चिहानघाट बन्द, २४ घण्टादेखि शव आँगनमै
प्रशासनले ताला लगाएकाे चिहानस्थलको द्वार र आँगनमा शव कुरेर बसेका परिवार जन । तस्बिर : फरकधार

कैलालीको धनगढी उपमहानगरपालिका–१ का मोहमद जमसेद बितेको २४ घण्टा भएको छ । उनको शव घरको आँगनमा राखिएको छ । शुक्रबार बिहान ५ बजे सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

दुवै मृगौला फेला भएर मृत्यु भएका मुस्लिम समुदायका ५० वर्षीय जमसेदको शव २४ घण्टादेखि परिवारले पंखा लगाएर आँगनमा राखेका छन् । मृतकको श्रीमती हदिता खातुन बेला–बेला अचेत हुन्छिन् । ‘मम्मी छिनछिनमै अचेत हुन्नुहुन्छ’ छोरा सद्दाम जमसेदले भने, ‘बुबाको शव आफ्नो धर्मअनुसार अन्त्येष्टि गर्न नपाउँदा २३ घण्टासम्म पानी पनि खान सकेको छैन् ।’ उनको घर २ सय मिटर पर रहेको चिहानघाट (कब्रिस्तान) वडा कार्यालयले बन्द गरी दिएपछि उनले शव अन्त्येष्टि गर्न नपाएका हुन् ।

‘मुस्लिम संस्कारअनुसार अन्त्येष्टि गर्नलाई चिहानघाटमै लिनुपर्ने हुन्छ । कब्रिस्तानमा तालाबन्दी गरिएको छ’, भावुक हुँदै छोरो सद्दामले भने, ‘प्रशासन पनि २४ घण्टादेखि मौन बसको छ । कसलाई भन्ने हो ।’ शवको अन्त्येष्टि नहुँदा पशुपतिटोलमा रहेको सिंगो मुस्लिम समुदाय नै शोकमा डुबेको छ । 

शवको अन्त्येष्टि गर्नका लागि जनकपुरबाट समेत १५÷२० जनाको टोली धनगढी पुगेको छ । उनीहरूलाई समेत समस्यामा परेका छन् । स्थानीय प्रशासन र जनप्रतिनिधिको अवरोधका कारण शवको अन्तिम संस्कार गर्न नपाएपछि मुस्लिम समुदायमा पीडामाथि पीडा थपिएको छ । उनीहरू शनिबार दिउँसोसम्म प्रशासनले निकास नदिएमा जबरजस्ती भए पनि अन्तिम संस्कार गर्ने तयारीमा रहेका छन् ।

पशुपति टोलस्थित नेपाली नुरी जामा मस्जिदका कार्यवाहक अध्यक्ष मोहमद यामिन भन्छन्, ‘शव व्यवस्थापनका लागि हामी शुक्रबार बिहानैदेखि जिल्ला प्रशासनसँग अनुनय विनय गर्दै आएका छौं । हामीलाई दिनभरि आश्वासन मात्रै दिइयो । आज पनि शव घरमै छ । यदि आज १२ बजेसम्म शव व्यवस्थापनको निकास आएन भने जे पनि गर्न तयार हुनेछौं ।’ त्यसको जिम्मेवारी जनप्रतिनिधि र प्रशासनले लिनुपर्ने उनको भनाइ छ ।

स्थानीय प्रशासन तथा नेपाली सेनाको टोलीले बिहीबार कोरोना संक्रमितको शव चिहानघाटमै व्यवस्थापन गरेपछि केही स्थानीयले विरोध गरेपछि धनगढी उपमहानगरपालिकाको १ नं. वडा कार्यालयले अर्को व्यवस्था नहुन्जेलसम्म भन्दै सो चिहानस्थल सिल गरेपछि अर्का मृतकका परिवार शव गाड्नबाट वञ्चित भएका हुन् ।  



आफूहरूको धार्मिक मूल्य मान्यतालाई स्थानीय निकाय र स्थानीय प्रशासनले बेवास्ता गरेको बताउँदै मुस्लिम अगुवा लासमाथि राजनीति भइरहेको भन्दै आक्रोशित भएका छन् ।



  • प्रकाशित मिति : कात्तिक १५, २०७७ शनिबार १२:८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया