यी आठ नेता, जसलाई ‌ओलीले ताने आफ्नो क्याम्पमा

पुष्पकमल दाहाल प्रचण्ड सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष हुन् । तत्कालीन नेकपा एमाले र एमाओवादी केन्द्र मिलेर बनेको नेकपा पार्टी एकताको केही समयसम्म मात्र मिलेर बस्न सक्यो । त्यसयता यसलाई कुनै न कुनै रोग अर्थात् विवादले घेर्दै आएको छ । २०७७ वैशाखयता त विवादले चुर्लुम्मै डुबाएको छ । 

नेकपाको आन्तरिक विवाद बढ्दै जाँदा केही समय नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र दाहालबीच बोलचाल समेत बन्द हुने अवस्था आएको छ ।

अध्यक्ष प्रचण्डले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरूसँग मिलेर ओलीइतर समूह निर्माण गरेका छन् । यता प्रचण्डका निकट पूर्व माओवादीका नेताहरू भने, प्रधानमन्त्री तथा अध्यक्ष ओलीको कित्तामा पुगेका छन् । गत वैशाख र असारमा भएको नेकपाको आन्तरिक विवादमा उनीहरूले खुलेर ओलीको समर्थन गरेका थिए । त्यसयता उनीहरूले प्रचण्डको साथ छाडेर ओलीलाई साथ दिँदै आएका छन् । 

असार १७ मा पूर्वमाओवादी समूहलाई एक ढिक्का राख्न सफल भएका प्रचण्डले एक महिना नपुग्दै साउन १३ मा बालुवाटारको बहुमत स्थायी कमिटी सदस्यको भेलामा त्यो पकड गुमाएको देखियो । बादलसहित टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्ट प्रचण्ड–माधव पक्षको बैठकमा उपस्थित भएनन् । भने, मिडियामा प्रचण्डको नयाँ समीकरणका विरुद्ध खुलेर विरोध गर्दै ओलीको समर्थन जनाए । 

पार्टी एकीकरण गर्दा पूर्वमाओवादीको भागमा परेका १९ मध्ये हाल १८ जना स्थायी कमिटी सदस्यहरू रहेकोमा चारजना प्रचण्डको एकल अध्यक्षताको बैठकमा सहभागी समेत भएनन् । यसले पूर्वमाओवादी पंक्तिमा प्रचण्डको पकड कमजोर भएको देखिन्छ ।

बैठकमा गएकामध्ये पनि कतिपय पछिल्लो समय प्रचण्डसँग अशन्तुष्ट छन् । पार्टी एकीकरण गर्ने बेलामा औसत ६०/४० को भागबण्डामा चित्त बुझाएका प्रचण्डको ध्येय भनेको तत्कालीन एमालेभित्र ओली र माधव नेपाल समूहको बीचमा खेलेर आफू बहुमतमा पुग्ने थियो । उनले माधव नेपाल, झलनाथ खनालसँग समीकरण पनि बनाए पनि त्यो समीकरण सफल भएको छैन ।



६० प्रतिशतको पूर्वएमालेमा ओली र माधव नेपाल लगभग बराबरको संख्यामा रहेकाले ४० प्रतिशतवाला प्रचण्ड नेकपाको त्रिपक्षीय शक्ति सन्तुलनमा एक नम्बरमा रहँदै आएका थिए । पछिल्लो समय ओली विरुद्धको गठबन्धनमा प्रचण्ड र माधव नेपालको दुई तिहाई संख्या पुगेको थियो ।

उक्त समीकरणको अँगेनोपछि खुमलटार र कोटेश्वरमा पटक–पटक प्रचण्ड र माधव नेपाल समूहका स्थायी कमिटी सदस्यहरूको भेला पनि भयो । तर, पछिल्ला भेला तथा बैठकहरूमा पूर्वमाओवादीतर्फका केही नेताहरू आउन छाडेपछि उनीहरूलाई बोलाउन समेत छुटाइयो । पूर्व माओवादी समूहका ती नेताहरूले ओली–प्रचण्डबीच भएको समझदारीभन्दा बाहिर नजान सल्लाह दिएका कारण उनीहरूलाई बोलाउन छाडिएको नेकपाका नेताहरूले बताएका थिए । 



रामबहादुर थापा ‘बादल’

रामबहादुर थापा नेकपाका सचिवालय सदस्य हुन् । उनी अहिले गृहमन्त्री समेत छन् । उनले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिँदै आएका छन् । पूर्व माओवादी समूहभित्र समेत छुट्टै समूहको अभ्यास गर्दै आएका नेता थापाले २०७६ देखी प्रचण्डको साथ छाडेर ओलीलाई साथ दिँदै आएका थिए । बादलले प्रचण्डको साथ छाडेर ओलीलाई साथ दिएपछि एमाले र माओवादी मिलेर बनेको नेकपाभित्रको शक्ति सन्तुलनले नयाँ मोड लिएको थियो ।

पूर्वमाओवादी समूहका वरिष्ठ नेता तथा गृहमन्त्री थापाले औपचारिकरुपमै प्रचण्डको साथ छाडेर ओली समूहमा समाहित भएपछि नेकपाभित्रको शक्ति सन्तुलनले नयाँ मोड लिएको हो ।

लेखराज भट्ट

लेखराज भट्ट नेकपाका स्थायी कमिटीका सदस्य हुन् । उनले खुलेर प्रचण्डको साथ छाडेर ओलीलाई साथ दिँदै आएका छन् । उद्योगमन्त्री समेत रहेका नेता भट्टले नेकपाभित्रको विवादमा दह्रोसँग प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका छन् ।

कुनै समय प्रचण्डको अति निकट मानिने नेता भट्टले प्रचण्डको साथ छाड्दा नेकपाको आन्तरिक समीकरणमा नै फेरबदल हुने स्थिति आएको थियो । ओलीको कित्तामा उभिएपछि उनी प्रचण्डले बोलाएको खुमलटारको गुटको भेला/बैठकमा समेत उपस्थित हुन छाडेका थिए ।

१० असारमा सुरु भएको नेकपा स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्डसहित बहुमत सदस्यहरूले प्रधानमन्त्री तथा अध्यक्ष ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठाएपछि नेकपा विवादले उग्र रुप लिएको थियो । त्यही बेलादेखि नेकपाका नेता लेखराज भट्टले ओलीलाई हटाउन नहुने भन्दै उनको साथमा उभिएका हुन् ।

उनले विभिन्न सञ्चारमाध्यममा खुलेरै ओलीको समर्थनमा समेत बोलेका थिए । नेता भट्टले भनेका थिए, ‘प्रधानमन्त्रीलाई हटाइयो भने मुलुकमा अस्थिरता उत्पन्न हुन्छ, त्यसैले मेरो साथ प्रधानमन्त्रीलाई छ । प्रधानमन्त्री ओलीलाई हटाइनुहुँदैन ।’ 

जनार्दन शर्मा

पूर्व गृहमन्त्री तथा नेकपाका नेता जनार्दन शर्मा प्रचण्डका निकट मानिएका नेता हुन् । तर, नेकपाको गत असारमा सुरु भएको आन्तरिक विवादमा भने नेता शर्माले अध्यक्ष प्रचण्डको पक्षमा खुलेर समर्थन गरेनन् । बरु उनले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट हटाउने आवाजविरुद्ध लागे । उनले तत्काल महाधिवेशन नहोउञ्जेलसम्मका लागि ओलीलाई हटाउन नहुने । त्यसले पार्टीलाई दुर्घटनातर्फ लैजाने अभिव्यक्ति दिए । उनी उक्त विवाद समाधान गर्नका निम्ति सक्रियरुपमा बालुवाटार र खुमलटार समेत धाएका थिए । 

हरिबोल गजुरेल

हरिबोल गजुरेल कुनै समय प्रचण्डका प्रवक्ता नै मानिन्थे । उनै नेता गजुरेल अहिले प्रचण्डको साथमा छैनन् । उनले प्रचण्डको साथ छाडेर ओलीलाई साथ दिएका छन् । गजुरेलले दिएका अभिव्यक्ति प्रचण्डको भनेर मानिन्थ्यो । तर, अहिले त्यो अवस्थाबाट पछाडि हटेर नेता गजुरेल ओलीको कित्तामा उभिएका छन् । अहिले उनले प्रधानमन्त्री ओलीको बोलीमा लोली मिलाउने गरेका छन् । 

केही समययता नेता गजुरेल प्रचण्ड निवास खुमलटार जान छाडेका छन् । उनी खुमलटारका रणनीतिक बैठकहरूमा छुट्ने गरेका छन् ।

टोपबहादुर रायमाझी

नेकपाका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पनि प्रचण्डको साथ छाडेका छन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता रायमाझीले नेकपाको पछिल्लो विवादका सन्दर्भमा खुलेर प्रधानमन्त्री ओलीलाई समर्थन गर्दै प्रचण्डको साथ छाडेका थिए ।

उनले प्रधानमन्त्री ओलीसँग निरन्तर संवाद र सम्पर्कमा रहेको समेत बताइएको छ । स्थायी कमिटीको बैठकमा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने आवाज अध्यक्ष प्रचण्ड स्वयंले उठाएपछि ओलीलाई अहिले हटाउन नहुने भन्दै नेता रायमाझीले ओलीको पक्षमा खुलेरै सञ्चारमाध्यमहरूमा अभिव्यक्ति दिएका थिए भने, प्रचण्डले बोलाएको खुलटारको बैठकमा सहभागी हुन छाडेका थिए । 

मणि थापा

नेकपाका नेता मणि थापाले पनि प्रचण्डको साथ छाडेका छन् । गत साउन १३ गते ओलीइतर समूहका नेताहरूको सहभागितामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उनी सहभागी भएनन् । 

नेकपाको आन्तरिक विवाद बढ्दै जाँदा प्रचण्डका निकट भनिएका स्थायी कमिटी सदस्यहरूले भटाभट प्रधानमन्त्री ओलीलाई साथ दिएका थिए । नेता थापाले पनि प्रधानमन्त्री ओलीलाई अहिले हटाउने कुरामा असहमति जनाउँदै महाधिवेशनसम्म जो जहाँ छ त्यही रहेर जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका थिए । उनले खुलेरै सञ्चारमाध्यममा ती कुराहरू समेत बोल्दै आएका छन् । 

यसैगरी पूर्व माओवादी समूहका नेताहरू देवेन्द्र पौडेल, प्रभु साह, चक्रपाणि खनालले पनि प्रचण्डको साथ छाडेर प्रधानमन्त्री ओलीलाई साथ दिँदै आएका छन् । 

माधव नेपाल समूहका नेताहरू पनि ओलीको साथमा

यस्तै वरिष्ठ नेता माधवकुमार नेपाल समूहका दुई नेताले पनि प्रधानमन्त्री ओलीलाई साथ दिँदै आएका छन् । पर्यटनमन्त्री योगेश भट्टराई र कृषिमन्त्री घनश्याम भुषालले ओलीलाई साथ दिँदै आएका छन् । उनीहरू प्रचण्ड र नेपाल समूहको गुटको भेलामा पनि सहभागी हुने गरेका छैनन्, भइहाले पनि ओलीका विरुद्धमा बोल्दैनन् ।

  • प्रकाशित मिति : कात्तिक १५, २०७७ शनिबार १६:२१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया