कोरोना महामारीमा प्रदेश सभामुखलाई २५ किलोको माला
बझाङको सुर्मा गाउँपालिकामा सभामुखलाई स्थानीयहरू २५ किलोको माला पर्‍याउँदैँ । तस्बिर : कविन्द्र रोकायाको फेसबुकबाट ।

कोरोना संक्रमणका कारण करिब ८ महिनादेखि जनजीवन प्रभावित छ । शिक्षा क्षेत्र अस्तव्यस्त छ । विद्यालयहरू बन्द छन् । विभिन्न कक्षामा लिइने वार्षिक परीक्षा प्रभावित भएका छन् ।

धेरै बेरोजगार बनेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म ८७६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् । नेपालमा १ लाख ६० हजार कोरोना संक्रमितको संख्या पुगिसकेको छ । तर, सरकारका विभिन्न पदमा रहेर काम गर्ने नेताहरू कोरोना संक्रमणप्रति गम्भीर भएको पाइँदैन । सरकारले कोरोना संक्रमण रोक्न तथा व्यवस्थापन गर्न करोडौँ रुपैयाँ खर्च गरिसकेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले पनि लाखौँ रुपैयाँ कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापनका नाममा खर्च गरेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणबाट बच्न पालना गर्नुपर्ने स्वास्थ्य मापदण्डप्रति नेताहरू गम्भीर भएको देखिँदैन ।

सरकारले नै भिडभाड हुने गतिविधिमा रोक लगाएको छ । त्यसमा सम्बन्धित जिल्ला प्रशासनले आफू अनुकुलका मापदण्ड पनि तयार पारेका छन् । 

पछिल्लो समयमा राज्य सञ्चालन गर्ने मन्त्री, सभामुख, राजनेता नै अनावश्यक भिड गर्ने केन्द्रित भएको पाइन्छ । त्यस्तै दृश्य देखियो शनिबार बझाङको सुर्मा गाउँपालिकामा ।

सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापालाई स्वागत गर्ने नाममा स्थानीयहरूले नै २५ किलोको माला पहिर्या‍उन भिड जम्मा गरे । कार्यक्रमका सहभागीले न त माक्स प्रयोग गरेका थिए, न कुनै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरे । सभामुख थापाका प्रमुख स्वकीय सचिव कविन्द्र रोकायका अनुसार स्थानीयहरूले स्वागत गरेका हुन् । सभामुखको गृह जिल्लासमेत रहेको बझाङमा विभिन्न योजनाको अनुगमन गर्न सभामुख थापा पुगेका हुन् ।



सुदूरपश्चिमका विभिन्न जिल्लामा नेताहरू पार्टी प्रवेश कार्यक्रममा केन्द्रित भएका छन् । आफैं स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरौँ भन्ने आफैं उल्लंघन गर्नमा नेताहरू अगाडि बढेको देखिएको छ । बिहीबार मात्र संघीय सकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पनि कैलालीमा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेका थिए ।

केही दिन अगाडि गृह जिल्लामा विभिन्न कार्यक्रममा सहभागी भएर आएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । उनी पनि बाजुरामा विभिन्न पार्टीका कार्यकर्तालाई पार्टी प्रवेश गराउनमा व्यस्त रहेका थिए ।



  • प्रकाशित मिति : कात्तिक १५, २०७७ शनिबार १७:३७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया