प्रचण्डसँग बोलचाल बन्द, माधव नेपाल फकाउँदै ओली
फाइल फोटो

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो समय दूरी बढ्दै गएको छ। नेकपाको आन्तरिक विवाद साम्य नहुँदा अध्यक्षद्वय ओली-प्रचण्डबीच दूरी झन-झन बढ्दै गएको हो। 

ओली र प्रचण्डबीच दूरी यतिसम्म बढ्यो की अहिले उनीहरुबीच संवाद समेत हुन छाडेको छ। गत भदौमा बसेको नेकपाको स्थायी कमिटी बैठक यता प्रचण्ड ओलीसँग भेटवार्ता गर्न नियमितरुपमा बालुवाटार जान्थे। भेटमा ओली प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठन, राजनीतिक तथा संवैधानिक नियुक्ती र पार्टी एकताका बाँकी काम टुङ्ग्याउने विषयमा लगातार छलफल हुँदै आएको थियो। तर, ओली र प्रचण्डको भेटवार्ताबाट कुनै निकास निस्कन भने सकेन। 

यहीबीचमा भएका केही घटनाक्रमले ओली-प्रचण्डबीचको भेटवार्तामा ब्रेक लागेको छ। कात्तिक ४ गते यता ओली-प्रचण्डबीच कुनै संवाद हुन सकेको छैन। राजदूत नियुक्ती, मन्त्रिपरिषद् पुनर्गठन र नेकपा कर्णाली प्रदेशमा देखिएको विवादले नेकपालाई झन समस्यामा गाँज्दै लगेको छ।

नेकपा स्थायी कमिटीको बैठकले सरकारले मन्त्रिपरिषद् पुर्नगठन तथा विभिन्न नियुक्तीहरु गर्दा पार्टीको राय लिनुपर्ने म्याण्डेड दिएको थियो। तर पार्टीको म्याण्डेड विपरित प्रधानमन्त्री ओली चलेको भन्दै अध्यक्ष प्रचण्ड अहिले बालुवाटार धाउन बन्द गरेका छन्। प्रधानमन्त्रीले आफूखुसी गर्दै हिँडिरहेका बेला छलफल गर्नुको कुनै औचित्य नभएको प्रचण्डनिकट स्रोतको भनाइ छ।

‘अब उहाँ(ओली) आफूखुसी गर्दै हिँड्नुहुन्छ। यता दुई अध्यक्षबीचको छलफल जारी हुन्छ, उता उहाँले मन्त्रीपरिषद् पुनर्गठन गर्नुहुन्छ’ प्रचण्डनिकट स्रोतले भन्यो, ‘राजदूत सिफारिस गर्नुहुन्छ। पार्टीका निर्णयहरू कार्यान्वयन हुन नदिने, गर्न नदिने। त्यसरी त संवाद गरेर पनि के अर्थ रहन्छ र ? अहिले त फोनमा समेत कुरा भएको छैन ।’

स्रोतका अनुसार प्रधानमन्त्री ओली र अध्यक्ष-प्रचण्डबीच नेपालीहरुको महान पर्व वडादशैंको शुभकामना साटासाट समेत हुन सकेन। यसले पनि दुई अध्यक्षबीचको संवादहीनता प्रष्ट पार्छ। 



कर्णालीको सकस

दुई अध्यक्ष ओली-प्रचण्डबीचको संवादहिनताले नेकपाको केन्द्रीय कमिटी बैठक स्थगित गर्न पनि समस्या उत्पन्न भयो। दुई अध्यक्षको मारमा परे महासचिव विष्णु पौडेल। बैठकका विषयमा निर्णय लिन महासचिव पौडेलले निकै दौडधूप गर्नुपर्‍यो। 



पार्टी स्थायी कमिटीले आह्वान गरेको केन्द्रीय कमिटी बैठक माथिल्लो कमिटीको बैठक बसेर स्थगित गर्नुपर्ने व्यवस्था छ। सकेसम्म स्थायी कमिटी नभए सचिवालयको बैठक बसेर केन्द्रीय कमिटीको बैठक सार्नुपर्ने हो। 

तर तत्काल सचिवालय बैठक बस्ने अवस्था नरहेको र दुई अध्यक्षबीच टेलिफोनमा समेत संवादहीनता रहेका कारण महासचिव पौडेल कहिले प्रधानमन्त्री निवास बालुवाटार त कहिले प्रचण्ड निवास खुमलटारमा धाएर बैठकका विषयमा कुराकानी गरेका थिए। यसरी दुई अध्यक्षबीच छुट्टाछुट्टै कुराकानी गरेर महासचिव पौडेलले कात्तिक १५-१७ गतेका लागि तय भएको नेकपा केन्द्रीय कमिटीको बैठक मङ्सिर १५-१७ का लागि सारेका थिए। 

गत २६ भदौमा भएको स्थायी कमिटीको बैठकपछि २९ भदौमा अन्तरपार्टी निर्देशन जारी गर्दै ओली-प्रचण्डले अब कहिल्यै विवादमा नफर्कने प्रतिवद्धता व्यक्त गरेका थिए। उनीहरुले २६ भदौलाई विवादमा नफर्कने अठोटको मिति समेत घोषणा गरेका थिए। विवाद समाधान भएको एक महिना पनि नबित्दै कर्णाली प्रदेशमा देखिएको नेकपाको विवादलाई लिएर छुट्टाछुट्टै निर्देशन जारी गरे। यतिसम्म की उनीहरुबीच जुहारी नै चल्यो ।

कर्णाली प्रदेशको विवाद समाधान गर्न दुवै पक्षलाई आ-आफ्नो कदम फिर्ता लिन लगाउने पक्षमा प्रधानमन्त्री ओली थिए तर त्यो कुरामा प्रचण्ड सहमत हुन सकेनन। नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले मन्त्रिपरिषद् पुनर्गठन गरेर तीनजना मन्त्री थप्ने समझदारी कार्यान्वयन हुनुपर्ने अडान लिएपछि प्रचण्डपछि हटेर तलको समस्या तलै समाधान गर्न दिउँ भन्ने अडान लिएको प्रधानमन्त्री ओलीनिकट स्रोतको भनाई छ। 

माधव नेपाल फकाउँदै ओली

यसअघि अरु विषयमा पनि विवाद भएका थिए। तर पछिल्लो समय देखिएको कर्णाली प्रदेशको विवादले उग्र रुप लिँदा ओली र प्रचण्डबीच बोलचाल बन्द भएको हो। ओली र प्रचण्डबीच कटुता झाँकिएपछि प्रधानमन्त्री तथा अध्यक्ष ओली वरिष्ठ नेता नेपालसँग सहकार्यको हात अगाडी बढाएका छन्। 

उनले नेता नेपाललाई बालुवाटारमा बोलाएर तेस्रो पटकसम्म सहकार्यको हात फिँजाइसकेका छन्। प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई दशैं टीकाको भोलिपल्ट मंगलबार बालुवाटारको निम्तो दिएको बालुवाटार स्रोतले जानकारी दियो। ‘प्रधानमन्त्री ज्यूले वरिष्ठ नेता नेपाललाई भेटका लागि बालुवाटारमा बोलाउनुभएको थियो। 

उहाँहरूबीच मंगलबार एक घण्टा जति कुराकानी भएको थियो’, स्रोतले भन्यो। नेता नेपाल मध्यान्ह १२ बजेतिर बालुवाटार प्रवेश गरेका थिए। ओलीले नेता नेपाललाई ‘आउनुस् मिलेर अघि बढौं। सहकार्य गरौं’, भनेर सहकार्यको हात अगाडी बढाएको स्रोतले दाबी गर्‍यो। तर, नेता नेपाल पुरानै अडानमा यथावत रहेको बताइएको छ। भेटमा प्रधानमन्त्री ओलीले विधि, पद्धति माने, कार्यशैली सच्याएमा सहकार्य हुन्छ भनेर नेता नेपालले जवाफ फर्काएका थिए। 

प्रधानमन्त्री ओली र नेता नेपालबीच पछिल्लो समय ४ कात्तिकमा भेटवार्ता भएको थियो। उक्त भेटमा प्रधानमन्त्री ओलीले सहकार्यका लागि आग्रह गरेका थिए। ओलीको कार्यशैलीबारे सुरुदेखि नै चित्त दुखाउँदै आएका नेता नेपालले प्रधानमन्त्रीले दम्भ, अहंकार त्यागेमा मात्र सहकार्य हुनसक्ने बताएका थिए। ओली-नेपालबीच ४ कात्तिक अघि ९ साउनमा मात्रै भेट भएको थियो। त्यसयता भने दुई नेताबीच लामो समय संवादहीनता कायम रह्यो। 

  • प्रकाशित मिति : कात्तिक १३, २०७७ बिहीबार १९:४१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया