कालापानी क्षेत्रमा भारतले अतिक्रमण गरेको नेपाली भूमि नेपाली नक्सामा समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरेलगत्तै भारतसँग चिसिएको नेपालको सम्बन्धमा केही सुधार आउने देखिन थालेको छ । यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सेनाध्यक्षको भ्रमण निकै महत्वपूर्ण हुने अनुमान गर्न थालेका छन् ।
भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री ओलीले भेटेको धेरै दिन भएको छैन । गोयलले नेपाली प्रधानमन्त्रीका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर आएको ओलीनिकट नेकपा नेताहरुले नै बताउन थालेका छन् ।
भारतीय खुफिया एजेन्सी रअका प्रमुखसँग भएको यो भेट कूटनीतिक मर्यादा विपरित भएको अभिव्यक्ति नेकपाकै नेताहरुबाट आउन थालेपछि प्रधानमन्त्री ओलीनिकट तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा नेता शंकर पोखरेलले गोयलले मोदीको सन्देश लिएर आएको टिप्पणी गरेका थिए ।
गोयल नेपाल आएको दुई साता पनि नबित्दै भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभाने काठमाडौं आउँदैछन् । १९ कार्तिकमा उनी नेपाल आइपुग्ने र २० कार्तिकमा उनले प्रधानमन्त्री ओलीलाई भेट्ने कार्यक्रम रहेको छ ।
२० कार्तिकमा नरभानेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि पनि दिइने कार्यक्रम रहेको छ ।
स्मरणीय छ, नरभाने तिनै सेनाध्यक्ष हुन् जसले नेपालले लिम्पियाधुरा क्षेत्र समेटेर नयाँ नक्सा जारी गर्दा नेपाल अरुको बहकावमा लागेको अभिव्यक्ति दिएका थिए ।
आफ्नो भूमि नेपालले आफ्नो नक्सामा समेट्दा यस्तो अभिव्यक्ति दिने नरभानेलाई स्वागत गर्न आखिर प्रधानमन्त्री ओली निक आतुर छन् त ?
‘लामो समयदेखि भारतसँग उच्चस्तरीय वार्ता हुन सकेको छैन,’ नेकपका एक नेता बताउँछन्, ‘त्यसैले प्रधानमन्त्री ओली भारतसँगको सम्बन्धमा आइसब्रेक होस् भन्ने चाहन्छन्, यसका लागि सेनाध्यक्षसँगको भेटले ठूलो उपलब्धि हुने विश्वास उनले लिएका छन् ।’
तर, यसअघि नेपालले लिम्पियाधुरा क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेपछि भारतले कोरोनाभाइरस महामारीको वाहाना बनाउँदै त्यति बेला नेपालसँग वार्ता गर्न अस्वीकार गरेको थियो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले वार्ताका लागि आलटाल गरेको त्यति बेला बताउँदै आएका थिए ।
कूटनीतिक तहमा यो वार्ता हुन नसकेपछि भारतसँगको सम्बन्धलाई फेरि सुधार गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सेनाध्यक्षको साहरा लिन खोजेको टिप्पणी पनि गर्न थालिएको छ ।
यसका लागि यसअघि भारत र नेपाल सम्बन्ध बिग्रिँदाको प्रसंगलाई हेरौँ ।
त्यति बेला नेपालमा भर्खर संविधान जारी भएको थियो । विनाशकारी भूकम्पका कारण नेपाल अस्तव्यस्त भएको थियो । अनि त्यति बेला प्रधानमन्त्री थिए, केपी शर्मा ओली ।
प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व सम्हालिरहँदा भारतले नेपालमाथि नाकाबन्दी लगायो ।
भारतले नाकाबन्दी लगाएपछि नेपाल र भारतबीच उच्चस्तरीय वार्ताहरु रोकिए । त्यति बेला भारतसँगको सम्बन्ध सुधारका लागि नेपाली सेनाले अग्रसरता देखाएको थियो । नेपाली सेनाका तत्कालीन प्रमुख थिए, राजेन्द्र क्षेत्री । क्षेत्री त्यति बेला प्रधानमन्त्री ओलीको सन्देश लिएर भारत पुगेका थिए ।
त्यसपछि भारतले लगाएको नाकाबन्दी अन्त्य भएको थियो र प्रधानमन्त्री ओलीले भारतको राजकीय भ्रमण गरेका थिए ।
ठिक चार वर्षअघिको जस्तै अवस्थामा अहिले छन्, प्रधानमन्त्री ओली । अनि भारतबाट उच्चस्तरीय टिममा वार्ता हुन नसकेपछि ओलीले चाहेका छन्, यसलाई सैन्य कूटनीतिबाट समाधान गरौँ ।
‘जब कूटनीतिक लेभलमा वार्ताको सम्भावना नै रहेको देखिँदैन, भारतीय पक्षले यसलाई अस्वीकार गरिरहँदा त्यहाँका सेनाध्यक्षमार्फत् नेपालले भारतीय उच्चस्तरीय नेतृत्वलाई सन्देश पठाउनुलाई गलत मान्न सकिँदैन,’ परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारी बताउँछन्, ‘नेपालले चालेको यो कदम खासमा अरु विकल्प नभएकाले अहिलेका लागि सबैभन्दा उत्तम हो भन्दा फरक पर्दैन ।’
तर, भारतीय सेनाध्यक्षलाई प्राथमिकतामा प्रधानमन्त्री ओलीले भारतसँग सम्बन्ध सुधार गर्न लाग्नुलाई नेपालको परराष्ट्र नीति थप कमजोर बनाइएको आलोचना विभिन्न कूटनीतिज्ञले गर्न थालेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।