ओली–प्रचण्डबीच तत्काल भेटवार्ताको सम्भावना टर्‍यो

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच केही दिनयता प्रत्यक्ष भेटघाट हुन सकिरहेको छैन । उनीहरूले एकआपसमा फोनमा समेत बोल्न बन्द गरेका छन् । 

स्रोतका अनुसार ओली–प्रचण्डबीच तत्काल भेटवार्ता गर्ने सम्भावना पनि टरेको छ । भेटघाट गर्दा पनि कुनै अर्थ नहुने भन्दै पछिल्लो समय नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले ओलीसँग भेटघाट बन्द गरेका हुन् । उनले फोनमा समेत ओलीसँग कुराकानी गर्न छाडेका छन् । ‘उहाँ (प्रधानमन्त्री) सँग जति भेटघाट गरे पनि हुने केही होइन’, अध्यक्ष प्रचण्ड निकट स्रोतले भन्यो, ‘उहाँले वार्ता गर्दा एउटा सहमति गर्नुहुन्छ । व्यवहार अर्कै गर्नुहुन्छ । त्यसरी त भेट गरेर के अर्थ ?’

पछिल्लो कर्णाली प्रदेशको विवादको विषयलाई लिएर दुई अध्यक्षबीच बोलचाल समेत बन्द भएको हो । 

गत २६ भदौमा बसेको नेकपाको स्थायी कमिटी बैठक यता प्रचण्ड ओलीसँग भेटवार्ता गर्न नियमित बालुवाटार जाने गरेका थिए । तर, भेटवार्ता चल्दै गर्दा प्रधानमन्त्री ओलीले निवर्तमान अर्थमन्त्री युवराज खतिवडालाई प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त गरेको आधा महिना नबित्दै पुनः अमेरिकाको राजदूत नियुक्त गरे । लगत्तै ओलीले महासचिव विष्णु पौडेललाई समेत समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरे । त्यो पनि आफ्ना पक्षीय नेताहरू मात्र राखेर ।

पार्टीभित्र सल्लाह गरेर मात्र मन्त्रिपरिषद् परिवर्तन तथा नियुक्ति गर्ने भनेर पार्टीमा प्रतिबद्धता जनाएका प्रधानमन्त्री ओलीले सहमति गरेको एक महिना नबित्दै एकमाथि अर्को निर्णयहरू गर्दै गएपछि अध्यक्ष प्रचण्ड ओलीसँग रिसाएका हुन् । 

यतिबेला प्रचण्डले ओलीसँग बोलचाल नै बन्द गरेर आफूलाई खुमलटारमा आइसोलेट गरेका छन् । ‘बसेर पनि त अर्थ छैन । प्रधानमन्त्रीको कार्यशैलीले तत्काल केही हुने सम्भावना पनि देखिँदैन’, स्रोतले भन्यो ।



नेकपा स्थायी कमिटीको बैठकले सरकारले मन्त्रिपरिषद् पुनर्गठन तथा विभिन्न नियुक्ति गर्दा पार्टीको राय लिनुपर्ने म्यान्डेड दिएको थियो । तर, पार्टीको म्यान्डेड विपरीत प्रधानमन्त्री ओली चलेको भन्दै अध्यक्ष प्रचण्ड अहिले बालुवाटार धाउन बन्द गरेका हुन् । 

कन्ट्याक्ट ट्रेसिङ एउटा कारण



नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड सचिवालयले कोरोना संक्रमणको कन्ट्याक्ट ट्रेसिङमा परेका कारण पनि ओली–प्रचण्डबीच भेटघाट हुन नसकेको जनाएको छ । नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई कात्तिक ११ गते कोरोना संक्रमण देखिएपछि प्रचण्ड ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका हुन् । 

‘पार्टीका नेता जनार्दन कमरेडलाई कोरोना संक्रमण देखिएपछि अध्यक्षज्यू (प्रचण्ड) सहित सबै कन्ट्याक्ट ट्रेसिङमा हुनुहुन्छ’, प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने, ‘त्यसकारण उहाँ र प्रधानमन्त्रीबीच भेटघाट हुन नसकेको हो । केही दिनमा अध्यक्षज्यूको पीसीआर टेस्ट गरेपछि भेटघाट हुन्छ ।’

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको घटनाले नेकपाका शीर्ष नेताका बीचमा विवाद देखा परेको हो । त्यसपछि अहिले ओली–प्रचण्डबीच संवादहीनताको अवस्था छ ।

ओलीपक्षका नेताहरूको सक्रियता

दुई अध्यक्षबीच बोलचाल बन्द भएपछि अहिले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूको सक्रियता बढेको छ । ओली र प्रचण्डबीच भेटवार्ताको वातावरण सिर्जना गर्न ओली पक्षका नेता कहिले बालुवाटार त कहिले खुमलटार धाइरहेका छन् । नेकपा स्थायी कमिटीका सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल ओली पक्षको छलफलपछि प्रधानमन्त्री ओलीको सन्देश लिएर प्रचण्ड निवास खुमलटार पुगेका थिए । तर, प्रचण्ड भने, उक्त सन्देशबाट सकारात्मक नदेखिएको स्रोतको भनाइ छ ।

ओलीले एकलौटी रूपमा पार्टी सञ्चालन गर्न खोजेको, स्थायी कमिटी बैठकको आदेश अवज्ञा गरेको आरोप लगाउँदै कार्यशैली नसच्याएसम्म संवाद हुन नसक्ने अडान प्रचण्डले लिएको स्रोतको दाबी छ । प्रचण्डको जवाफपछि नेता पोख्रेलले आफ्नो समूहका नेताहरूसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीले अहिले गरेको मन्त्रिपरिषद् पुनर्गठनको विषयलाई ओलीपक्षका कतिपय नेताहरूले समेत मन पराएका छैनन । अर्का अध्यक्षसँग सल्लाह नगरी गरेका कारण समस्या उत्पन्न भएको टिप्पणी उनीहरूले गरेको नेकपाका एक नेताले बताए । सँगै अध्यक्ष प्रचण्डले पनि कार्यकारी अध्यक्षको अख्तियारी पाएपछि पार्टी काम गर्न छाडेर प्रधानमन्त्रीको तजबिजी अधिकारमा हस्तक्षेप गर्न खोजेको आरोप उनीहरूले लगाएका छन् । प्रधानमन्त्रीले सबैलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्छु भनेपछि निर्वाधरूपमा काम गर्न दिनुपर्ने उनीहरूको तर्क छ ।

  • प्रकाशित मिति : कात्तिक १४, २०७७ शुक्रबार १६:१८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया