पार्टी सभापति देउवाले बोलाए शीर्ष नेताको बैठक
फाइल फोटो

पार्टीमा देखिएको विवाद तथा केही केन्द्रीय सदस्यले सभापतिको कार्यशैलीप्रति आवाज उठाएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेताहरूलाई छलफलमा डाकेका छन्।

पौडेल पक्षका २७ केन्द्रीय सदस्यले असोजमा देउवाको कार्यशैलीविरूद्ध केन्द्रीय कार्यालयमा विरोध पत्र दर्ता गरेका थिए ।

उक्त विरोध पत्रमा समावेश गरिएका बुँदाबारे छलफल गर्न कात्तिक १७ गते शीर्ष नेताबीच बैठक बस्न लागेको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । पार्टीभित्र देखिएको विवाद सामान्य भएको उल्लेख गर्दै उनले १७ गतेकै बैठकबाट समाधान खोजिने बताए। 

छलफलमा पदाधिकारीलाई पनि बोलाइएको छ । असोज १२ मा केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टी कार्यालय पुगेर मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत २७ केन्द्रीय सदस्यको हस्ताक्षरसहितको विरोध पत्र दर्ता गरेका थिए ।

पार्टीलाई विधानसम्मत सञ्चालन गरी १४ औं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस् भन्दै उनीहरूले हस्ताक्षर बुझाएका हुन् ।

विरोधपत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेलका साथै महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, दिलबहादुर घर्ती, मिनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडु, शेखर कोइराला, दीपक गिरी, नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरूङ, रत्न शेरचन, बद्रीप्रसाद पाण्डे, जीवन परियार, गुरूराज घिमिरे, कल्याणकुमार गुरूङ, रामकृष्ण यादव, हृदयराम थानी, किरण यादव र सरिता प्रसाईंको हस्ताक्षर रहेको छ ।



केही केन्द्रीय सदस्यमा कोरोना भाइरस संक्रमण देखिएपछि स्थगित भएको केन्द्रीय समिति बैठक कात्तिक २१ गते बस्दै छ ।
 



  • प्रकाशित मिति : कात्तिक १४, २०७७ शुक्रबार १६:१७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया