दुवै खुट्टा नचल्ने भरत जसलाई सबैभन्दा प्रिय लाग्छ दौड
फरकधार / १२ कात्तिक, २०७७

आजभन्दा २७ वर्षअगाडि । जाजरकोटको एउटा किसान परिवारमा जन्मियो, एउटा छोरो । 

त्यो समाज कस्तो थियो भने छोरो जन्मिँदा हर्षबढाइँ हुन्थ्यो, छरछिमेकलाई बोलाएर भोज खुवाउने चलन थियो । 

तर, भरत बुढा क्षेत्री जन्मिँदा यो सब भएन । 

परिवारको छैटौं सन्तान हुन् भरत । उनका बाबुआमाका लागि त्यति बेला कान्छो छोरा जन्मिँदाको खुसी केहीबेरमै गायब भयो । कारण थियो– भरतका दुवै खुट्टा चलेनन् । 

दुवै खुट्टा नचल्ने छोरा जन्मिएपछि भरतका बाबुले सक्दो उपचारका प्रयास गरे । गाउँले ओखतीमूलो, धामीझाँक्रीमात्र होइन, जाजरकोटको जिल्ला अस्पताल, सुर्खेत र नेपालगन्जका ‘राम्रा’ अस्पतालसम्म भरतको उपचारका लागि लगियो । 

तर, अहँ बीसको उन्नाइस भएन; भरतका खुट्टा जन्मिँदा जसरी कक्रक्क परेका थिए, त्यस्तै रहे; भरतका खुट्टा चल्दैनन् । न झाँक्रीले भनेको कालो बोका र कुखुरा चढाउँदा होस् न चिकित्सकहरुले भनेका औषधी खाँदा नै होस्, जन्मिएको केही वर्षसम्म पनि भरतका खुट्टा चल्दै चलेनन् । 

अन्ततः भरतको परिवारले हार खायो । 

भरतले हार खाए । 

परिवार र भरतले हार खाएपछि रोकियो उनको उपचार प्रक्रिया । उपचार नगर्ने निर्णयमा भरतको परिवार पुग्दा भरत पाँच वर्षका लागिसकेका थिए । 

उपचारले मात्र होइन, अब भरतको आश र भविष्यले पनि उनीसँग हार मानिसकेको थियो । 

झट्ट सुन्दा लाग्दो हो, पाँच वर्षकै उमेरमा मानिसलाई किन र कसरी जीवनसँग हार लाग्दो हो ? 

‘किनकि मलाई घरबाट बाहिर नजा भनिन्थ्यो,’ केही दिनअघि जावलाखेलमा उनकै डेरामा भेटिएका भरतले भने, ‘घरबाट बाहिर गयो भने सबैले थाहा पाउँछन् भन्ने थियो । दाजु दिदी पढ्न स्कुल जान्थे, मलाई पनि उनीहरुको पछाडि लाग्न मन लाग्थ्यो । तर, घरको आँगनबाट तल झरे परिवारकै बदनाम हुन्छ भन्नुहुन्थ्यो बाबुआमा ।’

बदनाम यो अर्थमा कि गाउँलेले थाहा पाउँथे– फलानोको छोरा भरत अपाङ्ग छ ।

आजभन्दा २७ वर्षअघिको हाम्रो समाज कल्पना गर्नुहोस् । हाम्रो समाजमा रहेका कुरीति र अन्धविश्वास सम्झिनुहोस् । हो, त्यही समयमा हुर्किएका हुन्, जाजरकोटमा भरत । त्यही समाजबाट बच्नका लागि हो, उनका बाबुआमाले उनलाई भनेका– घरबाहिर गइस् भने....

बाबुआमा यसो भनेर खेतबारीमा मेलापात गर्न जान्थे । झन्डै तीन चार वर्ष त भरत घरको पिँढीबाट बाहिर निस्किएनन् । तर, जसै उमेर बढ्दै गयो, खुट्टा नचलेका कारण एकै ठाउँमा सिमित भरतको मनले कम्तिमा पनि दाइ दिदी जाने स्कुलसम्म यात्रा गर्न थाल्यो । 

घरको आँगनबाहिर के होला र कस्तो होला भन्ने सोचले उनको मनलाई डोर्‍याउन थाल्यो, उनी आँगनभन्दा पर जान चाहे ।

त्यति बेला भरत आठ वर्ष पुगिसकेका थिए, छिमेकका दामली उनको हात समाउन आइपुगे । 

उपचारबाट हार खाएर फर्किएको आँगनबाट अनि बल्ल बाहिर निस्किन पाए, भरत ।

‘एक दिन घिस्रिएरै म दाइ र दिदीको स्कुलअगाडिसम्म पुगेँ,’ भरतले सम्झिए, ‘तर, स्कुलभित्रै जान सकिनँ, बाबुआमाले बाहिर नजा भन्नुभएको कुरा झल्याँस्स सम्झिएँ ।’

भरतका बाबुआमा आफ्नो छोराको यो अवस्था बाहिर कसैलाई थाहा नहोस् भन्ने चाहन्थे । तर, अब एक कान दुई कान मैदान हुँदै केही परसम्मै भरतको अवस्थाबारे चियोचर्चो हुन थालेको थियो । 

भरतका छिमेकीले भन्न थालेका थिए– अघिल्लो जुनीमा यसले ठूलो पाप गरेको रैछ, अहिले सजाय भोग्यो !

आठ वर्ष पार गर्दानगर्दै यस्ता कुरा भरतले गाउँलेहरुबाट अब दैनिकजसो सुन्न थाले । झन्डै तीन वर्षअघि जसरी उनमा अब आफ्नो उपचार हुन्छ भन्ने आश मरेको थियो, अब बाँच्नुपर्छ भन्ने आश पनि ओइलाउन थाल्यो ।

अनि त्यो कलिलो दिमागमा उनले सोचे– आत्महत्या गर्ने । 

भरतले त्यति बेला आत्महत्याको प्रयास पनि नगरेका होइनन् । सौभाग्य भनौँ कि दुर्भाग्य, जसरी भरतको उपचार गरेर ठमठम हिँड्न बनाउने परिवारको चाह असफल भयो, त्यसरी नै भरतले गरेको आत्महत्याका योजना पनि असफल भए । 

आत्महत्याका ती प्रयास असफल नहुँदा हुन् त भरतले कसरी बुझ्न पाउँदा हुन्, जीवनका उज्याला पाटाहरु ।

हो, उज्यालो यो जीवनमा अँध्यारा पलहरु पनि नहुने होइनन् । यसलाई राम्रोसँग बुझेका छन्, भरतले । त्यसैले त कहिले भावुक हुँदै, कहिले खुसी हुँदै त कहिले उत्साहित हुँदै आफ्नो जीवनका पोया फुकाउन अब तम्तयार भएका छन्, उनी ।

जीवन लामो नदी हो भन्नेहरुका लागि लाग्दो हो– २७ वर्षे जीवनमै के पो सिक्न सकिन्छ र ?

यही जीवनलाई घुम्तीहरुको एउटा यात्रा भन्नेहरुलाई लाग्दो हो– २७ वर्षमा आउने मोडहरुको सिकाइ कहाँ कम हुन्छ र ? 

भरतको जीवनमा पनि ठ्याक्कै यही लागू हुन्छ, उनले आजको दिनसम्म आउँदा जे भोगेका छन्, ती सबैले सायदै कल्पना गर्न सक्छन् । भरतले जे सिकेका छन्, त्यो सिकाइ सायदै कसैले सहजै पाउन सक्छ । भरतले जे गरेका छन्, त्यो सायदै कसैले गर्न सक्ने अनुमान र आँट नै गर्न सक्छन् । 

तर, जीवनका ससाना मोडहरुमा शिक्षा लिँदै अगाडि बढे भरत । 

आठ वर्षसम्म पनि कक्षाकोठाको बेन्चमा बस्न नपाएका भरतका लागि अब उनकै पिढीँ बन्न थाल्यो, कक्षाकोठा । त्यहाँ उनलाई सिकाउन थाले उनका दिदी र दाइले । दाइ दिदीसँग क, ख, ग सिकेका भरतको मनमा अक्षरहरु यति गाढा भएर बसे कि मानौँ कुनै शिलामा एउटा प्रेमीले कुँदेको छ प्रेमिकाको नाम । 

भरतलाई अब अक्षरहरुसँग मोह बस्न थाल्यो । 

संयोग, भरतले केही अक्षरहरु केलाउन मात्र के थालेका थिए, उनका दाइले दशैंको छेकोमा काठमाडौंबाट लगे एउटा पत्रिका । ‘दाइ त्यति बेला पढ्नका लागि काठमाडौं बस्नुहुन्थ्यो’ भरतको अनुहारमा चमक देखियो, उनले हात फैलाए र पत्रिका पढेजस्तो गरे, ‘दाइले एउटा पत्रिका लिएर जानुभएको थियो, त्यसमा एक अपाङ्गता भएका व्यक्तिको चित्रकथा थियो ।’

त्यो चित्रकथा पढ्नुअघि भरतको मन आँगनको डिलबाट केही परसम्म मात्र यात्रामा निस्किन्थ्यो । तर, अब भरतले थाहा पाए, बाहिर एउटा ठूलो संसार छ र खुट्टा नचले पनि यो संसारको यात्रा गर्ने सामर्थ्य छ उनमा ।

त्यो सामर्थ्यको उडान थियो– काठमाडौंको ।

जसरी हुन्छ, दाइ पढ्न बसेको काठमाडौं सहर आउने योजना भरतको मनमा बन्न थाल्यो । खुट्टै नचल्ने छोरोलाई निर्झर काठमाडौं पठाउने योजनामा सहमत भएनन्, भरतका बाबुआमा । 

बरु त्यति बेला भरतका बाबुले थाहा पाए, नेपालगन्जमा लगेर उपचार गरे भरतको खुट्टा अझै पनि चल्न सक्छन् !

काठमाडौं जाने ढिपी गरिरहेका भरतलाई जाजरकोटबाट बोकेर नेपालगन्ज पुर्याए, उनका बाबुले । अस्पतालमा चिकित्सकहरुले सान्त्वना दिए– ठीक हुन सक्छ !

दिन बिते, साता बिते र महिना बित्यो । तर, भरतको खुट्टा चलेनन् !

एक महिना बितेपछि भरतले मुख खोले– मलाई अब उपचार नगर्नु, बरु पढाइदिनु ।

नेपालगन्जमा हार मानेपछि भरतलाई लिएर उनका बाबु आए काठमाडौं । बनेपाको बाल अस्पतालमा भरतको उपचारमा संलग्न एक चिकित्सकले बल्ल उनका बाबुलाई सबैभन्दा उपयुक्त सुझाव दिए । 

ती चिकित्सकले दिएका दुई विकल्प थिए– अपाङ्ग पुनस्र्थापना केन्द्रमा जाने वा लखनउमा गएर उपचार गर्ने । 

लखनउ पुर्याए छोरालाई ठिक हुन्छ कि भन्ने आशा भरतका बाबुको मनमा त्यति बेला जागिहाल्यो । चिकित्सकले भरतका बाबुको प्रश्न सुन्नै परेन, उनले भनिहाले– लखनउमा गएर पनि ठिक हुन्छ भन्ने ग्यारेन्टी चाहिँ छैन ।

शिखरमा पुगेको थियो, भरतको खुट्टा चल्ने आशा । गर्ल्याम्म ढल्यो ।

त्यसपछि त्यहाँबाट भरतलाई लगियो– अपाङ्ग पुनस्र्थापना केन्द्र । केन्द्रमा बाबुआमाले लगेपछि भरतले अब आफ्ना सपनाको रेखाङ्कन आफैं गर्न थाले, आफ्नो भविष्यको मार्गचित्र बनाउन थाले र त्यसमा ठमठमी यात्रा गर्ने प्रतिबद्धता आफैंसँग गरे ।

त्यही यात्राको पहिलो खुड्किलो बन्यो खगेन्द्र नवजीवन स्कुलको कक्षाकोठा । 

‘म फुरुङ्गै भएँ,’ भरतको आँखाको डिलमा खुसीको आँसु टिलपिलायो, ‘मानौँ म बेगमा आफ्नो यात्रामा त्यो दिन दौडिएँ ।’

तर, कक्षामा गएको पहिलो दिनमा नै यो भरतलाई आभास भयो, उनी काठमाडौंका यी बाटाहरुमा दौडिन सक्दैनन् । ‘वान देखि हन्ड्रेडसम्म त आउँदैनथ्यो मलाई, अंग्रेजी भनेको त के हो भन्ने नै थाहा थिएन,’ उनी फिस्स हाँसे, ‘त्यो कक्षाको पहिलो परीक्षामा मेरो म्याथ र अंग्रेजीमा त एक नम्बर पनि आएन ।’

हिरो बन्छु भन्ने सपना लिएर स्कुलमा भर्ना भएका भरतले जब गणितमा जिरो ल्याए, उनलाई शिक्षकले भनिदिए– तैंले केही गरेर खाँदैनस् ।

एउटा मनले भरतलाई भन्यो– अब फर्किएर जा, जाजरकोट । 

अर्को मनले भरतलाई भन्यो– जाजरकोट जानु भनेको योभन्दा अग्ला दुःखका पहाडहरुमा घिस्रन खोज्नु हो । 

‘अनि मैले अझ राम्रोसँग पढ्ने अठोट लिएँ,’ उनले भने, ‘होस्टलमा ट्युसन पढाउन आउने एक शिक्षिकाले मलाई निकै सहयोग गर्नुभयो ।’

अब भरतको पढाइ राम्रो हुँदै थियो । उनले मेहनेत गर्न छोडेनन्, कक्षा भर्ना भएको १२ महिनापछि भएको बोर्ड परीक्षामा त उनी कक्षामा तेस्रो पो भए !

जुन दिन यो रिजल्ट भरतको हातमा परेको थियो, त्यसैको सेरोफेरोमा घरबाट बाबुले पठाएको चिठी पनि उनको हातमा परेको थियो । 

बाबुले भरतलाई लेखेका थिए– मसँग भएको पैसा सबै सकियो, अब स्कुल र होस्टल फि तिर्ने पैसा मसँग छैन, तँ बुझ्ने भएको छस् छोरा, मैले भन्न खोजेको यो कुरा पनि बुझेस् !

‘खासमा केन्द्रमा हामीलाई निःशुल्क बस्ने व्यवस्था गरिएको हुँदो रहेछ,’ भरतले सम्झिए, ‘तर, केन्द्रले हामीसँग पहिलो वर्षको पैसा लिएको थियो, बुबाको यो चिठी आएपछि मैले त्यहाँ कुरा गरेँ ।’

बाबुको चिठीको प्रसंग निकाल्दै भरतले गरेको यो कुरालाई केन्द्रले सहज रुपमा हेर्यो, अब उनलाई त्यहाँ बस्न र पढ्न पैसा नलाग्ने भयो ।

‘अर्को वर्ष म त नवजीवनको पाँच कक्षाको फस्र्ट व्वाय भएँ,’ भरतले भने, ‘अनि मलाई अपाङ्ग पुनस्र्थापना केन्द्रले राम्रा राम्रा स्कुलमा पढाउँदै लग्यो ।’

यही क्रममा भरतले एसएलसी दिए– इस्टपोल स्कुलबाट ।  

मिहिनेत र आँट, दृढ संकल्प र आत्मविश्वास भयो भने मानिसले चाहेको सपना पूरा गर्न सक्छ, यसको उदाहरण हुन्, भरत । र, उनको एचिभमेन्ट हो– एसएलसीमा विशिष्ट श्रेणी ।

अब थप संघर्षका दिन सुरु हुने भए । एसएलसीसम्म उनको पढ्ने र बस्ने खर्च व्यवस्थापन गरिदिएको थियो, केन्द्रले । अब यो सब भार उनीमाथि नै आउने भयो । 

‘के गरौँ, कसो गरौँ भन्ने त भयो,’ भरतले भने, ‘मसँग फर्किएर जाजरकोट जाने या काठमाडौंमै केही गर्ने दुई विकल्प थिए ।’

उनले दोस्रो विकल्प रोजे ।

त्यसपछि सुरु भयो, उनको अर्को संघर्ष । 

‘सबैभन्दा पहिले त मलाई काठमाडौंका कोठा पाउनै गाह्रो भयो,’ भरतले अनुहार मलिन बनाए, ‘कीर्तिपुरका कुनाकुनामा कोठा खोजेँ, तर कसैले दिएनन् ।’

कोठा दिनु त परको कुरा, काठमाडौंका घरबेटीले भरत पुग्दा वचन लगाए– यस्ता अपाङ्गले घरै फोहोर बनाउँछन् !

कंक्रिटले भरिएको यो सहरमा कंक्रिटका मनहरुको साक्षात्कार गरे, भरतले । तर, कहाँ सबै त्यस्तै मन भएका हुँदा रहेछन् र ? भरतले अन्ततः कोठा पाए । तर, अर्को दुःखले फेरि उनलाई घेर्न थाल्यो । 

‘मलाई भर्ना लिने कलेज पनि पाइनँ,’ भरतले भने, ‘मेरो एसएलसीमा ८४ प्रतिशत आएको थियो । कलेजहरुमा पुग्दा ९० प्रतिशत आएको भए छात्रवृत्ति दिन सकिन्थ्यो भन्ने वाहना बनाउँथे, मलाई फर्काइदिन्थे ।’ कतिपय कलेजले उनलाई छात्रवृत्ति दिन तयार भएको सुनाउँथे तर ती कलेजको भौतिक संरचना उनलाई सहज हुने थिएनन् ।

अन्ततः उनले ललितपुरस्थित ह्विलह्याम्स कलेजमा भर्ना पाए, मानविकी संकायमा । 

आफ्नै सवारीसाधन नभएकाले अब कलेज आउजाउमा समस्या भोगे, भरतले । 

तर, हिम्मत हारेनन्, अध्ययन गर्ने र आफ्नो अधिकारका लागि आफैं आवाज उठाउन कम्मर कसेर अगाडि बढ्न थाले भरत । 

भरतले दुःखसुख प्लस टु पास गरे । स्नातक पनि गरे । योबीचमा उनले ट्युसन पढाएर आफ्नो पकेट खर्च जुटाउने गरेका थिए । 

स्नातक पढ्दापढ्दै भरतले जागिर पाए– क्लाउड फ्याक्ट्रीमा । 

एकातिर पढाइ, अर्कोतिर काम । भरत व्यस्त थिए । तर, उनलाई आभास थियो, उनको उडानको दायरा यतिमै सिमित हुनु हुँदैन । 

‘त्यसपछि मैले ह्विलचेयर बास्केटबलमा पाइला चाल्न थालेँ,’ नेपाली राष्ट्रिय ह्विलचेयर बास्केटबल टिमका खेलाडी भरतले भने, ‘सुरुमा मैले पनि खेल्न सक्छु भन्ने विश्वास लाग्दैनथ्यो । तर, असम्भव त केही पनि नहुँदो रहेछ !’

यही आत्मविश्वासका कारण भरत अब आफूजस्तै अन्यका लागि सहयोग होस् भनेर एउटा क्लब खोलेर पनि अगाडि बढेका छन् । अनि देश विदेशमा पुगेर नेपाली टिमका लागि खेलेका छन्, विभिन्न पदक जितेका छन्, पुरस्कार पाएका छन् ।

भरत जीवनमा पाएको यो जितका कारण उत्साहित छन्, थप दृढ भएर अगाडि बढेका छन् । त्यसैले उनले योजना बनाएका छन्– अध्ययन पूरा गर्ने र आफूजस्तै अपाङ्गता भएकाहरुका लागि सहयोगी कामहरु गर्ने । अहिले भरत समाजशास्त्रमा मास्टर्स गरिरहेका छन्, यो समाजलाई अझ गहिरोसँग बुझिरहेका छन् ।

‘अपाङ्गमैत्री भौतिक संरचना मात्र होइन, अपाङ्गमैत्री समाज निर्माण गर्नु मेरो ध्येय हो,’ भरत मुसुक्क हाँसे, ‘सपना बनाएको छु, पूरा हुन्छ भन्ने विश्वास लिएको पनि छु ।’

यो विश्वास थप बलियो भएको छ गत वर्षको दशैंमा । दशैंमा उनी जाजरकोट, आफू जन्मिएको गाउँ पुगेका थिए १७ वर्षपछि ।

‘म मरिसकेँ भन्ने सोचेका रहेछन् केही गाउँलेले त,’ भरतले भने, ‘मलाई देख्दा उनीहरु दंग परे ।’

त्यसो त गाउँका त्यति बेलाका साथीभाइ आजभोलि दिनरात भरतको प्रशंसा गर्छन्, कम्तिमा पनि उनीसँग मेसेन्जरमा ।

‘तैंले त प्रगति गरिस् यार,’ उनीहरु भन्छन् । 

साथीहरुले भरतको प्रगति देखेका छन्, उनको अध्ययनमा, उनको जागिरमा, उनको खेल जीवनमा र उनले दिने मोटिभेसनल सन्देशहरुमा । उनको प्रगतिलाई देख्ने र आफू केही गर्न सक्दिनँ भनेर निराश हुनेहरुलाई उनी भन्छन्– आफूलाई स्वीकार र घरबाट बाहिर निस्क, यो संसारमा गर्न नसक्ने केही पनि छैन !

यसो भनिरहँदा सायद, भरत पुग्छन् होला दुई दशकअघिका दिनहरुमा । 

आत्महत्याको प्रयास गरेका ती दिनमा । 

सौभाग्य भनौँ कि दुर्भाग्य, भरतका आत्महत्याका प्रयास सफल भएनन्; निराशाले भरतलाई लामो समय चक्रव्यूहमा पारेन । त्यसैले त अहिले भरत भन्छन्– जीवन सुन्दर छ !

हो, यही जीवन जसले भोग्नुपर्छ भङ्गालाहरुमा ठूला ठक्कर पनि । तैपनि बगिरहनुपर्छ निरन्तर । निरन्तर...‍

  • प्रकाशित मिति : कात्तिक १२, २०७७ बुधबार १४:०:२०,   अन्तिम अपडेट : कात्तिक १२, २०७७ बुधबार १४:३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया