कोरोना संक्रमितको शव व्यवस्थापनपछि स्थानीयको विरोध

धनगढीमा कोरोना संक्रमणबाट मृत्यु भएकाको शव बस्ती नजिकै रहेको चिहानस्थलमा व्यवस्थापन गरेपछि स्थानीयले विरोध गरेका छन् । स्थानीयहरूले टायर बालेर नाराबाजी गर्दै सडक अवरोध गरेका छन् ।

कोरोना संक्रमणबाट मृत्यु भएकाको शव बस्ती नजिकै रहेको चिहानस्थलमा व्यवस्थापन गर्दा विरोध गरेको स्थानीय भरत विकले बताए । ‘कोरोना संक्रमण फैलिन्छ भन्दै ६ महिनासम्म लकडाउन गर्ने । जनतालाई विचल्लीमा पार्ने । अनि अहिले आएर बस्ती बीचमा शव व्यवस्थापन गर्ने राज्यको यो कस्तो नीति हो ?’ उनले प्रश्न गरे । प्रशासनले धनगढी उपमहानगरपालिका–१ मा रहेको चिहानस्थलमा शव व्यवस्थापन गरेको हो । मानववस्तीसँगै रहेको यो स्थानमा कोरोना संक्रमितलाई गाडेको भन्दै स्थानीयले विरोध गरेको धनगढी उपमहानगनरपालिका वडा नम्बर १ वडा अध्यक्ष सन्तोष मुडभरीले जानकारी दिए ।

धनगढी उप–महानगरपालिका २ की ५७ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको थियो । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत उनको मृत्यु भएपछि स्थानीय प्रशासन र सेनाको टोलीले आफन्तलाई शव बुझाएका थिए ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव व्यवस्थापन नेपाली सेनाले मानवबस्तीभन्दा अलग्गै रहेको स्थानमा गर्दै आएको थियो । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले निर्देशिका अनुसार नै नेपाली सेनाले शव व्यवस्थापन गरेको बताए । 

यस्तो छ कोरोना संक्रमितको शव व्यवस्थापन गर्ने कार्यविधि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शव व्यवस्थापन कार्यविधि बनाएको छ । कोरोनाले मृत्यु भएका व्यक्तिको अन्तिम कर्म अन्य रोगी अर्थात् मृतकको जस्तो हुँदैन । सरकारले तयार पारेको कार्यविधि अनुसार शव उठाउनुअघि शव वाहनका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अनिवार्य लगाउनुपर्छ । 



कार्यविधि अनुसार अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रूपमा पन्जा, चस्मा, टोपी, मास्क सहितको पीपीई लगाउनुपर्ने छ । शवलाई सकेसम्म कम चलाउने गर्नुपर्छ । कार्यविधिमा उल्लेख भए अनुसार शवमा लागेका पाइप, केथेटरलगायत सामग्री हटाउँदा सर्तकता अपनाउनुपर्छ । 

शवको कुनै भागबाट रगत बगिरहेको भए होसियारीपूर्वक बन्द गर्नुपर्छ । मृतकलाई अन्तिम संस्कार गर्ने घाटसम्म लान साधारण शव वाहनको प्रयोग गर्न सकिन्छ तर, सकेसम्म शवलाई छिटो अन्तिम संस्कार गर्ने ठाउँमा पुर्‍याउनुपर्नेछ ।



६० वर्ष उमेर कटेका व्यक्ति र दीर्घ रोगीलाई कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको नजिकै जान दिनु नहुने कार्यविधिमा उल्लेख छ ।  अन्तिम संस्कार गर्नु अघि आफ्नो कुल परम्परा अनुसार शव नछोइ पानी छर्किने, पाठ गर्ने र फूलमाला चढाउने गर्नुपर्छ । मृतकका आफन्तले शव हेर्न चाहेमा नछोइकन कम्तीमा एक मिटर टाढाबाट एक–एक जनाले पालैपालो हेर्न पाउनेछन् ।

  • प्रकाशित मिति : कात्तिक १३, २०७७ बिहीबार १६:३१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया