२ सय दिनसम्म स्थानीय स्तरमा कोरोना संक्रमण नहोस् भनेर ताइवानले जे गर्‍यो

विश्व अहिले कोरोनाभाइरस महामारीका कारण निकै पिल्सिएको छ । झन्, केही दिन यता युरोपेली तथा अन्य मुलुकहरुमा कोरोनाभाइरसको दोस्रो लहर आएको हुनसक्ने अनुमान गरिएको छ । 

ताइवान पनि अहिलेसम्म कोरोनाभाइरसबाट अछुतो रहेको छैन । तर, कोरोना महामारी बढिरहँदा ताइवानले उदाहरणीय काम गरेको छ– २ सय दिनसम्म त्यहाँ स्थानीय रुपमा कोरोनाभाइरस संक्रमण बढेन ।

अनि कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि ताइवानले जे गरेको छ, त्यो विश्वका लागि नमूना भएको छ । 

२ करोड ३० लाख मानिसको बसोबास भएको ताइवानमा पछिल्लो पटक स्थानीय रुपमा कोरोनाभाइरस संक्रमण १२ अप्रिलमा भएको थियो । त्यो दिन थियो– इस्टर सन्डे । 

बिहीबारसम्म आइपुग्दा ताइवानमा ५ सय ५३ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् । यीमध्ये ५५ जना संक्रमितमात्र त्यहाँ स्थानीय स्तरमा कोरोना संक्रमित भएका हुन् । अहिलेसम्म ताइवानमा ७ जनाको मात्र कोरोनाभाइरसका कारण निधन भएको छ ।

इस्टरको समयको कुरा गरौँ । त्यति बेला विश्वभर १७ लाख मानिसमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो, १ लाख १० हजारभन्दा बढीको मृत्यु कोरोनाका कारण भएको थियो । अहिले विश्वको तथ्यांक निकै माथि पुगिसकेको छ । कोरोनाका कारण १० लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् । 



तर, ताइवानले यो समयमा आफूलाई कोरोनाभाइरस संक्रमण रोक्नका लागि काबिल भएको प्रमाणित गरेको छ । 

र, त्यो पनि कहिल्यै कडा खालका लकडाउन नगरेर नै । त्यति मात्र होइन, ताइवानले आफ्ना नागरिकलाई घरभित्र बस्नु पर्ने नियम समेत ल्याएको थियो । 



यसको अलावा ताइवानमा कोरोनाभाइरस संक्रमण रोक्नका लागि तीव्र गतिमा काम भएको थियो । ताइवानी अधिकारीहरुले वुहानबाट आउने उडानहरु र ताइवानका अन्य नाकामा निकै राम्रोसँग काम गरेका छन् । अनि यो काम वुहानमा सबैभन्दा पहिले कोरोनाभाइरस संक्रमण देखियो भन्ने समयमा नै गरिएको थियो ।

२१ जनवरीमा ताइवानमा पहिलोपटक कोरोनाभाइरस संक्रमण देखिएको थियो । त्यसपछि चीन, हङकङ र मकाउबाट आउनेहरुका लागि ताइवानले सख्त चेकजाँच गर्न थाल्यो । यसले नै ताइवानमा भयावह स्थिति आउनबाट बचायो ।

त्यसो त ताइवानको भूबनोट पनि उसका लागि वरदान भएको छ । यो देश टापु भएकाले नाकाहरुमा कडा नजर राख्न सकिएको छ ।

योसँगै त्यहाँको सरकारले परीक्षणलाई व्यापक प्राथमिकता दिएको छ । अनि त्यहाँ कन्ट्याक्ट ट्रेसिङ पनि निकै धेरै गरिएको छ ।

  • प्रकाशित मिति : कात्तिक १४, २०७७ शुक्रबार ११:४२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया