[ नेकपा केन्द्रीय कमिटी बैठक स्थगित ] ओलीले पराजित महसुस गर्नुका तीन कारण
फाइल तस्वीर ।

लामो समयपछि हुने भनिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै कोरोनाभाइरसका कारण यो बैठक स्थगित गरिएको बताइएको छ ।

तर, यसअघि नेकपामा विवाद उत्कर्षमा पुग्दै गर्दा बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले तय गरेको यो बैठक स्थगित गर्दा नेकपाका केन्द्रीय कमिटी सदस्यहरुले नै यसको विरोध गरेका छन् । त्यसो त नेकपामा पछिल्लो समय सचिवालय बैठक, स्थायी कमिटी बैठक पनि बारम्बार बोलाइँदै स्थगित हुँदै आएका छन् । 

यसपटक केन्द्रीय कमिटी बैठक स्थगित भएपछि कोरोनाको वाहाना बनाए पनि शीर्ष नेताहरुबीचको असहमतिलाई नै प्रमुख कारण बनाइएको छ । अनि यसमा पछिल्लो समय प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले एकल निर्णयमा गरेका केही निर्णयहरु कारक भएको मान्न थालिएको छ । 

‘अध्यक्षद्वयको मतभिन्नता त एक ठाउँमा छ,’ नेकपाका एक केन्द्रीय सदस्यले फरकधारसँग भने, ‘केन्द्रीय कमिटीमा फेस गर्ने उहाँहरुमा अहिले नैतिक आधार पनि पतन भएको हुनसक्छ । यही कारणले यो बैठक स्थगित गरिएको हुनुपर्छ ।’

तर, यसलाई मान्न तयार छैनन्, नेकपा महासचिव विष्णु पौडेल । अर्थमन्त्रीसमेत रहेका पौडेलले फरकधारसँग भने, ‘अहिले कोरोनाभाइरस महामारीको यति ठूलो सन्त्रास हुँदा त्यति ठूलो संख्यामा जम्मा भएर हामीले बैठक गर्नुले थप समस्या सिर्जना गर्न सक्छ । त्यसैले अहिले यसलाई नगरौँ भन्ने भएको हो ।’

त्यसो त पछिल्ला दिनमा नेपाल र काठमाडौं उपत्यकामा दैनिक कोरोनाभाइरस संक्रमितको संख्या बढिरहेको छ । कोरोना प्रभाव बढ्दै जाँदा यो बैठक स्थगित गरिनु पर्ने बाध्यात्मक अवस्था आइपरेको नेकपामा ओलीनिकट नेताहरु बताउँछन् । ‘अहिले कोरोना महामारीबाट बच्नु नै पहिलो प्राथमिकता हो,’ ओलीनिकट एक नेताले फरकधारलाई बताए, ‘त्यसैले अहिले यो बैठक स्थगित गरिनु ठिक हो ।’



बैठकबारे विभिन्न धारणा र तर्क आइरहँदा के चाहिँ स्पष्ट हुन सकिन्छ भने पछिल्लो समय नेकपामा देखिएको विवाद थप बढ्दै जाँदा यो बैठक आफू अनुकूल नहुने शीर्ष नेताहरुले आभास गरेका छन् । पछिल्ला विभिन्न निर्णयका कारण आफू पारजित मनाशयमा पुगेको आभास नेकपा अध्यक्ष ओलीले गरेकाले यो बैठक स्थगित गरिएको हुनसक्ने अनुमान गर्नेहरु पनि नभएका होइनन् ।

स्मरणीय छ, वैशाखयता नेकपामा बारम्बार प्रधानमन्त्री ओलीले कम्तिमा पनि एक पदबाट राजीनामा दिनु पर्ने माग नेकपाभित्रै उठिरहेको छ । यसअघि सचिवालय बैठकमा समेत यो माग उठेपछि र स्थायी कमिटी बैठकमा यही मागमा अधिकांश सदस्यले अडान लिएपछि ओली निकै गलेका थिए । त्यति बेला नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति भएपछि नेकपा विवाद समाधान गर्न महासचिव विष्णु पौडेलको नेतृत्वमा एक कार्यदल बनेको थियो । 



कार्यदलले दिएको सुझावलाई नेकपा अध्यक्ष ओलीले पालना नगरेको आरोप पछिल्लो समय लाग्न थालेको छ । हुन पनि विभिन्न देशमा राजदूत नियुक्ति गर्दा होस् या मन्त्रिमण्डलमा हेरफेर गर्दा होस्, ओलीले पार्टी सचिवालयमा वा अर्का अध्यक्ष प्रचण्डसँग छलफल नगरेको आरोप लाग्न थालेको छ ।

‘अहिले केन्द्रीय समिति बैठक स्थगित गर्नुमा मतभेद वा नेताहरुको एकमत नहुनु भन्ने कारण सान्दर्भिक होइन,’ नेकपा महासचिव पौडेलले फरकधारलाई भने, ‘यो सहमतीमा नै गरिएको हो । यसमा अध्यक्षद्वयको सहमती छ । अहिलेको अवस्थामा बैठक बस्ने स्थिति छैन भन्ने हामी सबैले बुझेकै कुरा हो ।’

एकातिर कोरोनाभाइरस प्रकोपको वाहाना बनाइएको छ भने अर्कोतिर केही नेकपा नेताहरु यसलाई ओलीले आफू कमजोर भएको आभास गरेकाले आएको निर्णय बताउने पक्षमा रहेका छन् । अनि ओलीले पछिल्लो समय आफू कमजोर महसुस गर्नुका तीन तर्क उनीहरुले अगाडि सार्ने गरेका छन् । 

नेकपाका एक केन्द्रीय सदस्यका अनुसार पछिल्लो समय कर्णाली प्रदेशमा भएका घटनाले ओलीलाई निकै गलाएको छ । ‘सरसर्ती बुझ्दा नेकपा नेताहरु प्रचण्ड र माधवकुमार नेपालले एक जुट भएर त्यहाँ जे गरे,’ नेकपाका ती केन्द्रीय सदस्यले भने, ‘त्यसले ओलीलाई पक्कै कमजोर बनाएको छ ।’

अर्कोतिर, पछिल्लो समय बागमती प्रदेशमा पनि मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको छ । यहाँ पनि प्रचण्ड र नेपाल पक्षधर नेताहरु एक भएका छन् । विभिन्न प्रदेशमा हुन थालेका यस्ता गतिविधिका कारण ओली कमजोर भएको अनुमान गर्न थालिएको छ । ‘प्रदेशहरुबाट नै ओलीलाई कमजोर भएको आभास दिलाउन उनको विरोधी पक्षले आवाज उठाउन थालेको छ,’ ती नेताले फरकधारलाई भने, ‘यसले गर्दा ओली गलेका छन् ।’

यतिमात्र होइन, पछिल्लो समय भारतीय खुफिया एजेन्सी रअका प्रमुख सामन्तकुमार गोयलसँग भएको भेटका कारण पनि ओलीले अहिले केन्द्रीय कमिटी बैठक फेस गर्न नचाहेको ती नेताको विश्लेषण छ । ‘यसको विरोध अहिले पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य भीम रावलले चर्को रुपमा गरिरहनु भएको छ,’ ती नेताले भने, ‘अहिलेको केन्द्रीय कमिटी बैठक राखेको खण्डमा यस्ता विषयमाथि प्रश्न उठ्दा ओलीसँग दिने कुनै जवाफ छैन । त्यही भएर उनले अहिलेलाई स्थायी कमिटी बैठक टार्न खोजेका हुन् ।’

त्यस्तै, अहिले केन्द्रीय कमिटी बैठकमा चैतमा गर्ने भनिएको महाधिवेशनबारे प्रश्न उठ्ने तर अध्यक्ष ओली यसका लागि पनि तयार नभएकाले अहिले केन्द्रीय कमिटी बैठक स्थगित गर्नु नै सहज अवतरण उनले महसुस गरेको ती नेताले फरकधारलाई बताए । 

  • प्रकाशित मिति : कात्तिक १२, २०७७ बुधबार १५:५४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया