अछामको रामारोशन गाउँपालिकामा गाउँपालिकाकी उपाध्यक्षले तालाबन्दी गरेकी छन् । गाउँपालिका सरकारले एकतन्त्रीय शासन व्यवस्था र तानाशाही शैलीमा काम गरेको भन्दै उपाध्यक्ष सरस्वती रावलले बुधबारदेखि अनिश्नितकालीन तालाबन्दी गरेकी हुन् ।
उपाध्यक्ष रावलले एक विज्ञप्ति जारी गर्दै तालाबन्दी गरेको बताएकी हुन् । गाउँपालिका नीति र विधिमा नचलेको, आफ्ना अधिकार समेत खोसिएको भन्दै तालाबन्दी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पालिकाको नेतृत्वले स्थानीय सरकार सञ्चालन ऐन विपरीत उपाध्यक्षका अधिकार खोसेको उनको आरोप छ । गाउँपालिकाका अध्यक्ष झंकर साउदप्रति लक्षित उनको विज्ञप्तिमा नियुक्तिदेखि अनुगमनसम्म आफ्नो अनुपस्थितिमा भएको बताइएको छ ।
विज्ञप्तिमा रावलले स्थानीय सरकार सञ्चालन ऐन विपरीत उपाध्यक्षको अधिकार खोसेर काम भइरहेको जनाएकी छन् । योजनाको अनुगमन तथा सुपरिवेक्षणको अधिकार उपाध्यक्षको भए पनि अनुगमन प्रतिवेदनबिना योजनाको भुक्तानी दिन लगाएको आरोप रावलले लगाएकी छन् ।
कर्मचारी भर्ना तथा छनोटमा अनियमितता गरेको आरोप समेत उनको छ । योजना छनोटमासमेत केन्द्रियता लाद्दै जनमतको अपमान भइरहेको उनको आरोप छ ।
गाउँपालिका सरकारले गर्ने हरेक काम कारबाहीमा आन्तरिक तथा पार्टीमा पटक–पटक छलफल हुँदासमेत कार्यशैलीमा कुनै फरक नआएकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ ।
यो गाउँपालिकामा अध्यक्ष झंकर साउद र उपाध्यक्ष रावल दुवै तत्कालीन नेकपा माओवादीबाट निर्वाचित हुन् । गाउँपालिका सरकारले आर्थिक प्रलोभनमा परेर कर्मचारी भर्ना गरेको भन्दै प्रतिपक्षी नेपाली कांग्रेसलेसमेत केही दिन पहिले शान्तडा बजारमा प्रदर्शन गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।