प्रधानमन्त्री ओलीको संकेत– जुनसुकै बेला फुट्न सक्छ नेकपा

पछिल्लो समय मत्थर होला भन्ने सोचिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद अब केन्द्रमा मात्र सिमित भएको छैन । यो विवाद विस्तारै तल्ला संगठनहरुमा मात्र होइन, जिल्लाजिल्लामा पनि देखिन थालिएको छ । 

नेकपा विवादको यही श्रृङ्खला केही दिनअघि पर्सामा देखियो । पर्सामा नेकपाका दुई गुटका कार्यकर्ताबीच झडप हुँदा एक जनाले ज्यानै पनि गुमाए । त्यसअघि कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव ल्याउने प्रक्रिया सुरु गर्नुले पनि नेकपामा देखिएको विवाद कुन तहसम्म पुगेको छ भन्ने संकेत गरेको छ । 

अब दशैं लगत्तै बागमती प्रदेशमा पनि मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा नेकपाकै नेताहरु छन् । यससम्बन्धी फरकधारको यो समाचार पढ्नुहोस्ः बागमतीमा पनि मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको तयारी

एकातिर, नेकपाको केन्द्रमा देखिएको यो विवाद अब विस्तारै जिल्ला र प्रदेशहरुमा छिर्न थालेको छ भने अर्कोतिर नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै पार्टीका नेताको आलोचनाका कारण ‘आत्तिएको’ महसुस गर्न थालेका छन् । 

पछिल्लो पटक नेपाल आएका भारतीय खुफिया एजेन्सी रअका प्रमुख सामन्तकुमार गोयलसँग गोप्य भेटघाट गरेपछि प्रधानमन्त्री ओलीविरुद्ध नेकपाकै प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत अलोचनात्मक अभिव्यक्ति दिएका छन् । ‘रअ’ प्रमुखसँगको यो भेटलाई विपक्षी दलका नेताहरुले समेत निकै आक्रामक रुपमा टिप्पणी गरेका छन् । 

यहीबीच प्रधानमन्त्री ओलीविरुद्ध मिलेर थप संघर्षका कार्यक्रम गर्ने नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल तयार भएका छन् । ‘उहाँले पछिल्लो समय नेकपा विवाद समाधान गर्न बनेको कार्यदलले दिएका सुझावलाई बेवास्ता गर्नुभएको जगजाहेर छ,’ स्रोतको दाबी छ, ‘त्यसैले पार्टीलाई र जनतालाई सरकारले काम गरेको छ भन्ने आभास दिन ओलीलाई थप सचेत बनाउन अहिले आवश्यक भएको हो ।’



यता, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दशैंको छेकोमा भेटेका विभिन्न नेता तथा सांसदहरुलाई आफूमाथि ‘अतिचार’ गरिएको अभिव्यक्ति दिन थालेका छन् । 

दशैंको शुभकामना आदनप्रदान गर्ने हेतुले बालुवाटार पुगेका आफूनिकट नेताहरुलाई प्रधानमन्त्री ओलीले अब पार्टी फुटे पनि आश्चर्य नमान्न र त्यसका लागि तयार रहन बताउन थालेका छन् । 



‘सरकारमा रहेर विभिन्न काम गर्ने मनासय नभएको होइन, तर पार्टीकै नेताहरुले मलाई काम गर्न दिनुभएन,’ प्रधानमन्त्री ओलीसँगको भेटपछि एक नेकपा सांसदले फरकधारलाई बताए, ‘यस्तो अवस्थामा सरकारले काम गर्न कसरी सक्नु ?’

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय सबैभन्दा बढी रुष्ट बनेका छन्, नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग । त्यसो त नेपाल र ओलीको सम्बन्ध पछिल्ला दुई दशकमा कहिल्यै सुमधुर हुन सकेको छैन । यसको उदाहरणका रुपमा प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर जाँदाको प्रसंगलाई नै लिन सकिन्छ । उनी सिंगापुर प्रस्थान गर्नुअघिको साँझ नेपालले उनलाई स्वास्थ्य लाभको कामना गरेका थिए । तर, त्यो बैठकमा प्रधानमन्त्री ओलीले नेपाललाई त्यो कामना आफूलाई आवश्यक नभएको जवाफ दिएका थिए । 

‘उहाँले वर्षौ पार्टीको महासचिव भएर नेतृत्व गर्न हुने, अहिले म अध्यक्ष हुँदा उहाँले देखि नसहने ?’ प्रधानमन्त्री ओलीले पछिल्लो समय आफूनिकट नेताहरुलाई भन्न थालेका छन्, ‘असहयोग गर्ने हद पनि अब पार गरिसकेको छ, यसले पार्टीलाई एक हुनबाट रोक्ने संकेत देखिएको छ ।’

‘पार्टीबाट वास्तवमै आफूलाई असहयोग भएको आभास पछिल्लो समय प्रधानमन्त्रीज्यूले गर्नु भएको छ,’ ओलीलाई भेटेर फर्किएपछि एक नेकपा सांसदले फरकधारलाई बताए, ‘यसले गर्दा अब ठूलो दुर्घटना हुने सम्भावना बढेको हो ।’

पछिल्लो समय कर्णाली विवादमा नेकपाका दुई अध्यक्षका आएका दुई फरक फरक विज्ञप्तिले पनि यो पार्टीको विवाद कति गम्भीर मोडमा पुगेको छ भन्ने संकेत गरेको छ ।

‘कर्णाली विवादमा प्रचण्ड र नेपालको मुभका कारण पनि हुनसक्छ, प्रधानमन्त्री ओली अब वार कि पार गर्ने मनासयमा रहेको मैले बुझेँ,’ ओलीसँगको भेटपछि नेकपाका ती सांसदले भने, ‘उहाँले पनि डिप्लोमेटिक वेमा जे पनि हुनसक्ने भन्दै तयार रहन अनुरोध फेरि गर्न थाल्नु भएको छ ।’

  • प्रकाशित मिति : कात्तिक ११, २०७७ मंगलबार १७:२८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया