‘पर्यटन क्षेत्रका ११ लाख जनशक्तिका लागि तत्काल कोष परिचालन गरौं’
दीपकराज जोशी
फरकधार / ११ कात्तिक, २०७७

कोरोनाको महामारीका कारण सबैभन्दा बढी पर्यटन उद्योग प्रभावित भएको छ ।  पछिल्ला महिना बजार खुले पनि पर्यटन उद्योग चलायमान हुनै सकेको छैन । पर्यटन भनेकै एक जना व्यक्ति एक ठाउँबाट अर्को ठाउँमा गएपछि मात्रै चल्ने भएकाले अहिले मानिसहरू त्रासमा हुँदा पर्यटन चलायमान हुन नसकेको हो ।

यद्यपि यो क्षेत्रमा रहेका कयौं व्यवसायी, कर्मचारी, मजदुरहरूको दैनिकीलाई ख्याल गरेर पछिल्लो महिनामा हामीले आन्तरिक पर्यटनलाई प्रवर्धन गर्ने कार्यक्रमहरू ल्याएका छौं । सरकारले पनि आन्तरिक ‘मुभमेन्ट’ लाई बढावा दिइरहेको छ । यसले पर्यटन क्षेत्रमा आशाको सञ्चार गराएको छ ।

अहिले पर्यटन क्षेत्रमा भएको क्षति निकै ठूलो छ । सामान्य आँकलन गर्दा पनि सन् २०१९ मा नेपालमा १२ लाख पर्यटक आएका थिए । औसतमा नेपालमा १२ दिन बसेका ती पर्यटकले प्रतिदिन ५० डलर खर्च गरेको हिसाब हामीसँग छ । 

यो वर्ष सन् २०२० को अगस्ट सम्ममा २ लाख १५ हजार पर्यटक नेपाल भित्रिएका छन् । त्यसपछि पूर्ण रूपमा ठप्प छौं । यो हिसाबले आगमन संख्या र आम्दानीमा ८० प्रतिशत कमी आउने देखिएको छ ।

त्यसैगरी पर्यटन क्षेत्रका साढे ३ लाख प्रत्यक्ष, साढे २ लाख जति अप्रत्यक्ष र बाँकी ६ लाख जति ‘सप्लाइ चेन’ मा काम गर्नेहरू गरी ११ लाख जनशक्तिहरूमध्ये अधिकांश बेरोजगार बनेका छन् ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर सरकार र निजी क्षेत्रले उत्साहित भएर ठूलो लगानी पनि गरेका थिए । नेपाललाई संवृद्ध बनाउने क्षेत्र पर्यटन नै हो भनेर सरकारले पनि पर्यटन प्रवर्धनमा जोड दिइरहेको थियो । पछिल्ला वर्षमा गरिएका यस्तै लगानीले पर्यटन क्षेत्रको पूर्वाधार निर्माणमा पनि सुधार हुँदै गएको थियो । पर्यटन क्षेत्रको स्तरोन्नति पनि राम्रैसँग भइरहेको थियो । आन्तरिक विमानस्थलको सुधार भइरहेको थियो । यति मात्रै होइन पर्यटन क्षेत्रभन्दा बाहिरको क्षेत्रले पनि यो वर्ष पर्यटकको आगमनमा बढ्ने अनुमान गरेर लगानी गरेको थियो । यसरी हेर्दा पर्यटन क्षेत्रमा गरिएको ठूलो लगानी खेर गएको छ ।

सन् २०२० सर्भाइबल २०२१ रिभाइबल र २०२२ थ्राइबल इयर

अहिलेको अवस्था अन्य संकटभन्दा भयानक छ । तर, संकटका बेला आफ्नो क्षेत्रमा ठूलो क्षति नआओस् भन्नका लागि सक्रियता भने बढ्नुपर्ने हुन्छ । यस्तो बेलामा एउटा स्पष्ट रणनीति बनाएर काम गर्नुपर्ने हुन्छ । यस्तो रणनीतिले संकटको समयमा सम्भावना, चुनौती र अवसरका बारेमा अध्ययन गर्न पनि सहज हुन्छ ।

त्यसैले निजी क्षेत्रको प्रत्यक्ष सहभागितामा रहने गरी सरकारी संरक्षणमा पर्यटन पुनरुत्थान कार्यदल गठन गरिएको छ । यो कार्यदलले पर्यटनलाई छिटोभन्दा छिटो लयमा फर्काउन र बचाउनका लागि जहाँ जे जे आवश्यक पर्छ त्यहाँ त्यही काम गर्ने हो ।

अहिले सम्बन्धित निकायका कुरा सुन्ने र बुझ्ने काम भएको छ । मुख्य निकायबीच समन्वय गराउने र सम्बन्धित निकायमा सकारात्मक कुरा सम्प्रेषित गर्ने काम पनि सँगै भइरहेको छ ।

यसैगरी पर्यटन पुनरुत्थानको पहिलो पाइला स्वरूप सरकारले सुरु गरेको आन्तरिक पर्यटनलाई प्रवर्धन गर्ने अभियानमा सुरक्षाका मापदण्ड अपनाएर सक्ने मानिसहरू घुम्न निस्कनुपर्छ भनेर प्रचारप्रसारमा जोड दिएका छौं ।

यो बीचमा हामीले एउटा सर्वेक्षण पनि गरेका थियौं । खासगरी सरकारले बनाएको सुरक्षाको मापदण्ड रेस्टुरेन्ट र यातायात क्षेत्रमा राम्रोसँग लागु हुन सकेको छैन । यसलाई राम्रोसँग लागु गराउनुपर्छ । यसैगरी पर्यटन क्षेत्रको फ्रन्टलाइनमा काम गर्नेहरूलाई एकदमै राम्रोसँग अभियानकै रुपमा तालिम दिनुपर्ने सुझाव दिएका छौं ।

प्रचारप्रसार गरेर मात्रै भएन । यस्तो बेलामा कोही पर्यटक घुम्न निस्कियो र उसमा संक्रमण भइहाल्यो भने के गर्ने, कसले उपचार गरिदिने भन्नेबारे पनि मापदण्ड अथवा बिमाको व्यवस्था गर्न जरुरी छ ।

यो कार्यदल सन् २०२० लाई पर्यटन बचाउने वर्ष (सर्भाइबल इयर) सन् २०२१ लाई पुनरुत्थान वर्ष (रिभाइबल इयर) र सन् २०२२ लाई उन्नति अथवा विकास वर्ष (थ्राइबल इयर) भनेर अगाडि बढ्ने तयारी गर्दैछ ।

अहिलेको अवस्थामा केही गन्तव्य भ्याक्सिन आएपछि वा कोरोना नियन्त्रण भएपछि खुल्ने हिसाबले अगाडि बढेका छन् । केही गन्तव्य सुरक्षाका मापदण्ड अपनाएर खुल्ने तयारी गर्दैछन् ।

नेपाली पर्यटन क्षेत्रमा दोस्रो विकल्प अर्थात् सुरक्षाका मापदण्ड अपनाएर काम गरौं भन्नेहरू बढिरहेका छन् । यस कारण स्वास्थ्य सुरक्षाको प्रत्याभुति हुने वातावरणको सृजना हुनुपर्छ ।

पूर्वतयारी आवश्यक

संकट भन्ने कुरा अनपेक्षित रुपमै आउने चिज हो । यस्ता संकटले तयारी गर्ने मौका दिँदैनन् । यद्यपि बेला–बेला आउने यस्ता संकटका लागि पूर्व तयारी भने गर्नुपर्छ ।

हाम्रो सन्दर्भमा एक पटक संकट आउँछ फेरि बिर्सिने गरेका छौं । हामीले केही वर्ष पहिला मात्रै भूकम्पको विनाश थेगेका थियौं नि तर, त्यो बिर्सिएछौँ । अहिलेको संकट त अझै धेरै डरलाग्दो भएको छ । यसले हामीलाई भविष्यमा आउन सक्ने संकटका लागि केही न केही पूर्व तयारी गर्नुपर्ने रहेछ भनेर नयाँ पाठ सिकाएको छ ।

हाम्रा पूर्व तयारी पुगेकै रहेनछ भन्ने कुरा सबैले बुझ्यौँ ।

कसले के गर्ने त ?

यतिबेला सरकारी र निजी क्षेत्र संयमित हुनुपर्ने छ । यसमा अझै सरकारी क्षेत्रको भूमिका धेरै छ । प्रमुख कुरा स्पष्ट रणनीतिक मापदण्डहरू निजी क्षेत्रलाई दिएर केही अन्योलहरूलाई चिर्न सहयोग गर्नुपर्छ । अर्को कुरा पिसिआर टेस्टलाई सहज बनाउने, पर्यटकहरूलाई क्वारेन्टिन पनि सहज बनाइदिने, सरकारी मापदण्डको पालना भए नभएको नियमित अनुगमन र नियमन गरिदिने लगायतका काम गरी पर्यटन क्षेत्रलाई सहजीकरण गराइदिने काम सरकारले गर्नुपर्छ ।

यसैगरी सरकारले यतिबेला बाह्य पर्यटकहरूलाई नेपाल ल्याउने वातावरणका लागि पनि पहल गर्नुपर्छ ।

निजी क्षेत्रले आफ्ना कामदारहरूलाई सुरक्षित सेवा प्रवाहका लागि तालिम दिने, सेवा प्रवाह हुने क्षेत्रमा सुरक्षाका मापदण्ड राम्रोसँग पालना गराउने र सुरक्षित सेवा प्रवाहका लागि विश्वसनीयता कायम गर्नुपर्छ ।

यसरी दुवै क्षेत्रले आआफ्नो भूमिका निभाउन सके पर्यटनलाई छिटो रिभाइब गर्न सकिन्छ । 

मजदुरको अवस्था

यतिबेला नेपाली पर्यटन क्षेत्रका मजदुरहरूको अवस्था निकै दयनीय छ । हाम्रा अधिकांश मजदुरहरू दैनिक वा मासिक ज्यालादारीका आधारमा जीवन निर्वाह गर्थे । अहिले त्यो नै नभएपछि उनीहरू ठूलो मर्कामा छन् ।

यो विषयमा सरकारी र निजी दुवै क्षेत्र संयमित भएर तत्काल केही गर्नुपर्ने आवश्यकता देखिएको छ ।

हामीसँग भएको रकम पनि परिचालन गर्न सकिन्थ्यो । तर, यो संकटमा पर्यटन क्षेत्रभित्रका सबै मजदुरलाई समेट्न सक्ने गरी राहत दिने नीति नै छैन । ट्रेकिङ क्षेत्रका मजदुरका लागि निजी क्षेत्रमै केही रकम छ । तर, सबै पर्यटन मजदुरलाई  समेट्ने खाले कोष पनि छैन । त्यसकारण हाम्रो सुझाव के छ भने, अहिले हाम्रो भित्रका सबै क्षेत्रको अध्ययनका लागि कार्यदल बनाऔं । त्यसले गरेको अध्ययन र आवश्यकताको प्रतिवेदनका आधारमा सहयोग गर्नुपर्ने निकायले सहयोग गरौं ।  

सरकारले पनि पर्यटन क्षेत्रका लागि ५० अर्बको कोष छुट्टाएको थियो । यसैगरी पर्यटन मन्त्रालयले पनि पर्यटन पुनरुत्थानका लागि केही रकमको व्यवस्था गरेको छ, पर्यटन बोर्डमा पनि केही बजेट छ, अन्य निकायमा पनि केही बजेट छ ।   यसैगरी प्रदेश र स्थानीय तहसँग पनि पर्यटनका लागि बजेट छ । यी सबै बजेटलाई एक कोष बनाएर अहिलेको अवस्थामा जहाँ–जहाँ बढी क्षति छ, जसलाई अहिले राहत दिनुपर्ने हो, त्यहाँ छिटो परिचालन गरौं ।

अहिले अधिकांश स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउनुपर्छ भनेर ठूलो उत्साह बोकेर लागिरहेको पाइएको छ । यसैअनुसार उनीहरूले बजेट पनि छुट्याएका छन् । यो बेलामा केन्द्र वा प्रदेश सरकारले सहजीकरण गरिदिएर केही श्रमिक साथीहरूलाई अध्ययनको काम समेत दिन सकिन्छ । त्यसो हुनसके यस क्षेत्रलाई जीवन्त राख्न सकिन्छ ।

पर्यटन पुनरुत्थान कार्यदलका संयोजक जाेशीसँग फरकधार संवाददाता मनीषा अवस्थीले गरेको कुराकानीमा आधारित

  • प्रकाशित मिति : कात्तिक ११, २०७७ मंगलबार १९:४७:१३,   अन्तिम अपडेट : कात्तिक ११, २०७७ मंगलबार १९:५१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया