भारतीयलाई नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा वडाध्यक्ष पक्राउ

भारतीय नागरिकलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिएको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् ।

कैलालीको टिकापुरमा बसोबास गरिरहेका अलियास अन्सारीलाई नागरिकता दिलाउन वडा कार्यालयबाट सिफारिस गरेको भन्दै प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष गणेशप्रसाद जोशीलाई पक्राउ गरेको हो ।

जोशीले २०७५ साल फागुन २० गते सिफारिस गरेको भेटिएपछि अनुसन्धानका लागी वडाध्यक्षलाई नियन्त्रणमा लिइएको हो । यस्तै जोशीले वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरी नक्कली बुवा बनेको सिफारिस गरेको भेटिएपछि छ ।

नक्कली बुवा बनेका चौधरी फरार छन् भने उनका दाजु खुसीराम चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक दिलिप देउवाले जानकारी दिए । वडाध्यक्ष जोशी नेपाली काँग्रेसबाट विजयी हुन् ।

नेपाली नागरिकता ऐन २०६३ मा विदेशीले नेपाली नागरिक भएको झुठो दावी गरी नागरिकता प्राप्त गरेमा १ वर्षदेखि ५ वर्ष सम्म कैद र ५० हजारदेखि १ लाख सम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ । दण्ड सजाय सम्बन्धि ऐनको दफा २१ मा उक्त व्यवस्था छ । उक्त दफा बमोजिम सजाय भएमा प्राप्त गरेको नागरिकता स्वतः रद्द हुने उल्लेख छ ।

सोही दफाको उपदफा २ मा कुनै विदेशीलाई झुठो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई ६ महिनादेखि ३ वर्ष सम्म कैद वा २५ हजारदेखि ५० हजार सम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ । कैलाली प्रहरीले नागरिकता दिलाउने सिफारिस दिलाउने वडाध्यक्ष जोशीलाई नागरिकता ऐन अनुसार नै माग दावी गर्दै कारवाही गरिने जनाएको छ ।





  • प्रकाशित मिति : कात्तिक १४, २०७७ शुक्रबार १०:१६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया