चिहानस्थलमा तालाबन्दी, आँगनमै शव

धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा रहेको मुस्लिम समुदायको मृत्युपछि अन्तिम संस्कार गर्ने चिहानस्थलमा तालाबन्दी गरेपछि शव घरको आँगनमै छ ।

पशुपति टोलको बीचमा मुस्लिम समुदायको शव व्यवस्थापन स्थल रहेको छ । वर्षौंदेखि उनीहरूले यही स्थानमा आफन्तको शव व्यवस्थापन गर्दै आएका थिए । कोरोना संक्रमणबाट मृत्यु भएकी धनगढी–२, की ५७ वर्षीया मुस्लिम महिलाको मृत्युपश्चात् मुस्लिम समुदायले धार्मिक परम्पराअनुसार सोही स्थानमा शव व्यवस्थापन गरेपछि स्थानीयले विरोध जनाएका थिए ।

बस्ती बीचमै संक्रमितको शव गाडेको भन्दै स्थानीयहरूले चिहानस्थलमा तालाबन्दी गरेका हुन् । चिहानस्थलमा तालाबन्दी भएपछि मृत्यु भएका एक मुस्लिम समुदायका व्यक्तिको अन्तिम संस्कारमा समस्या भएको छ ।

शुक्रबार बिहान दुवै मृगौला फेल भएर मृत्यु भएका धनगढी उपमहानगरपालिका १ का ५० वर्षीय मोहम्मद जमसेदको शव व्यवस्थापनमा समस्या भएको परिवारजनले दुखेसो पोखेका छन् । मृतकका छोरा सद्दाम जमसेदले भने, ‘हाम्रो संस्कार अनुसार कब्रिस्तानमै शव गाड्नुुपर्छ । तर, हिजोको घटनाले तालाबन्दी गरिएपछि अन्तिम संस्कार गर्न पाएका छैनौं । बिहानदेखि शव घरमै राखेका छौं ।’

उनीहरूले चिहानस्थलमै अन्तिम संस्कार गर्न पाउनुपर्ने भन्दै स्थानीय प्रशासनसँग माग गरेका छन् । 

स्थानीयहरूले चिहान बस्तीभन्दा टाढा बनाउनुपर्ने माग गर्न थालेका छन् । हामीले कहिल्यै मुस्लिम समुदायको चिहानको विरोध गरेनौं । तर, कोरोना महामारीबाट मृत्यु भएकी महिलाको गाउँकै बीचमा रहेको चिहानमा शव व्यवस्थापन गर्दा भने जोखिम बढेको महसुस आफूहरूले गरेको स्थानीय भरत विकले बताए । ‘समुदायको बीचमै रहेको चिहानस्थलमा कोरोना संक्रमित महिलाको शव व्यवस्थापन गर्दा महामारी गाउँमै फैलन सक्ने त्रास हामीमा छ’, उनले भने, ‘गाउँको बीचमा रहेको कब्रिस्तानमा कोरोना संक्रमितको शव व्यवस्थापन गर्दा समुदायमा कस्तो असर पर्ला भनेर प्रशासनले सोचेन ।’



विसं २०१५ सालतिर स्थापना भएको चिहानस्थल चारैतिर मानवबस्ती बिस्तार भएपछि स्थानीहरूले बन्द नै गर्नुपर्ने माग गरेका छन् । घर नजिकै चिहानस्थल बनाएपछि बालबालिकाहरू धेरै त्रसित हुने गरेको स्थानीय धनबहादुर कोलीले गुनोसो गरे । ‘जुन बेला कब्रिस्तान स्थापना गरिएको थियो, त्यतिबेला मानव बस्ती थिएन’, उनले भने, ‘अब चोरैतिर बस्ती बसेको छ । विकल्प खोज्नुपर्छ ।’

कोरोनाका कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि दोस्रो संस्करण २०७७ को दफा २ मा कोरोनाका कारण मृत्यु भएको शवको परम्परागत चलिआएका अन्त्येष्टि गर्ने स्थानमा नै विशेष सावधानी अपनाइ अन्त्येष्टि गर्नुपर्ने र मृतकको धर्म परम्पराअनुसार शवको सम्मान गर्दै निजका आफन्तहरूलाई समेत सुरक्षित राख्नुपर्ने उल्लेख गरेको बताउँदै जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने, ‘हामीले कोरोनाका कारण मृत्यु भएकाहरूको शव व्यवस्थापन कार्यविधिअनुसार नै गर्न खोजेका हौँ ।’ टोलका बीचमा चिहानस्थल भएका कारण विरोध भएको बताउँदै उनले भने, ‘आगामी दिनमा हामी अब त्यसलाई सच्चाएर लैजान्छौं ।’ उनले तालाबन्दी र अर्को शव व्यवस्थापनको सवालमा मुस्लिम समुदाय र तालाबन्दी गर्ने पक्षबीच छलफल गरिरहेको जानकारी दिए ।



चिहानस्थल वरपर सेनिटाइज

धनगढी उपमहानगपालिका–१ पशुपति टोल रहेको चिहानस्थल वरपर सेनिटाइज गरिएको छ ।

कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको शव गाडिएको उक्त चिहानस्थल वरपर निर्मलीकरणका लागि क्लोरिन छर्ने काम भएको हो । स्थानीयको चर्को विरोधपछि शुक्रबार बिहान उपमहानगरपालिकाले सो क्षेत्रमा सेनिटाइज गरेको हो । संक्रमित महिलाको शव कब्रिस्तानमा गाड्न नपाइने र सो शव गाडिएको स्थानबाट निकालिनुपर्ने माग राख्दै स्थानीयले चर्को विरोध जनाएका थिए भने चिहानस्थलमा लगाइएको तालाबन्दी अझै कायमै छ ।

  • प्रकाशित मिति : कात्तिक १४, २०७७ शुक्रबार १४:५४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया