियाकलापहरुमा जोड दिने रोजगारी प्रवर्धनमा जोड दिने र आर्थिक क्षेत्रको संकुचन हटाउन पहल गर्ने तयारीमा छौं । त्यस हिसाबले हेर्दा हामी आर्थिक वर्षको अन्त्यसम्म पुग्दा सम्भवतः राजस्वको लक्ष्य पूरा गरौंला या धेरै नजिक पुगौँला भन्ने पूर्वानुमानमा छौं ।’



यस्तै सरकार र राज्यका विभिन्न निकायहरुको खर्चको सम्बन्धमा मितव्ययिता अपनाउने विषयमा आफ्नो ध्यान केन्द्रित भएको पनि अर्थमन्त्री पौडेलले बताए । सरकारका खर्चहरूमा मितव्ययिता कायम गर्ने, अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने लगायतको विषयमा आफू रणनीतिक रुपमा अगाडि बढ्ने तयारीमा रहेको पनि उनले स्पष्ट पारे ।



  • प्रकाशित मिति : कात्तिक ८, २०७७ शनिबार १८:५९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया