मेलम्ची खानेपानीको नयाँ कार्यतालिका : आगामी बैशाखमा काठमाडौंमा पानी
फाइल फोटो

सरकारले  मेलम्चीको खानेपानी काठमाडौंँ ल्याउन नयाँ मिति तोकेको छ । आयोजना निर्माणको काम सक्ने गरी सरकारले नयाँ कार्यतालिका बनाएसँगै आगामी वर्षसम्म पानी काठमाडौं उनले भएको हो । 

प्रधानमन्त्री कार्यालयमा ठेकदार र आयोजनाले बुझाएको कार्यतालिका अनुसार काम भयो भने २०७८ वैशाख २ गतेसम्म आयोजनाको निर्माणको सबै काम सम्पन्न हुनेछ ।

खानेपानी मन्त्री बिना मगरले गत फागुन १ गते पत्रकार सम्मेलनमा मेलम्चीको पानी २०७७ असार मसान्तसम्म काठमाडौंमा आइपुग्ने घोषणा गरेकी थिइन् । २९ असारमा परीक्षणका लागि सुरुङमा पानी भर्न सुरु गरेको २४ घण्टा नबित्दै अम्बाथानको अडिट टनेलको गेट भत्किएपछि आयोजना अर्को समस्यामा फस्यो । अहिले अडिट टनेलका गेटलाई सुधार गरेर जोड्ने काम हुँदै छ ।

आयोजनाका सहायक प्रवक्ता राजेन्द्र पन्तका अनुसार महामारीका कारण असर परे पनि काम रोकिएको थिएन । तर, सुरुङमा पानी भर्न सुरु गरेपछि भएको दुर्घटनाले आयोजनालाई फेरि समस्यामा पारेको छ ।

विगतमा गरिएको लकडाउनका कारण आयोजनामा रहेका सुरुङको गेट लगायतको काम गर्न विदेशबाट दक्ष कामदार र विज्ञ ल्याउन सम्भव भएको थिएन । आयोजनाका अनुसार लकडाउन हुँदा भारतमा उद्योगधन्दा बन्द हुँदा आवश्यक सामग्रीसमेत ल्याउन सहज भएन ।

अहिले चैतभित्र काम सक्ने भनिए पनि सो अवधिमा पनि काम सक्नु सहज अवस्था नरहेको आयोजनाका अधिकारीहरु बताउँछन् । कामको गति बढाएमा त्यो भन्दा अघि नै काम सक्ने सम्भावना भए पनि माहमारीका कारण असर परिरहेको आयोजनाले जनाएको छ ।



आयोजनाका सहायक प्रवक्ता पन्तका अनुसार अहिले सबै खालका मेडिकल प्रोटोकल पालना गरेर अडिट टनेललाई थुन्ने सहित हेडवर्क्स निर्माण गर्ने काम भइरहेको छ ।



  • प्रकाशित मिति : कात्तिक १४, २०७७ शुक्रबार १७:८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया